Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

रोग ढिला पत्ता लाग्नुमा डाक्टरलाई मात्र दोष दिनु गलत हो

रोग ढिला पत्ता लाग्नुमा डाक्टरलाई मात्र दोष दिनु गलत हो

हेल्थ टिभी अनलाइनमा साेमबार तुलसा घिमिरेद्वारा लिखित ‘गलत उपचार पद्धतिको परिणाम, १० वर्ष लाग्यो श्रीमानको क्यान्सर पहिचान गर्न’ शीर्षकको अनुभूति पढियो। म लेखकलाई व्यक्तिगत रूपमा त चिन्दिनँ तर उहाँको श्रीमानको स्वास्थ्यबारे पढेर नराम्रो लाग्यो। राम्रो उपचार हुँदैछ भन्ने थाहा पाएर खुशी पनि लाग्यो। बाँकी उपचार पनि राम्रो होस्, उहाँको शीघ्र स्वास्थ्यलाभको कामना!

हामीले धेरै नेपालीलाई क्यान्सर रोग भइसकेपछि वा फैलिसकेपछि मात्र पत्ता लागेको सुनेका र भोगेका छौँ। के साँच्चै क्यान्सर ढिलो पत्ता लाग्ने हो? त्यसो भए किन त्यसो हुन्छ?

लक्षण शुरुमै देखिँदैन

क्यान्सर मात्र होइन धेरैजसो रोग शुरुको अवस्थामै पत्ता लगाएर छिटो उपचार शुरु गरे पूर्ण रुपमा निको बनाउन सकिन्छ। यसका लागि संसारभरकै स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था, विश्व स्वास्थ्य संगठन लागेका छन्। तर धेरै रोगमा जस्तो क्यान्सरमा दुख्ने, ज्वरो आउने, गार्हो हुने समस्या शुरुमै नदेखिने हुनाले मान्छेहरू अस्पताल गएर जँचाउने हुँदैन। त्यसैले चाहेर पनि सबैखाले क्यान्सर छिटो पत्ता लगाउन सकिँदैन, विकसित देशहरूमा पनि यो सम्भव छैन र प्रायजसो क्यान्सर भइसकेपछि नै पत्ता लाग्छन्।

नियमित स्वास्थ्य जाँचको चलन छैन हाम्राेमा 

मैले नियमित जाँच भनेर हिजोआज फेसनमा आएको ‘होलबडी चेकअप’को कुरा गरेको होइन, जसमा रगतको विभिन्न ल्याब जाँच, एक्सरे, अल्ट्रासाउण्ड प्याकेजको रूपमा गर्न लगाइन्छ। यसमा डाक्टरसँगको ‘हिस्ट्री’ र शारीरिक जाँचलाई खासै महत्त्व दिइँदैन, त्यसलाई न बिरामीले न डाक्टरले चासो दिन्छन्, किनकी त्यसमा नाफा हुँदैन। तर धेरै रोग शुरुकै अवस्थामा पत्ता लाग्ने भनेको ‘हिस्ट्री’ र शारीरिक जाँच राम्रोसँग गरिएको छ भने हो, न कि ‘होल बडी चेकअप’ नामक ल्याब रिपोर्टहरूको थुप्रोबाट।

नेपालका क्यान्सर विशेषज्ञहरूलाई सोध्न मन लाग्यो, ‘के रेक्टल क्यान्सरको स्तरीय उपचार नेपालमा सम्भव छैन? के नेपाली जनताले यो लगायत विभिन्न क्यान्सर र अन्य जटिल उपचारहरुको लागि भारत लगायत विभिन्न देशहरुमा धाउनै पर्ने हो? यो मेसिन, ज्ञान, औषधिको कमीले सिर्जित आवश्यकता हो कि, प्रशासनिक कमजोरी? व्यापारीतन्त्र र गलत प्रचार, मिडियाबाजीले सिर्जित भ्रमको अवस्था हो?’

