Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पूर्ण स्तनपान : आमा–बच्चा दुवैकाे अधिकार

पूर्ण स्तनपान : आमा–बच्चा दुवैकाे अधिकार

गर्भ रहेदेखि अत्यधिक पीडा एवं वेदना सहेर जब महिलाले शिशुलाई जन्म दिन्छिन्, सबैभन्दा पहिलो कर्म हो स्तनपान। स्तनपान अर्थात् आमा र शिशुलाई जोड्ने सेतु। दुईबीचको प्रगाढ सम्बन्धको सूचक।

तर दुर्भाग्य आधुनिक समाजमा यसको प्रयोग कम हुँदै गएको अवस्था छ। विधि, महत्त्व, यसबाट हुने फाइदाबारे जानकारी नभएर वा हुँदाहुँदै पनि आमा कामकाजी भएका कारण वा सुन्दरता बिग्रिने भ्रमले गर्दा शिशुहरू स्तनपानको अधिकारबाट वञ्चित भइरहेका छन्।

शिशुलाई आमाकै दूध किन?

स्तनपान भन्नाले शिशुको आवश्यकता अनुसार (महिना पुगी जन्मेको शिशु होस् वा महिना नपुगीे) आमाको स्तनमा तयारी भएको दूधलाई स्तनको माध्यमबाट प्रदान गर्नु हो। यसले शिशुको उचित शारीरिक, मानसिक र संवेगात्मक विकास गराउँछ भने आमाको स्वास्थ्यका लागि पनि फाइदाजनक छ। यसका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मुख्य रूपमा दुई कुरामा जोड दिएको छ–

जन्मेको एकघण्टा भित्र आमाको छातीमा टाँसेर स्तनपानको शुरूवात गराउनु।

पूर्ण स्तनपान गराउनु।

आमाको न्यानो काख, पूर्ण स्तनपान र सुरक्षाको अनुभूति नवजात शिशुको आवश्यकता र अधिकार हो। यी तीनवटै कुरालाई स्तनपानले पूर्णता दिन्छ। विश्व स्वास्थ संगठनका अनुसार पूर्ण स्तनपान (एक्स्क्लुसिभ ब्रेस्ट फिडिङ) भन्नाले बच्चा जन्मेको एक घण्टाभित्र शुरू गरी ६ महिनासम्म पानी पनि नखुवाई आमाको दूध मात्र दिनु हो। ६ महिनापछि थप आहार सहित दुई वर्षसम्म स्तनपान गराउनु पनि यसअन्तर्गत पर्छ।

विश्वमा सात करोड ८० लाख अर्थात् ५ शिशुमध्ये तीन शिशुले जन्मेको एक घण्टाभित्र स्तनपान गर्न पाएका हुँदैनन्। यसका कारण बालबालिका झाडापखाला र निमोनिया जस्ता रोगबाट पीडित हुने गरेका छन्। यसले शिशु मृत्युदरमा समेत बढाएको छ। विशेषगरी कम आम्दानी भएका र विकासोन्मुख देशमा यो समस्या विकराल रूपमा छ।

जन्मिनेवित्तिकै शिशुलाई छातीमा टाँसेर स्तनपान शुरू गराउँदा आमाको दूधको मात्रा बढ्छ। शिशु जन्मेको पहिलो ७२ घण्टासम्म आउने दूधलाई विगौती दूध (कोलोस्ट्रम) भनिन्छ, जसको सेवन शिशुका लागि पहिलो खोपसमान हुन्छ। यसले रोगसँग लड्ने शिशुको क्षमता बढाउनुका साथै स्वास्थ्यको समेत रक्षा गर्छ।

पूर्ण स्तनपान आमाको रुचि र इच्छाले मात्र व्यावहारिक रूपमा ल्याउन कठिन छ। यो परिवारको सहयोग र सद्भावबाट मात्र सम्भव छ। शिशुलाई पूर्ण स्तनपानका लागि प्रेरित गर्न श्रीमानको ठूलो भूमिका हुन्छ।

ध्यान दिनुपर्ने कुरा

धेरै आमाहरू स्तनपान गराउने उचित तरिकाबारे अनभिज्ञ छन्। यसका लागि स्तनपान गराउँदा दूधका मुण्टालाई मात्र नभई पूरा कालो भागलाई शिशुको मुखभित्र राख्नुपर्छ। यसो गर्दा शिशुलाई दूध चुस्न सजिलो हुन्छ। स्तनपान गराउँदा पहिले आउने दूधलाई ‘प्रि मिल्क’ भनिन्छ जसमा पानीको मात्रा बढी हुन्छ। पछि आउने दूधलाई ‘हाइन्ड मिल्क’ भनिन्छ जसमा भरपुर पौष्टिक तत्त्वहरू हुन्छन्।

आमाले शिशुलाई स्तनपान गराउँदा एउटै दूध पूर्ण रूपमा खुवाउनुपर्छ। शिशुको चाहना र माग अनुसार दिन वा रातमा स्तनपान गराउनु पर्छ। ६ महिनासम्म शिशुलाई जन्मघुटी, पानी अथवा अरू कुनै औषधि आवश्यक पर्दैन। आमाको दूध नै पर्याप्त हुन्छ।

स्तनपान आमाको रुचि र इच्छाले मात्र व्यावहारिक रूपमा ल्याउन कठिन छ। परिवारको सहयोग र सद्भावबाट मात्र यो सम्भव छ। शिशुलाई पूर्ण स्तनपानका लागि श्रीमानकाे प्रोत्साहनले ठूलो भूमिका खेल्छ।

आमालाई हुने फाइदा

शिशुलाई पूर्ण रूपमा स्तनपान गराउनाले महिलामा हुने स्तन तथा अण्डाशय क्यान्सरको सम्भावना घटाउँछ। विश्व स्वास्थ संगठनका अनुसार स्तनपानले प्रत्येक वर्ष २० हजार महिलालाई स्तन क्यान्सर हुनबाट जोगाउँछ। स्पेनमा गरिएको एउटा अध्ययनले शल्यक्रियाबाट सुत्केरी गराइएका र दुई महिनासम्म निरन्तर स्तनपान गराएका आमाहरूमा घाउको दुखाइ र पीडा कम भएको अनुभुति हुन्छ।

यसले के कुरालाई इंगित गर्छ भने शल्यक्रियामार्फत आमा बनेकाहरूले पनि शिशु जन्मिएको एक घण्टाभित्र स्तनपान गराउनुपर्ने रहेछ। बुझ्नुपर्ने एउटा कुरा के भने शल्यक्रियाले आमाको दूधको मात्रामा कुनै कमी आउँदैन। बरु शिशुको चुसाइले दूधको मात्रालाई बढाउँछ।

पूर्ण स्तनपानले आमाको औसत आयु बढाउन पनि मद्दत गर्छ। चार महिना लगातार पूर्ण स्तनपान गराउने महिलामा २०-३० प्रतिशतले उच्च रक्तचाप र मुटुरोगको सम्भावना कम हुन्छ। पूर्ण स्तनपान गर्ने महिलामा मोटोपन कम हुने अध्ययनले देखाएको छ। मोटोपन नहुने भएपछि चिनीरोग र मुटुरोग जस्ता रोग लाग्ने सम्भावना निकै कम हुन्छ। स्तनपानले सुत्केरी अवस्थामा लाग्ने डिप्रेसनको सम्भावनालाई पनि घटाउँछ।

पूर्ण स्तनपान कसरी?

पूर्ण स्तनपानले बाल मृत्युदर घट्नुका साथै बालबालिकाको बाैद्धिक, सामाजिक, मनोवैज्ञानिक र संवेगात्मक विकासमा पनि ठूलो सहयोग गर्छ।

कामकाजी महिला वा विशेष परिस्थिति भएका शिशु (जस्तै एनआईसीयूमा भर्ना भएका वा चुसेर खान नसक्ने) का लागि आमाको दूध दुहेर जम्मा गरिएको दूधलाई कप वा गिलासको माध्यमबाट खुवाउन सकिन्छ। गर्भावस्थाको ३७ हप्तादेखि वा शिशु जन्मिनेवित्तिकै आउन शुरू हुने दूध नै विगौती दूध हो। यसको एक थोपाले पनि पूर्ण पोषणका साथै रोगसँग लड्ने क्षमता प्रदान गर्छ। विकसित राष्ट्रमा यसलाई पाउडरमा परिणत गरी सुरक्षित राखेर औषधिको रूपमा पनि प्रयोग गरिन्छ।

