Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘बिरामीलाई औषधिको मात्रा मात्र मिलाएर पुग्दैन, खानेकुराको पनि मात्रा मिलाउनुपर्छ’

‘बिरामीलाई औषधिको मात्रा मात्र मिलाएर पुग्दैन, खानेकुराको पनि मात्रा मिलाउनुपर्छ’

हाम्रो स्वास्थ्य हामीले खाने खाना र दैनिक रूपमा अपनाउने जीवनशैलीमा निर्भर हुन्छ। स्वस्थकर खानाले धेरै रोग लाग्नबाट बचाउँछ भने रोग छिटो निको हुन मद्दत गर्छ। तर जब यही खानाको मात्रा मिल्दैन वा खाने तरिका जानिँदैन तब विभिन्न समस्या देखिन थाल्छन्।

बिरामीलाई उनीहररूका आवश्यकताअनुसार खानाको मात्राबारे परामर्श दिने एवं खानाको योजना बनाउने व्यक्ति, जो अस्पतालमा कार्यरत हुन्छन्, उनीहरूलाई नै ‘डाइटिसियन’ भनिन्छ।

डाइटिसियनको काम के हो?

अस्पतालमा आउने बिरामीलाई उनीहरूको शारीरिक अवस्थाअनुसार सन्तुलित आहारको चार्ट बनाउने एवं परामर्श दिने काम डाइटिसियनले गर्छन्। कुनै पनि रोग निको हुन बिरामीले खाएको खानाले महत्त्वपूर्ण काम गर्छ। त्यसैले बिरामीको आवश्यकताअनुसार सबै जाँच गरी त्यहीअनुसार खानाको मात्रा मिलाउने काम डाइटिसियनले गर्छन्।

कतिपय रोगमा बिरामीले औषधि र खानाको मात्रा मिलाउन नजान्दा लामो समयसम्म पनि रोग निको हुँदैन। त्यसैले हामी डाइटिसियनले उनीहरूलाई रुचि हुने र शरीरलाई पनि आवश्यक परेको खाना कसरी समावेश गर्ने भन्ने बुझेर काम गर्छौँ।

शुरुमा बिरामीको पोषणस्तर कस्तो छ, भन्ने बुझ्न जरुरी हुन्छ। कुन खानेकुराको कमी छ भन्ने पत्ता लगाइन्छ। बिरामीलाई औषधिको मात्रा मात्र मिलाएर पुग्दैन, खानेकुराको पनि मात्रा मिलाउनुपर्छ। शल्यक्रिया गरेका बिरामीमध्ये कतिपयले ठोस खानेकुरा खान सक्दैनन्। उनीहरूलाई झोलिलो खानेकुरा के दिने, कसरी दिने भन्ने पनि डाइटिसियनले निर्धारण गर्छन्।

बालबालिका, युवा, गर्भवती, सुत्केरी र वृद्धसम्म सबैलाई सही तरिकाले उपचार गर्न र रोग समयमै निको हुनका लागि हरेक अस्पतालमा डाइटिसियनको मद्दत चाहिन्छ। बिरामीको पोषणको अवस्था ठिक नभएमा जस्तोसुकै उपचार गरे पनि निको हुन सक्दैन वा लामो समय लाग्छ।

डाक्टरले जाँच गरेर औषधि लेख्छन् तर खानाको मात्रा मिलाउने कसरी खाने भनेर परामर्श दिने काम भने डाइटिसियनको हो।

डाइटिसियनले कुन बिरामीले कुन औषधि खाइरहेको छ त्यसको ‘साइड इफेक्ट’ के छ वा खानासँग औषधिको केही असर छ कि सबै हेर्छन् र त्यहीअनुसार खान सल्लाह दिन्छन्।

बिरामीको पोषण अवस्था राम्रो भयो भने उसको रोग पनि छिटो निको हुन्छ भन्ने सबैले बुझ्न जरुरी हुन्छ। पोषण अवस्था ठिक नभएको अवस्थामा औषधिले पनि राम्ररी काम गर्दैन।

डाइटिसियनले बिरामीलाई समय दिएर के खाने कति खाने कसरी खाने सबै परामर्श दिने गर्छन्। यसले गर्दा बिरामीलाई सजिलो हुन्छ।

पछिल्लो समयमा हाम्रो जीवनशैलीसँगै घरघरमा नसर्ने रोग बढेको छ। उच्च रक्तचाप मधुमेह, मुटुरोग मिर्गौलारोग क्यान्सर जस्ता नसर्ने रोगहरू अहिले नेपालको मात्र होइन विश्वकै टाउको दुखाइ बनेको छ। यी सबैको कुनै न कुनै रूपमा सम्बन्ध खानपान र जीवनशैलीसँग छ। यिनीहरूको निदानका लागि खानपान र जीवनशैलीमा सुधार ल्याउनैपर्छ।

नेपालमा ५० बेडमा एकजना हुनुपर्ने नियम भए पनि यस अनुसार डाइटिसियन छैनन्। बढ्दै गएको नसर्ने रोगका बिरामीको चापअनुसार हरेक अस्पतालमा डाइटिसियनको आवश्यकता छ। नेपालमा केही अस्पतालले डाइटिसियन राखे पनि बिरामीको चाप र अस्पतालको अन्य जनशक्तिको तुलनामा भने निकै कम मात्र छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार