Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

यसरी गरिन्छ कलेजो प्रत्यारोपण

यसरी गरिन्छ कलेजो प्रत्यारोपण

सामान्यतया कलेजो प्रत्यारोपण भनेको बिरामीको काम नलाग्ने कलेजो झिकेर त्यसको ठाउँमा मस्तिष्क मृत दाता अथवा जीवित नातेदार दाताबाट प्राप्त कलेजो राखिन्छ। यसको एउटै उद्देश्य भनेको बिरामीको जीवनको गुणस्तर उकास्ने र स्वास्थ्यस्थिति सही ठाउँमा ल्याएर जीवन स्वस्थ बनाउने हो।

आजकल बढ्दो शल्य र एनेस्थेसिया प्रविधि साथै चुस्त सघन उपचार कक्ष र समयसापेक्ष रेडियोलोजी, प्याथोलोजी, हेपाटोलोजी, नर्सिङ तथा प्रशासनिक सेवाले गर्दा कलेजो प्रत्यारोपित बिरामीको एक वर्षे आयु सम्भाव्यता करिब ९० प्रतिशत र पाँचवर्षे आयु सम्भाव्यता करिब ७५ प्रतिशत छ।

कलेजो शरीरको सबैभन्दा ठूलो र जटिल कार्य गर्ने अङ्ग हो। शरीरका धेरै अरु अङ्गबिना मानिस बाँच्न सके पनि कलेजोबिनाको जीवन असम्भव हुन्छ। मृगौला खराब हुँदा जस्तै कलेजो खराब हुँदा ‘डाइलाइसिस’ गर्ने प्रविधि हुँदैन, यद्यपि विज्ञानको विकाससँगै यो पद्धतिको खोजी र शोध हुँदैछ।

कलेजोका केही महत्त्वपूर्ण काम

यसले आन्द्राबाट शरीरमा प्राप्त हुने खानेकुरा (पोषण) लाई प्रशोधन गरेर शरीरका अरु भागमा प्रयोग गर्न मिल्नेगरी बनाउँछ।

पित्त उत्पादन गरेर शरीरलाई चाहिने आवश्यक बोसो तथा भिटामिन प्रशोधन गर्न सघाउँछ।

शरीरमा रक्तश्राव हुँदा त्यसलाई रोक्न चाहिने तत्त्व (क्लाटिंग फ्याक्टर) बनाउँछ।

शरीरलाई हानिकारक हुने तत्वहरुलाई निष्क्रिय पार्छ।

शरीरमा भएका ब्याक्टेरिया लगायत किटाणुहरूलाई निष्क्रिय पार्छ।

शरीरलाई नभई नहुने भिटामिन लगायतका रसायनहरुलाई प्रशोधन गर्छ।

कलेजोको रोग कसरी पत्ता लाग्छ?

खानामा अत्याधिक अरुचि

तीव्र रुपमा तौल घट्नु

जण्डिस (आँखा र छालामा पहेँलो देखिनु

छाला अत्याधिक रूपमा चिलाउनु (जण्डिसले गर्दा)

पेट सुन्निनु (कलेजो खराब भएर पेटमा पानि भरिनु)

बान्ता आउला जस्तो भैराख्नु अथवा बान्तामा रगत देखा पर्नु

मानसिक सन्तुलन गडबड हुनु (सामान्यदेखि अचेत हुने र कोमासम्म हुन सक्ने)

प्रत्यारोपणको पूर्वतयारी

सबै कलेजो रोगीको प्रत्यारोपण गर्नुपर्छ भन्ने जरूरी हुँदैन। कस्ता बिरामीको कस्तो उपचार गर्ने र कहिले बिरामी प्रत्यारोपणका लागि तयार हुन्छन भन्ने कुरा बिरामीलाई जाँच गर्ने फिजिसियन (हेपाटोलोजिस्ट) र शल्य(चिकित्सक (ट्रान्सप्लान्ट सर्जन) ले निर्णय गर्छन्।

कलेजो रोग विशेसज्ञले रोगका बारेमा पूरा जानकारी राखेर त्यसको उपचार र प्रत्यारोपणको तयारी गर्नेछन्।

सामान्यतया दुईदेखि तीन हप्तासम्ममा प्रत्यारोपणका लागि चाहिने सम्पूर्ण जाँचपड्ताल पूरा हुन्छ।

के कति जाँच गराउनु पर्छ भन्ने कुरा तपाईँको चिकित्सकले जानकारी गराउँछन्।

सामान्यतया यी जाँचहरू अनिवार्य रूपमा गर्नुपर्ने हुन्छ

रगत सम्बन्धी जाँच

बायोकेमेस्ट्री (मृगौला र कलेजोले कत्तिको काम गरिरहेको छ र कुन अवस्थामा छ भन्ने जाँच)