दुहेर जम्मा गरी दूध खुवाउने प्रक्रिया अलि गाह्रो भएका कारण आमालाई पीडा हुनसक्छ। यसकारण यो प्रक्रियाका लागि श्रीमान् र परिवारको पूर्ण सहयोगको आवश्यकता पर्छ। शिशुले स्तनपान गरेजस्तै गरेर आवश्यकता अनुसार २\२ घण्टामा दुहेर यसलाई भण्डारण पनि गर्न सकिन्छ। कोठामै भण्डारण गरेको दूध ४\६ घण्टासम्म शिशुलाई खुवाउन सकिन्छ भने फ्रिजमा राखेमा २४ घण्टासम्म खुवाउन सकिन्छ।

‘डीप फ्रिज’ गरेमा तीन महिनासम्म खुवाउन सकिन्छ। यसरी शिशुलाई दूध खुवाउँदा मनतातो पानीमा दूधको भाँडा डुबाएर बच्चाको आवश्यकता अनुसार खुवाउन सकिन्छ। एकपटक मनतातो पारेको दूध फेरि तताएर खुवाउन भने मिल्दैन। यसरी आमाको दूध शिशुलाई दिँदा यसले आर्थिक भार कम गर्नुका साथै पूर्ण स्तनपान हुनुका साथै रोगसँग लड्ने क्षमता बढाउँदै बाल मृत्युदर घटाउँछ।

कसरी सम्भव?

पूर्ण स्तनपानलाई व्यावहारिक रूपमै सफल बनाउन विभिन्न मुलुकमा तलबी सुत्केरी बिदालाई बढाउनुपर्ने विचार पनि अघि सारिएको छ। बुबालाई जिम्मेवारी बाँड्न र शिशुको स्याहारमा बराबर सहयोग पुर्याउन सुत्केरी स्याहार बिदा दिनुपर्ने कुरालाई विशेष जोड दिइएको छ। आफ्ना कार्यक्षेत्रमा परिवारमैत्री र बालमैत्री वातावरण निर्माण गरी शिशुको स्तनपान गर्न पाउनुपर्ने र आमाले स्तनपान गराउन पाउने अधिकारलाई सुनिश्चितता प्रदान गर्न स्तनपान ‘ब्रेक’ र ‘मिल्क एक्सप्रेस’ गर्ने र सफा एवं सुरक्षित रूपले जम्मा गर्ने वातावरण निर्माण गर्नुपर्ने विषय उठाइँदै आएको छ।

स्तनपान सप्ताहकाे सार्थकता

विश्वव्यापी रूपमा हरेक वर्ष अगस्ट १–७ स्तनपानसम्बन्धी जनचेतना जगाउने कार्यक्रम गरी स्तनपान सप्ताह  मनाइन्छ। यस्ता कार्यक्रमले आमा र बच्चाको स्वास्थ्य तन्दुरुस्त राख्नुका साथै आमा र शिशुको मृत्युदर घटाउन समाजमा सचेतना जगाउन मद्दत गर्छ।

स्तनपान साह्रै सजिलो प्रभावकारी र प्राकृतिक गुणकारी औषधीको रूपमा लिइन्छ। स्तनपान सप्ताहको मुख्य विषय ‘इम्पावर प्यारेन्ट्स, इनेबल ब्रेस्ट फिडिङ’लाई लाई व्यवहारमा उतार्न स्वास्थ्यकर्मी, शिक्षक र विद्यार्थी मात्र नभई सम्पूर्ण नागरिकले आफ्ना परिवारलाई चेतनशील बनाउँदै ‘स्वस्थ शिशु, स्वस्थ परिवार र स्वस्थ घर’को परिकल्पना गरौँ।

  • सृजना भाेमी

    भाेमी त्रिवि शिक्षण अस्पतालमा नर्सिङ अफिसर छिन्।