Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

दाँत र गिजाको सफाइ किन?

दाँत र गिजाको सफाइ किन?

हाम्रो पाचन प्रणालीको शुरुवात मुखबाट नै हुन्छ। हाम्रो मुखमा भएका दाँतहरूले मुख्यतः खानेकुरा चपाउने काम गर्छन्। खानेकुरा चपाइसकेपछि थुकमा मिसिए निलिन्छ, अनि पेटभित्र गएर पच्छ। केटाकेटी अवस्थामा खाना राम्ररी चपाएर पाचनशक्ति बढाइ शारीरिक वृद्धि गराइन्छ। त्यसैले केटाकेटी अवस्थादेखि वृद्धावस्थासम्म पनि पाचनशक्तिका लागि दाँतहरू आवश्यक भएकाले यसलाई सधैँ सफा र स्वस्थ राख्न अति आवश्यक छ।

सफा भएन भने मुख तथा दाँतमा खानेकुरा अड्किन्छ र त्यहीँ सडेर विभिन्न कीटाणुहरू उत्पन्न हुन्छ। दाँत किराले खाने, गिजाहरूबाट रगत आउने, पीप बगी दाँत झर्नेसम्मको सम्भावना हुन्छ। अनि दाँत भएन भने खानेकुरा राम्ररी चपाउन सकिँदैन र शरीरलाई चाहिने तत्त्व भएको खाना राम्ररी खान नसकेर यसको पूर्ति हुन पाउँदैन र अपचको समस्या पनि आउन सक्छ। फेरि विभिन्न कीटाणुहरू र यसबाट उत्पन्न भएका विषालु पदार्थ रगतमा मिसिएर रक्तसञ्चारमा गई शरीरको कुनै पनि भागलाई असर पारी अनेकौँ रोग जस्तै, ज्वरो आउने, जोर्नी दुख्ने, झाडापखाला हुने, पेट दुख्ने र मुटुको रोगसम्मको सम्भावना हुन्छ। यीबाहेक मुखको कयान्सरजस्तो भयानक रोग पनि लाग्न सक्छ।

केटाकेटी हुन् वा ठूलाबडा। साधारणतया दाँतको सफाइ दिनको दुईपल्ट गर्न जरुरी छ। बिहान मुख धुने बेलामा र राति सुत्नुअघि टुथपेष्ट लगाएर तीनमिनेट जति लगाएर दाँतको सबै भागमा ब्रस पुर्याएर सफा गर्नुपर्छ। कहिलेकाहीँ राति ब्रस गर्न नभ्याए मुख र दाँतमा अड्केका खानेकुराहरू कमसेकम सफा पानीले भए पनि कुल्ला गरी मुख सफा पारेर सुत्नुपर्छ।

त्यसकारण दाँत र गिजा सफा र स्वस्थ भएन भने हामी पूर्णतया स्वस्थ रहन सक्दैनौँ। यसको सफाइबारे केटाकेटी अवस्थादेखि नै राम्रोसँग हेरविचार गरी दाँत, गिजा र मुखलाई सफा गरिदिने गर्नुपर्छ। केटाकेटीहरूले धेरैजसो गुलिया चिजहरू जस्तै चकलेट, बिस्कुट इत्यादि धेरै खाने भएकाले दाँत र मुखको सफाइमा ध्यान दिन अति जरुरी छ। सफा पारिएन भने दाँतमा किरा लागी दन्तपीडाबाट मुक्त हुन गाह्रो पर्छ।
बच्चाहरूलाई दुई तीन वर्षको उमेरदेखि नै दाँत सफा गर्ने बानी बसाउनुपर्छ। सफा गर्नका लागि अलग्गै किसिमका दाँत माझ्ने साना साना ब्रुस किन्न पाइन्छ र टुथपेस्ट मञ्जन पनि। यो बानी आमाबाबुहरूले सिकाउनुपर्छ र नसिकेसम्म आफैँले गरिदिनुपर्छ।

केटाकेटी हुन् वा ठूलाबडा। साधारणतया दाँतको सफाइ दिनको दुईपल्ट गर्न जरुरी छ। बिहान मुख धुने बेलामा र राति सुत्नुअघि टुथपेष्ट लगाएर तीनमिनेट जति लगाएर दाँतको सबै भागमा ब्रस पुर्याएर सफा गर्नुपर्छ। कहिलेकाहीँ राति ब्रस गर्न नभ्याए मुख र दाँतमा अड्केका खानेकुराहरू कमसेकम सफा पानीले भए पनि कुल्ला गरी मुख सफा पारेर सुत्नुपर्छ।

पहिलेका मानिसहरू हातले मात्रै दाँत माझ्ने गर्थे। हातले मात्रै कहिले पनि दाँत र गिजालाई सफा गर्न सकिँदैन। कसैकसैले गोल, अंगार र बालुवाले पनि दाँत सफा गर्ने गर्छन्। यो बानी पटक्कै राम्रो होइन। यसो गर्दा गिजा सफा गर्न सकिँदैन बरु गोल वा बालुवाको धुलो गिजाभित्र पसी सुन्निने र पोल्ने समस्या आउनसक्छ। दाँत र गिजा हाम्रो शरीरका अभिनन अंग हुन्। यिनीहरू फोहोर भाँडाकुँडा होइनन्, गोल अंगार वा बालुवाले सफा गर्नलाई। त्यसकारण दाँत र गिजा सफा गर्न रा्रो मञ्जन र ब्रस प्रयोग गर्न आवश्यक छ। मञ्जन वा ब्रस उपलब्ध नहुने परिस्थितिमा निमको डाँठले बिहान बेलुकी दुईपटक दाँत र गिजा सफा गर्नु उपयुक्त हुन्छ।

अन्त्यमा सुत्केरी हुँदा माझ्यो भने दाँत कमजोर हुन्छ भन्ने धारणा हाम्रो समाजमा व्याप्त छ। यो एकदमै गलत धारण हो। सुत्केरी भएका वेला त झन् धेरै गुलिया चिजहरू (चाकु, गुँदपाक, जेरी, मिश्री आदि) खाने भएकाले अरु वेलाभन्दा झन् कीराले खाने सम्भावना हुन्छ। त्यसैले दाँत सफा गर्नैपर्छ। सुत्केरी भएका वेला पनि अरु वेला जस्तै दाँत, गिजा र मुख सफा गर्नु अति आवश्यक छ।

डा. सुनिल चन्द्र झाको ‘डाक्टर साहेब भन्नुहुन्छ’मा संग्रहीत स्व. बीना कंसाकारको लेख