हेमाटोलोजी (रक्तअल्पता भएरनभएको तथा शरीरका अन्य रक्तकोषिकाहरूको अवस्था)

शरीरको रगत जमाउन सक्ने क्षमता

रक्तसमूह र क्रस म्याच

शरीरमा हार्मोनको मात्राहरू

हेपाटाइटिस (जण्डिस) गराउने भाइरसहरूको जाँच

अन्य भाइरसहरू, जसले प्रत्यारोपणमा असर पार्न सक्छन्

पिसाब सम्बन्धी विविध जाँचहरू

अन्य जाँचहरू

छाती, हिप र ढाडको एक्सरे

ईसीजी र एकोकार्डीयोग्राफी

फोक्सोको काम गर्न सक्ने क्षमताको जाँच (पुल्मोनारी फुन्च्सन टेस्ट)

पेटको सिटी स्क्यान

हाडसम्बन्धी स्क्यानहरू

इन्डोस्कोपी

महिला बिरामीहरूमा– म्यामोग्राफी र प्याप टेस्ट

दाँतको सम्पूर्ण जाँच र उपचार

यस पश्चात के हुन्छ?

सबै जाँचपड्ताल पछि सम्भावित प्रत्यारोपणको लागि बिरामीलाई तयार गरिन्छ।

यसै दौरानमा बिरामी र दाताको मानसिक स्थिति ठिक छरछैन जाँच गर्न मानसिक रोग बिशेसज्ञसँग परामर्श गराइन्छ। सम्भव भएसम्म पारिवारिक र सामाजिक जटिलता र अन्य कुराहरुको बारेमा विस्तृत छलफल हुन्छ।

प्रत्यारोपण केका लागि गरिन्छ?

कलेजो प्रत्यारोपण त्यस्ता बिरामीका लागि गरिन्छ, जसको कलेजोले आंशिक वा पूर्ण रूपमा काम गर्न छोडेको हुन्छ र प्रत्यारोपण विना कालान्तरमा बाँच्न असम्भव हुन्छ। निम्नलिखित रोगहरूमा प्रत्यारोपण अपरिहार्य हुन्छ–

अल्कोहोलिक कलेजो रोग (अत्याधिक मादक पदार्थ सेवन गरेर कलेजो बिग्रेको अवस्था)

हेपाटाइटिस बी र सी

अत्यधिक बोसो भरिएको कलेजो (नन(अल्कोहोलिक कलेजो रोग)

वंशाणुगत कलेजोको रोग (विल्सन डिजिज)

पित्तको नलीसम्बन्धी रोगहरु (बिलियरी सिरोसिस)

केही किसिमका पित्तका तथा कलेजोका अर्बुद(क्यान्सर)हरु

पश्चिमा देशहरूमा हेपाटाइटिसको संक्रमण र एसियातिर मादकपदार्थ नै प्रत्यारोपणका नम्बर एक कारण हुन्। केटाकेटीहरुमा भने वंशाणुगत रोग हरु नै नम्बर एक कारण हुन्।

प्रत्यारोपणको दिन को आसपास के गरिन्छ? के हो प्रत्यारोपण एनेस्थेसिया?

प्रत्यारोपणको पूर्व(तयारि स्वरूप बिरामीलाई आठ घण्टा जति खालि पेट राखिन्छ। अपरेशनको पूर्वसन्ध्यामा एनेस्थेसियोलोजिस्ट (बेहोश बनाउने विधिका ज्ञाता) ले बिरामीलाई भेटेर अप्रेसन दौरान र पछि हुने सम्पूर्ण विधि, हुनसक्ने जोखिम र तिनका निदानहरूका बारेमा सम्पूर्ण जानकारी गराउनेछन्। यसका साथै बिरामीलाई चाहिने सम्पूर्ण समान र रगतको बारेमा पनि जानकारी र छलफल गर्छन्।

कलेजो प्रत्यारोपणका लागि प्रदान गरिने एनेस्थेसिया अन्य सामान्य अप्रेसनका लागि प्रदान गरिने एनेस्थेसिया भन्दा जटिल हुन्छ, यद्यपि उचित तालिम प्राप्त एनेस्थेसिया विज्ञका कारण यो सुरक्षित र प्रभावकारी पनि हुन्छ। बिरामीलाई चाहिने रगत र अन्य औषधि प्रदान गर्न धेरै किसिमका प्रविधि प्रयोग गरी अप्रेसन दौरान बिरामीको सुरक्षा सुनिश्चित गराउनु एनेस्थेसियोलोजिस्टको दायित्व हुन्छ।