‘स्क्रीनिङ टेस्ट’ लाई महत्त्व दिइँदैन

क्यान्सर जस्ता रोग शुरुको अवस्थामै पत्ता लगाउने जाँचलाई ‘स्क्रिनिङ टेस्ट’ भनिन्छ। यी जाँच स्वस्थ व्यक्तिमा अर्थात् कुनै पनि लक्षण नदेखिएको अवस्थामा गरिन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार ‘स्क्रिनिङ टेस्ट’ हरुबाट छिटो पत्ता लगाउन सकिने क्यान्सरहरूमा स्तन, पाठेघरको मुख, ठूलो आन्द्रा, मलाशय, मुख, स्वरयन्त्र र छालाका क्यान्सर पर्छन्। अर्थात् निश्चित उमेरका स्वस्थ व्यक्तिहरूमा तोकिएका जाँच (शारीरिक तथा ल्याब लगायत अन्य) गरे यी क्यान्सर शुरुकै अवस्थामा र कतिपय वेलामा हुनुभन्दा अगाडि पनि पत्ता लगाउन सकिन्छ र उपचार गर्न सकिन्छ। यीबाहेकका धेरै क्यान्सरमा विभिन्न जाँच गर्ने भए पनि तिनलाई स्वस्थ व्यक्तिहरूमा स्क्रिनिङ टेस्टको रूपमा प्रयोग गर्न नसकिने भनेर विभिन्न अध्ययनले देखाएका छन्।

जस्तो रगतको जाँच छिटो गरिए ब्लड क्यान्सर शुरुमै पत्ता लाग्थ्यो कि! छातीको एक्सरे गरिराखे फोक्सोको क्यान्सर छिटो पत्ता लाग्थ्यो कि! इण्डोस्कोपी समय समयमा गरिरहे आमाशयको क्यान्सर छिटो पत्ता लाग्थ्यो कि! तर वैज्ञानिक अध्ययनहरूले देखाएअनुसार त्यस्तो सम्भव हुँदैन।

विकसित देशमा अत्याधुनिक र व्यवस्थित स्वास्थ्य प्रणाली हुँदा पनि ती लागिसकेपछि, फैलिसकेपछि नै पत्ता लाग्छन्। किनभने हरेक टेस्टको आफ्नै समस्या हुन्छन्, कुनै पनि शतप्रतिशत ठीक हुन्छ भन्ने हुँदैन। कुनैले नभएको रोगलाई देखाउँछ भने कुनैले भएको रोगलाई पनि देखाउँदैन। त्यसैले त हरेक ‘टेस्ट’ विज्ञको सल्लाहमा गर्नुपर्छ र रिपोर्ट पनि विज्ञलाई देखाएर नै सल्लाह गर्नुपर्छ।

त्यसैले रोग पत्ता लागिसकेपछि फर्केर हेर्दा धेरैलाई ‘त्यो बेला नै यो जाँच गरिदिएको भए’, ऊ वेला नै यसो गरिदिएको भए’ भन्ने लाग्नु स्वाभाविक हो, जुन ठूलो रोग पत्ता लागिसकेपछिको सामान्य मानसिक प्रतिकृया हो, तर शुरुको बेलामा, लक्षण नदेखिएको बेलामा जे जति गरियो, वा सामान्य लक्षण देखिदा जेजति गरियो त्यो मात्र सम्भव हुनसक्छ।

लक्षण देखिइसकेको अवस्था

तुलसाजीले ‘नेपालको उपचार पद्धति गलत भएको र यसैको कारणले उहाँको श्रीमानको क्यान्सर पत्ता लाग्न १० वर्ष लागेको’ भन्नुभएको छ। के नेपालको उपचार पद्धति गलत छ? के साँच्चै उहाँको क्यान्सर १० वर्ष अगाडि पत्ता लाग्न सक्थ्यो?

हाम्रोमा कुनै पनि समस्यामा सामान्य अन्तर्राष्ट्रिय निर्देशिका अनुसार ‘सिस्टमेटिक’ तरिकाले अगाडि बढ्ने चलन छैन। हुन त यो सँधै सम्भव पनि हुँदैन। विदेशमा ‘एपेण्डिसाइटिस’ पत्ता लगाउन पेटको सिटी स्क्यान गर्छन्, हरेक दुर्घटनाका घाइतेको कुनै पनि ‘इन्ज्युरी’ नछुटोस् भनेर टाउकोदेखि खुट्टासम्मको सिटी स्क्यान गर्छन्, यसरी जाँच गरिनु ठीक होला तर के हाम्रोमा त्यो सम्भव छ त? त्यसैले धेरैजसो हाम्रोमा ‘प्राक्टिकल’ भएर आफ्नैखाले परिमार्जित निर्देशिकाहरू प्रयोग गरिरहेका हुन्छन्, अझ धेरै अस्पतालमा त यस्तो कुनै निर्देशिका नै हुँदैन, डाक्टरहरुको व्यक्तिगत गुण र निर्णयमा नै भर पर्छ।

