Health TV Online
Health TV Online
Health TV Online

थाइराइड डराउनुपर्ने रोग होइन, तर समयमै उपचार नगरे दु:ख दिन्छ

थाइराइड डराउनुपर्ने रोग होइन, तर समयमै उपचार नगरे दु:ख दिन्छ

थाइराइड रोग होइन यो शरीरको अत्यावश्यक एक ग्रन्थी हो, जुन घाँटीमा हुन्छ। यसले शरीरलाई चाहिने हर्मोन उत्पादन गर्छ। यो हर्मोनले शरीरलाई स्वस्थ र स्फूर्त राख्न मद्दत गर्छ। मानव मुटु, मिर्गौला, फोक्सो, हड्डी  मांसपेसी लगायतका टाउकोदेखि खुट्टासम्मका अंगलाई यो हर्मोनको आवश्यकता पर्छ।

यो हर्मोन बढी वा कम उत्पादन भयो भने थाइराइडको रोग लाग्यो भनिन्छ ।  हर्मोन बढी उत्पादन हुने अवस्थालाई हाइपर थाइराइड भनिन्छ। हर्मोन कम उत्पादन हुनुलाई हाइपो थाइराइड भनिन्छ।
सामान्यतया थाइराइडमा चार किसिममा समस्या देखिनछन्। हाइपो थाइराइड, हाइपर थाइराइड, थाइराइड क्यान्सर र थाइराइड ग्रन्थीमा गिर्खा आउनु। यी चारैवटा समस्याको उपचार नेपालमै सम्भव छ। यसका विशेषज्ञ चिकित्सकहरु पनि नेपालमै छन्।

त्यसैले यो रोगको उपचारका लागि अन्य देश जानुपर्ने छैन। यीमध्ये पनि सबैभन्दा बढी हाइपो थाइराइड देखिने गरेको छ, जुन महिलाहरूमा बढी हुन्छ। प्रजनन उमेरका महिलामा यो समस्या बढी देखिन्छ ।

यसका लक्षणहरू

थाइराइडमा कुन प्रकारको थाइराइड हो त्यही अनुसार लक्षण देखिने हुन्छ। हर्मोन कम हुने अर्थात  हाइपो थाइराइड छ भने कब्जियत हुने, कपाल झर्ने, थकाइ लाग्ने, बढी जाडो लाग्ने, छाला फुस्रो हुने, महिलामा महिनावारी गडबडी हुनु,मोटाउँदै जाने समस्या हुन्छ भने हाइपर थाइराइडमा हात काँप्ने, मुटुको धड्कन बढ्ने, बढी थकाइ लाग्ने, कपाल झर्ने, दिसा लागिरहने आदि समस्या हुन्छ। तर कसै कसैमा यी लक्षण नदेखिन पनि सक्छन्।

थाइराइडको जाँच

थाइराइडको सम्पूर्ण जाँच नेपालमै हुन्छ। यसका लागि रगतको जाँच गरिन्छ। यसलाई ‘थाइराइड फङ्क्सन टेस्ट’ भनिन्छ ।

हर्मोन कम हुनेलाई हर्मोन सप्लिमेन्टका रूपमा दिइन्छ। यसले शरीरमा हर्मोन पूर्ति गर्छ। यो अवस्थालाई हामी रोग भन्दैनौँ। कसै कसैलाई केही समय हर्मोन बाहिरबाट खाएपछि केही समयपछि सही ‘लेबल’मा आएर खान नपर्ने हुन्छ। यसो भन्दैमा सबैलाई यस्तो हुन्छ भन्ने होइन।

चिकित्सकको निगरानीमा मात्रै औषधि शुरु गर्ने वा छोड्ने गर्नुपर्छ। शुरुमा पत्ता लाग्दा दुई दुई महिनामा थाइराइडको जाँच गरिन्छ। पछि सही लेबलमा आएपछि ६ ६ महिनामा जाँच गरेहुन्छ। त्यो बिरामीको अवस्था हेरेर हुन्छ।

औषधि कसरी खाने?