यो अप्रेसन पूर्णरूपमा बेहोश बनाएर गरिन्छ। यसमा बिरामीलाई कुनै किसिमको दुखाइ र गाह्रो महसुस हँदैन। सामान्यतया लामो दौरानको अप्रेसन हुने कारणले गर्दा कलेजो प्रत्यारोपित बिरामीलाई अचेत अवस्थामा नै आईसीयू लगिन्छ र भेण्टिलेटरको सहायताले स्वासप्रश्वास गराइन्छ। अनि केही घण्टाको अन्तरालमा क्रिटिकल केयरसम्बन्धी विशेषज्ञले बिरामीलाई भेण्टिलेटरबाट छुटाएर अक्सिजन लगाएर राख्छन्।

कहिलेकाहीँ भने बिरामीको अवस्था र शल्यक्रियाको जटिलता र समय हेरी बिरामीलाई तुरुन्तै (अप्रेसन कोठामै) होशमा ल्याई आईसीयू पनि सकिन्छ। यो निर्णय भने एनेस्थेसियोलोजिस्टले गर्छन्। बिरामीलाई संक्रमण नहोस् भनेर करिब १० दिनसम्म आईसीयूमा राखिन्छ अनि वार्डमा डिस्चार्ज गरिन्छ। यदि सबै कुरा चिताएको जस्तो भएमा करिब दुईदेखि तीन हप्तासम्म घरमा डिस्चार्ज पनि गरिन्छ। अप्रेसनपछि पनि कुनै दुखाइ नहोस् भनेर औषधिहरू दिइन्छ।

खानेकुरा भने सघन उपचार कक्षमा आएको केही घण्टामा शुरु गरिन्छ। के खाने र के नखाने भन्ने कुरा चिकित्सकको टोलीले निर्धारण गरेर उचित निर्देशन दिन्छन्।

कलेजो दातालाई चाहिँ अप्रेसनपश्चात् तुरुन्तै होसमा ल्याइन्छ र पोस्टअपरेटिभ वार्डमा सारिन्छ। बिरामीलाई दुखाई नहोस् भनेर अहोरात्र डाक्टर र नर्सहरुको टोली खटिएको हुन्छ। सामान्यतया केही दिनको अस्पताल बसाइपछि दातालाई अस्पतालबाट डिस्चार्ज गरिन्छ।

प्रत्यारोपणको दौरानमा हुन सक्ने जटिलताहरू

पित्त नलीसम्बन्धी समस्याहरू

अत्यधिक रक्तश्राव

धेरै मात्रामा रगत चढाउनुपर्ने अवस्था

संक्रमण तथा सेप्सिस

दान गरिएको कलेजोले काम नगर्न सक्ने (रिजेक्सन)

लामो समय पछि हुन सक्ने अन्य समस्याहरु

र, अन्त्यमा

कलेजो प्रत्यारोपण अत्यन्त जटिल शल्यक्रिया मानिन्छ।  सफलतापूर्वक कलेजो प्रत्यारोपण गर्ने संस्थालाई अब्बल दर्जाको संस्थाको रुपमा हेरिन्छ। यसलाई मल्टिडिसीप्लेनरी (धेरै विभागहरूको सक्रियतामा हुने) विद्या मानिन्छ। शल्यचिकित्सक, एनेस्थेसियोलोजिस्ट, सघन उपचार टोली (क्रिटिकल केयर फिजिसियन), हेपाटोलोजिस्ट, रेडियोलोजिस्ट, बच्चाको चिकित्सक (पेडियाट्रीसियन), प्याथोलोजिस्ट, मानसिक रोग विशेसज्ञ, नर्सिङ स्टाफ र प्रशासनको आ–आफ्नै काम र कर्तव्य हुन्छन्। कुनै पनि विभागले आफ्नो दायित्व पूर्णरूपमा निर्वाह नगर्दा प्रत्यारोपण सफल हुन सक्दैन।

हालै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पहिलो पल्ट सफलतापूर्वक कलेजो प्रत्यारोपण भएको छ। यो आफैमा उत्कृष्ट टिम संयोजनको एउटा ठुलो उदाहरण बनेको छ। र अस्पतालले भविष्यमा प्रत्यारोपणलाई निरन्तरता दिने योजना अनुरूप काम पनि गर्दैछ।

  • डा.अमित शर्मा भट्टराई

    डा. भट्टराई त्रिवि शिक्षण अस्पतालका उपप्राध्यापक एवम कलेजो प्रत्यारोपण विशेषज्ञ एनेस्थेसियोलोजिस्ट हुन्।

थप समाचार