साथै हाम्रो जाँच्ने तरिका, बिरामी हेर्ने तरिकामा ‘फर्मल कन्सल्टेसन’ कमै हुन्छ। हामी धेरैजसो भिडमा, हतारमा, गफ गरेको जस्तो बिरामी हेर्छौँ। दिसामा रगत देखिने धेरै बिरामी ओपीडीमा आउँछन्। उनीहरू आफैँ नै ‘पाइल्स’ हो भन्ने मानसिकता बोकेर आएका हुन्छन्। सिधै ‘मलाई पाइल्स छ’ भन्छन्। खासमा यस्तो समस्या भएको बिरामीलाई दिसा गर्ने ठाउँ (मलद्वार) हेर्ने, औँला छिराएर जाँच्ने (पर रेक्टल एक्जाम), ‘प्रोक्टोस्कोप’ भन्ने सामान्य मेसिन हालेर जाँच्ने (प्रोक्टोस्कोपी) गर्नुपर्ने हो।

हाम्राे समस्या

धेरै जनरल ओपीडीहरूमा यो जाँच गरिँदैन, किनकी यस्तो जाँचका लागि चाहिने गोप्य ठाउँ पनि हुँदैन। बिरामीले अफ्ठ्यारो मान्छन्। डाक्टरले पनि झञ्झट मान्छन्। अनि ‘प्रोक्टोस्कोप’ पनि हुँदैन। धेरै बिरामी यस्तो केसमा शारीरिक जाँच गराउन अप्ठ्यारो मान्छन्, डाक्टरले जाँच गर्न खोजे पनि ‘गर्नै पर्ने हो र, अहिलेले औषधि मात्र लेखे हुन्न, अहिले औषधि दिनुस्, निको नभए गरौँला नि’ भन्ने प्रतिक्रिया दिन्छन्। सर्जरी ओपीडीहरूमा, समस्या धेरै नै बढी भएको वेलामा, बिरामी र डाक्टर दुवै स्वास्थ्यप्रति गम्भीर भएको अवस्थामा भने केही फरक हुनसक्छ। यस्ता जाँचहरू डाक्टरले जबरजस्ती गर्ने भन्ने पनि हुँदैन।

यस्ता क्लिनिकल जाँचहरू भन्दा बरु ‘भिडियो एक्सरे’, ‘सिटी स्क्यान’ गराउन हामी सजिलो मान्छौँ र त्यसमा ‘नर्मल’ देखिए हामी सबै ठीक रहेछ भनेर ढुक्क हुन्छौँ। जबकी रोगको डायग्नोसिसमा ‘हिस्ट्री’मा सोधिने हरेक प्रश्नको, हरेक क्लिनिकल जाँचको आफ्नै महत्त्व हुन्छ।
ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, सिटी स्क्यानमा मात्रै रोग पत्ता लाग्ने हुँदैन, ती त मेसिन, केमिकल हुन्, रोग पत्ता लगाउने त स्वास्थ्यकर्मीले हो, उसको तालिमप्राप्त आँखाको हेराइ, कानको सुनाइ, हातको स्पर्श र दिमागको सोचाइले हो, जसको महत्त्व हाम्रो समाजमा दिनानुदिन घट्दै गइरहेको छ।

तुलसाजीको लेखमा बिरामीको पर ‘रेक्टल एक्जाम’, ‘प्रोक्टोस्कोप’ जाँच गरियो\गरिएन बुझ्न सकिएन। ‘विभिन्न अस्पतालमा जँचाइयो तर सबै ठाँउमा भनियो, यो पायल्स नै हो’ भनेर भन्नुभएको छ। आयुर्वेद अस्पतालमा जाँच्दा नि पायल्स नै भनिएको भन्नुभएको छ।

सुरूमै गर्न सकिन्थ्याे ‘कोलोनोस्कोपी’ जाँच?

क्यान्सर पत्ता लाग्न १० वर्ष लाग्यो भनेर लेखकले २०\२२वर्षको पुरुषमा शुरुमा दिसामा रगत देखिदा नै ‘कोलोनोस्कोपी’ जाँच गरिदिएको भए त्यतिखेर नै क्यान्सर पत्ता लाग्थ्यो भनेर भन्न खोज्नुभए जस्तो लाग्यो। अहिले फर्केर सोच्दा त्यसो गरिएको भए ठीक हुन्थ्यो भन्ने लागे पनि त्यस्तो कसैले पनि गर्दैन। कुनै पनि विकसित देशको निर्देशिकाले पनि त्यसो गर्न भन्दैन। जबसम्म परिवारमा ठूलो आन्द्राको क्यान्सर धेरै सदस्यमा देखिएको, कम उमेरमा देखिएको ‘हिस्ट्री’, वा अन्य कुनै ‘रिस्क फ्याक्टर’ हुँदैन।