थाइराइडको औषधि र खानेकुरामा पनि धेरैले नबुझेको जस्तो लाग्छ। विशेषगरी हाइपो थाइराइडको औषधि खाली पेटमा खानुपर्छ र यो औषधि खाएको एक घण्टासम्म कुनै पनि खानेकुरा खान हुँदैन। अन्य खानेकुरासँग खाँदा औषधिले राम्ररी काम गर्न नसक्ने हुनसक्छ। तर कतिपय बिरामीले केही खाएर मात्र औषधि खाने गरको पाइयो। यो गलत हो। यसो गर्नु हुँदैन। औषधि खाएको एक घण्टासम्म कफी, कागतीपानी जस्ता पेय पदार्थ खान हुँदैन।

थाइराइडका भ्रम

थाइराइडबारे धेरै भ्रम छन्। थाइराइड भएका महिलाहरुको बच्चा हुँदैन भन्ने कुरा सत्य होइन । चिकित्सकको सल्लाहबमोजिम नियमित औषधि सेवन गरेर स्वस्थ बच्चा जन्माउन सकिन्छ। तर नियमित चिकित्सकको सल्लाहमा बस्न भने आवश्यक हुन्छ। गर्भवतीले बिचमै आफू खुशी औषधि छोड्न हुँदैन ।

यसैगरी थाइराइडको समस्यामा बन्दा, काउली जस्ता खानेकुरा खान हुँदैन भन्ने गरिन्छ। खाना खाने क्रममा त्यही मात्र खाने होइन। अन्य खानेकुरासँग खाने हो। त्यसैले खाना बार्नु पर्दैन। प्राकृतिक रूपमा पाइने सबै खानेकुरा खान हुन्छ। तारेको, भुटेको खानेकुरा खान र धूमपान, मद्यपानचाहिँ गर्नुहुँदैन।

धेरै बिरामी खान सुरु गरेपछि निरन्तर खाइरहनु पर्छ भनेर औषधि खान खोज्नु हुन्न। त्यसो गर्नु भनेको रोग बढाइरहनु हो। औषधि भनेका प्रमाणित वस्तु हुन जसले रोग बढ्न नदिने मात्र हैन नियन्त्रण मा राख्छन्। त्यसैले यसलाई जीवनभर खानपर्छ भनेर झन्झट मान्न हुँदैन।

कतिपयलाई जीवनभर खानपर्छ भने कतिपयलाई पर्दैन पनि। औषधि खाइयो भने रोग नियन्त्रण गरेर अन्य जटिलता हुन पाउँदैन तर झन्झट मानेर लापरवाही गरे ठूलो क्षति पुग्न सक्छ।

थाइराइडको उपचार अहिले सबै अस्पतालमा हुन्छ। जाँच गराउनु पर्छ। शुरुको अवस्थामा उपचार गरेर सही घेरामा राख्यो भने यसले खासै हानि गर्दैन। हाम्रै देशमा उपचार सम्भव छ।

आयुर्वेद र व्यायामले थाइराइड निको हुन्छ भनेर धेरै जना त्यतातिर पनि लाग्छन्। आजसम्म त्यस्तो कुनै व्यायाम छैन जसले थाइराइड नै ठिक पारोस्। त्यसैले यस्ता कुराको पछि लाग्नु हुँदैन। शारीरिक व्यायाम गर्नु सबैका लागि राम्रो हो तर औषधि पनि खान जरुरी हुन्छ।

  • डा. ज्योति भट्टराई

    हर्मोन रोग विशेषज्ञ डा.भट्टराई मेट्रो काठमाडौं अस्पतालमा कार्यरत छिन्।

थप समाचार

मुटुको बाथरोग र यसको निदान

मुटुको बाथरोग र यसको निदान