Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अनिद्राको कारण र समाधान

अनिद्राको कारण र समाधान

आधुनिक जीवनशैलीको कारण बढिरहेको समस्यामध्ये अनिद्रा पनि बढ्दो क्रममा छ। हिजो आज धेरैलाई हुने समस्या हो अनिद्रा जुन नाडी संस्थानसँग सम्बन्धित छ। स्वस्थ्य शरीरको निम्ति कम्तीमा ७–८ घण्टा राम्रो निद्रा आवश्यक हुन्छ। यदि विभिन्न कारणले पर्याप्त निद्रा पुगेन भने अनेकौँ समस्या उत्पन्न हुन्छन्। स्वस्थ जीवनयापनको निम्ति आहार विहार र र निद्राको सन्तुलन आवश्यक छ। स्वस्थ आहार, विहार र पर्याप्त आराम स्वस्थ जीवनको पर्याय नै हुन्।

दिनको समय दैनिक व्यवसायाय कर्मको लागि र रातको समय भनेको शरीरलाई आराम गर्नको लागि हो। यदि रातको समयमा निदाउन नसक्नु बिचमा बिउँझिनु अथवा पूरा निद्रा नपर्नु समग्र अनिद्रा भएको बुझिन्छ। अनिद्रा मानसिक समस्या हो तर कहिलेकाहीँ शारीरिक कारणले पनि हुन सक्छ। अनिद्रा अनेकौँ रोगको लक्षणको रूपमा प्रकट हुन्छ। अथवा यदि समयमा नै ख्याल नगरेमा दीर्घ समस्या बन्छ।

कारण

शारीरिक एवं मानसिक तनाव तथा पीडा हुनु

डर चिन्ता रिसराग आदिले ग्रस्त हुनु

कब्जियत अपच जस्ता पेटको समस्या हुनु

सुत्ने समय नमिल्नु

सुत्ने वातावरण प्रतिकुल हुनु

नयाँ ठाउँमा सुत्नु

मल मूत्रादि वेग धारण गर्नु

सुत्ने कोठामा प्रकाश र शुद्ध वायुको प्रबन्ध नहुनु

चिया कफी मदिरा सेवन र धूमपान ज्यादा गर्नु

सुत्नु अघि ज्यादा तथा भारी भोजन गर्नु आदि

लक्षण

आवश्यकताभन्दा कम निद्रा लाग्नु

हाइ आउनु, टाउको दुख्नु

आलस्य हुनु, झर्को लाग्नु

राति धेरै पटक बिउँझिनु

कार्यक्षमता घट्दै जानु

भोक कम लाग्नु

रक्तसचारमा शिथिलता र रक्तचापको समस्या हुनु

एकाग्रता र स्मरण शक्ति कम हुनु

दिनमा थकान लाग्नु, बेचैनी हुनु आदि

के खाने ? (पथ्य)

सादा ताजा सुपाच्य पौष्टिक आहार सेवन गर्ने

भिटामिन बी सी डी क्याल्सियम, म्याग्नेसियम, पोटासियम र जिंक तत्त्वयुक्त आहार सेवन गर्ने

माछा मासु अण्डा दूध, दही, बदाम र हरिया तरकारी आवश्यकता अनुसार भोजनमा समावेश गर्ने

चोकरसहितको आँटा रोटी खानामा समावेश गर्ने

के नखाने (अपथ्य)

बासी, भारी (मसालादार चिल्लो आदि) सेवन नगर्ने

प्रोटिनयुक्त भोजन चिया कफी मदिरा नशालु पदार्थ सेवन नगर्ने

क्षमताभन्दा ज्यादा बिना भोक र पहिले खाएको नपची पुनः भोजन नगर्ने।

बच्ने उपाय

मानसिक तनाव र चिन्ताको विषय पता लगाई प्राकृतिक व्यवस्थापनमा लाग्नुपर्छ।

आहार–विहार व्यायामको सन्तुलन कायम गर्ने

ज्यादा भोजन वा खालि पेट नबस्ने

घरेलु प्रेम सम्बन्धमा सुधार

पर्याप्त आराम गर्ने र समयमा सुत्ने बानी गर्ने

बेलुकी समयमा भारी खाने कुरा र मद्यपान धूमपान कफी सेवन आदि नगर्ने

रात्रि भोजन र सुत्ने समयमा कम्तीमा दुई घण्टाको अन्तर राख्ने

सुत्नका लागि ९.०० देखि १०.३० को समय उत्तम मानिन्छ। यस पश्चात सेरोटोनिन नामक निद्राजन्य हर्मोनको मात्रा कम हुँदै जान्छ र निद्रा लाग्दैन।