किनकी तुलसाजीले भनेजस्तै ५० वर्षभन्दा माथिको व्यक्तिलाई बाहेक असामान्य लक्षण नदेखिए सिधै क्यान्सर सोचेर जाँच कुनै पनि डाक्टरले शुरु गर्दैन। यदी यही तरिकाले दिसामा रगत देखिने हरेक व्यक्तिलाई ‘रेक्टल’ क्यान्सर नि हुनसक्छ भनेर ‘कोलोनोस्कोपी’ गर्न थालिए के हुन्छ होला? अहिले ‘अल्ट्रासाउन्ड’को व्यापार भए जस्तै ‘कोलोनोस्कोपी’को अन्धाधुन्द व्यापार शुरु हुन्छ, जसबाट अन्ततः सर्वसाधारणले धेरै घाटा बेहोर्नुपर्छ।

तुलसाजी लेख्नुहुन्छ,‘दिशामा रगत देखिए पनि भित्र कहीँ कतै नदुख्ने, अप्ठेरो अनुभव नहुने। विभिन्न अस्पतालमा जँचाइयो तर सबै ठाँउमा भनियो, यो पायल्स नै हो।’

यस्ता गल्ती गर्छन् बिरामी

हामी दुख्यो, अफ्ठ्यारो भयो भने मात्रै त्यो समस्या बारे गम्भीर हुन्छौँ, त्यसैले त उच्च रक्तचाप देखिए पनि, डाक्टरले औषधि खान भनेर पटक पटक भने पनि नखान विभिन्न बहाना खोज्छौँ। किनकी प्रेसर बढेको कुनै लक्षण देखिँदैन। डायबेटिजका रोगीहरूमा पनि यही समस्या हुन्छ। हरेक लक्षण नदेखिने वा ढिलो गरी देखिने वा ‘भेग’ वा अस्पष्ट लक्षण देखिने रोगहरुमा यही समस्या हुन्छ। यसमा स्वास्थ्यकर्मीले पनि समय दिएर बिरामीलाई रोगबारे बुझाउन खोज्नुपर्छ। बिरामीले पनि डाक्टरको कुरा सुनिदिने गर्नुपर्छ, आफ्नो ‘माइण्ड सेट’ मात्र बोकेर बस्नुहुँदैन।

हाम्रो समाजमा देखिएको अर्को ठूलो समस्या भनेको डाक्टर र अस्पताल फेर्दै हिँड्ने बानी हो। हुन त यो कसैको चाहना होइन होला, तर आफ्नो समस्याका लागि कुन डाक्टरलाई देखाउँदा ठीक हुन्छ भन्ने कुराको टुंगो नपाएर, धेरैजनाका धेरै कुरा सुनेर कहिले एउटा त कहिले अर्को डाक्टरकोमा धाइरहेका हुन्छन्। त्यो पनि पुराना कागजात, रिपोर्टहरु केही पनि नबोकी।

हरेक पटक फरक डाक्टरले हेर्दा उत्तिकै गम्भीर भएर नहेर्न सक्छ, किनकी बिरामीको लागि समस्या पुरानो र लामो हुन्छ तर डाक्टरको लागि बिरामीसँगको पहिलो भेट हुन्छ, त्यसमाथि उसको पहिलेका कागजात नि नभएपछि समस्याको जटिलता आँकलन गर्न डाक्टरलाई पनि गाह्रो हुन्छ र धेरै कुरा अनुमानको भरमा गर्नुपर्ने हुन्छ। ‘त्यो डाक्टरलाई देखाएको निको भएन, अनि फलाना डाक्टरको औषधी खाएँ त्यो पनि भएन, कसैले सकेन अनि मेरो यो मान्छेले भनेर तपाईँकोमा आएको।’ ओपीडी कन्सल्टेसनमा धेरै बिरामीले सुनाउने यस्ता कथाको कागजी रिपोर्ट र लिखित अभिलेख नभए उपचारमा खासै महत्त्व तर यसमा डाक्टरहरुको मात्र दोष हो त?

अन्त्यमा,

यही लेखबाट नेपालका क्यान्सर विशेषज्ञहरूलाई सोध्न मन लाग्यो, ‘के रेक्टल क्यान्सरको स्तरीय उपचार नेपालमा सम्भव छैन? के नेपाली जनताले यो लगायत विभिन्न क्यान्सर र अन्य जटिल उपचारहरुको लागि भारत लगायत विभिन्न देशहरुमा धाउनै पर्ने हो? यो मेसिन, ज्ञान, औषधिको कमीले सिर्जित आवश्यकता हो कि, प्रशासनिक कमजोरी? व्यापारीतन्त्र र गलत प्रचार, मिडियाबाजीले सिर्जित भ्रमको अवस्था हो?’

थप समाचार