‘ऐया ऐया गर्दै आउने बिरामी अकुपञ्चर कोर्सपछि ठमठम हिँडेर गएको देख्दा साह्रै सन्तुष्टि मिल्छ’

‘ऐया ऐया गर्दै आउने बिरामी अकुपञ्चर कोर्सपछि ठमठम हिँडेर गएको देख्दा साह्रै सन्तुष्टि मिल्छ’

अर्चना खड्का तीन वर्षदेखि कालिमाटीस्थित स्पार्क हेल्थ होममा अकुपञ्चरिस्ट छिन्। उनले अकुपञ्चरसम्बन्धी तीन वर्षे पढाइ सकेर काम गर्न थालेकी हुन्। उनै अर्चनाका पेशागत भोगाइका कुरा उनकै शब्दमा–

मेरा आफन्त बिरामी भएर अकुपञ्चर विधिबाटै निको भएपछि म यसतर्फ आकर्षित भएकी हुँ। यही विषय पढेँ। अन्य स्वास्थ्यकर्मीले जस्तै हामीले पनि बिरामीको सेवा नै गर्ने हो। तर हाम्रो काम बढी प्राविधिक खालको हुन्छ।

अकुपञ्चरमा सियोको माध्यमबाट बिरामीको उपचार गर्ने हुँदा बढी संवेदनशील हुनुपर्छ। शुरुशुरुमा म आफैँलाई सुई देखेर डर लाग्थ्यो। पछि पढाइकै दौरानमा धेरै अस्पतालमा ‘इन्टर्नसिप’ गर्ने मौका मिल्यो। त्यहाँ धेरै कुरा सिक्न पाएँ। बानी पर्दै गयो। अहिले त दैनिक ३० जना भन्दा बढीको अकुपञ्चर म एक्लैले गर्छु। कहिलेकाही छ एकै दिन ५० जनासम्म पनि बिरामी पुग्छन्।

अकुपञ्चर भनेको चाइनिज उपचार पद्धति हो, जसमा विशेष खालको सुईको माध्यमबाट बिरामीको शरीरको बाहिरी भाग (जुन हामीले तय गरेका हुन्छौँ) मा सुई घोपेर उपचार गरिन्छ। तर यसका लागि विशेष सिप चाहिन्छ। शरीरको बनोट सम्पूर्ण बुझेको हुनुपर्छ। कतिवटा च्यानल हुन्छन्, कहाँ सियो घोप्दा ‘इनर्जी’ पैदा हुन्छ, सबै ज्ञान हुनुपर्छ, जुन आफैँमा असाध्यै संवेदनशील हुन्छ। त्यसमा हामी सधैँ चनाखो हुन्छौँ।

यसको कोर्स हुन्छ। एक बिरामीलाई अकुपञ्चर दिन पर्यो भने हामी १० दिनको कोर्स दिन्छौँ। यो सामान्य नियम हो। तर बिरामी र रोगको अवस्था हेरेर यो बढाउन सकिन्छ।

अकुपञ्चरमा सुईको प्रयोग हुने हुँदा कतिपय बिरामी शुरुमा निकै डराउनुहुन्छ। कतिपय त शुरु शुरुमा गराउनै खोज्नुहुन्न। हामी उहाँहरूलाई यसको महत्त्वको बारेमा सम्झाउँछौँ। अनि मात्र उपचार शुरु गर्छौँ। कतिपय बिरामी त दुख्ने डरले अकुपञ्चर विभागमा आउनै नमानेका धेरै उदाहरण छन्। पछिल्लो समय अकुपञ्चरप्रति बिरामीहरूको विश्वास पनि बढ्दै गइरहेको जस्तो लाग्छ।

हामीकहाँ आउने बिरामी भनेको धेरै जसो क्रोनिक दुखाइ , प्यारालाइसिस, नसा च्यापिएका, स्ट्रोक, माइग्रेन आदिका हुन्छन्। यसबाहेक अन्य बिरामी पनि आउँछन्। यी बिरामीमा रिजल्ट निकै राम्रो पनि हुन्छ। ऐया ऐया गर्दै आउने बिरामी अकुपञ्चर विशेष कोर्सका कारण केही दिनपछि ठमठम हिँडेर गएको देख्दा साह्रै सन्तुष्टि मिल्छ। एक स्वास्थ्यकर्मीका लागि त्योभन्दा ठूलो कुरा के नै हुन्छ र!