आयुर्वेदअनुसार १० बजे पश्चात् पित्तकाल शुरु हुँदा पनि निद्रामा समस्या आउँछ।

घरेलु उपचार

सुत्ने समयमा २ ग्राम जाइफलको चूर्ण दूधसँग खाएर सुत्ने

हरियो धनियाँ पिसेर मह मिलाइ सर्बत बिहान साँझ पिउने

पिपलामूल ५ ग्राम गुड १५ ग्राम मिलाएर बिहान साँझ मनतातो पानी सँग खाने

१ चम्चा अमला चूर्ण १० वटा मुनक्का र आधा चम्चा शङ्खपुष्पी चूर्ण मिलाइ पिस्ने र मनतातो पानी सँग सेवन गर्ने

मनतातो पानीले सुत्नुअघि शिर बाहेक स्नान गरेर सुत्ने

राति सुत्नुअघि १ गिलास तातो दूधमा १ चम्चा गाईको घिउ मिसाएर पिउने

राति सुत्नुभन्दा आधा घण्टाअघि १ गिलास दुधमा आधा चम्चा बेसार मिलाई पिउनाले निद्रा लगायत धेरै समस्यामा लाभ पुग्छ।

सुत्नुअघि सयनकक्षका सम्पूर्ण प्रकाशको स्रोतहरू र विद्युतीय उपकरणहरू मोबाइल टीभी रेडियो आदि बन्द गर्ने।

शयन बिस्ताराको स्थानमा विशेष ध्यान दिने। उतर दक्षिण कोणमा चुम्बकीय प्रभावले रहेकाले उक्त कदापि सुत्नु हुँदैन।

सदैव बाँयापटि फर्केर सुत्नु राम्रो मानिन्छ। जसले गर्दा श्वासनली सिधा रहन्छ र शरीरमा प्राणवायुको सञ्चार राम्रोसँग हुन्छ।

सुत्नेबेलामा सिरानीको प्रयोग गर्नुपर्दछ र टाउकाको उचाई शरीरभन्दा अग्लो हुनुपर्छ।

आयर्वेद उपचार

लामो समयसम्म अनिद्रालाई व्यवस्थापन गरिएन भने यसले शारीरिक एवं मानसिक समस्या उत्पन्न गराई दीर्घ रोग निम्त्याउँछ। मानसिक रूपमा डिप्रेसन, डर, त्रास र बेचैनी उत्पन्न गर्दछ। त्यस्तै अनिद्राले रोग लाग्ने सम्भावना बढ्ने गर्दछ। भोजन र जीवनशैली सुधार गर्दै आयुर्वेदिक तरिकाको उपचार फाइदाजनक मानिन्छ।

आयुर्वेद अनुसार अनिद्राको लागि तर्पक कफ, साधक, पित्त र प्राणवायु सम्बन्धित छन्। र यो नाडीवह संस्थानसम्बन्धी समस्या हो। त्यसैले अनिद्रा हुनुमा वात पित र कफ विकृतिको भिन्न लक्षणहरु प्रकट हुन्छन्। पूर्ण परीक्षण परामर्श अथवा उपचारकोलागि समयमा नै नजिकको आयुर्वेद केन्द्र तथा आयुर्वेद विज्ञसँग सम्पर्क राख्नुपर्छ।

पञ्चकर्म उपचार अन्तर्गत उपयोगी उपचारहरूमा मुख्य कर्म नस्य र बाह्य उपचारमा शिरोअभ्यङ्ग, अभ्यङ्ग, पादाभ्यङ्ग र शिरोधारा आदि लाभकारी हुन्छ।

प्रमुख औषधीहरू

तपस्विनी वटि सारस्वतारिष्ट ब्राम्ही चूर्ण ब्राम्ही वटि

उपयोगी जडिबुटी

ब्राम्ही घोडेताप्रे जेठीमधु जटामसि भृङराज अश्वगन्धा शंखपुष्पी आदि

योगाभ्यास

मानसिक तथा नाडीवह संस्थान सम्भ्बन्धित सम्पूर्ण रोगहरूमा योग ध्यान मन्त्र साधाना व्यायाम आदिले अत्यन्त लाभ पुर्याँउछ। नियमित रूपमा बिहान अथवा बेलुका योगाभ्यास गर्नाले तनाव, रिस र डिप्रेसन आदिलाई सन्तुलनमा राखी निद्रामा सुधार गर्दछ।

आसन

पर्वतासन, पादहस्तानसन, शीर्षासन, शशकासन, अर्धमत्स्येन्द्रासन, बज्रासन, धनुरासन, हलासन, मकरासन, प्राणायाम, भ्रामरी, उज्जयी, अनुलोम, विलोम।

ध्यान

मन्त्र साधना र ओमकार साधना

उपवास

व्रत तथा उपवास अनिद्रा लगायत अनेकौँ समस्याको लाभकारी हुन्छ। हप्तामा एक दिन अथवा महिनामा दुई पटक फलफूल सुप र पानी सेवन गर्न सकिन्छ।

डा‍. राममणि भण्डारी,आयुर्वेद चिकित्सक
हाल युरोपमा 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।