Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल

वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल

हेल्थ टिभी अनलाइन : वातावरण विभागले केही दिनयता डढेलो तथा आगजनीका घटना बढेसँगै वायु प्रदूषण पनि बढेको र त्यसले जन स्वास्थ्यमा असर पारेकाले त्यसबाट जोगिन अपिल गरेको छ । विभागले एक विज्ञप्ति जारी गर्दै यो बेला विशेष सावधानी अपनाउन भनेको हो ।

वायु प्रदूषणका कारण आँखा पोल्ने, नाक चिलाउने, घाँटी खसखसाउने, खोकी लाग्ने समस्या तुरुन्त देखिने र दीर्घकालीन रूपमा श्वास प्रश्वास, मुटु, गर्भावस्थामा जटिलतालगायतका विभिन्न स्वास्थ्य समस्या हुने भन्दै विभागले सबैलाई सजग रहन आग्रह गरेको छ । विशेष गरी वृद्धवृद्धा, बालबालिका, श्वासप्रश्वास, मुटु रोगी, दीर्घरोगी, साथै गर्भावस्थाका महिला बढी प्रभावित हुने भएकोले यस्तो बेला विशेष सावधानी अपनाउन विभागले सबैमा अपिल गरेको हो ।

नेपालमा फागुन, चैत, वैशाख र जेठ महिनामा वायु प्रदूषण बढ्ने गरेको वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रबाट प्राप्त तथ्याङ्कले देखाएको छ । यस अवधिमा विशेष गरी बढ्दो तापमान, सुक्खा मौसमजस्ता प्राकृतिक कारणबाट हुने डढेलो, मानवीय कारणजस्तै फोहर तथा कृषि अवशेष जलाउँदा तथा उद्योग कलकारखाना, सवारी साधन, भौतिक निर्माण आदिबाट निस्कने प्रदूषित धुवाँ धुलोबाट वायु प्रदूषण हुने गरेको पाइएको छ । हाल देशका अधिकांश भूभागमा डढेलो तथा आगलागीका घटना बढिरहेको तथा डढेलोको कारणले जनधनको क्षतिका विवरण प्राप्त भइरहेका विभागले जनाएको छ ।

सन् २०२४ को सुरुआतदेखि हालसम्म एक हजार ६५३ डढेलो तथा आगलागीका घटना भएको पनि विभागले जनाएको छ ।  विज्ञप्तिमा प्रदूषण बढी भएका स्थानमा घर बाहिर निस्कँदा सबै नागरिकले अनिवार्य रूपमा मास्कको प्रयोग गर्न अनुरोध गरिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार