Health TV Online
Health TV Online

दशैँमा यसरी मिलाउनुस् खानेकुराको सन्तुलन

जिब्राेका लागि हाेइन, शरीरका लागि खानुस्

दशैँमा यसरी मिलाउनुस् खानेकुराको सन्तुलन

आजभोलि मिडियाले खानेकुराको बारेमा प्रशस्त कुरा गर्न थालेको छ। यो देख्दा, सुन्दा निकै खुशी लाग्छ। पहिले पहिले यो विषयमा बहस नै हुँदैनथ्यो। यसले पनि नेपालीहरू स्वास्थ्यको बारेमा केही सचेत हुन थालेका छन् भन्ने पनि देखिन्छ।

दशैँ पहिले र अहिले

दशैँ त्यही नै हो तर पहिले र अहिलेको दशैं मान्ने तरिका निकै फरक छ। त्यो बेलामा मासु खाने भनेकै दशैँमा मात्र हुन्थ्यो। अझ भन्नुपर्दा मासु खानलाई दशैँ नै कुर्नुपर्थ्याे। त्यसैले पनि दशैँ र मासु पर्याय बनेका हुन्। तर अहिले समयसँगै धेरै कुरा फेरिएको छ। दशैँ मान्ने तरिका पनि आ–आफ्नै शैलीका छन्।

हामी सानो हुँदा ‘दशैँमा नयाँ लुगा पाइन्छ, मासु खान पाइन्छ’ भनेर धेरै अघिदेखि रोमाञ्चित हुन्थ्यौँ। अहिले धेरै नेपाली सातामा दुईपटक मासु खानसक्ने भएका छन्। त्यसैले मासु खान दशैँ नै आउनुपर्छ भन्ने छैन।

टाढा टाढाबाट मान्यजनको हातबाट टीका थाप्ने चलन अहिले पनि कायमै छ।  यो चाडको सुन्दर पक्ष हो। कम्तीमा सबै परिवार वर्षको एकपटक भए पनि भेटघाट हुने र सँगै हुने भन्ने उद्देश्यले यस्तो गरेको होला जस्तो लाग्छ। हाम्रो माैलिक संस्कृति जोगाउने जिम्मा पनि हाम्रै हो ।

दशैँका नाममा अनियन्त्रित रूपमा मासु खाँदा स्वस्थ व्यक्तिलाई त असर गर्छ भने मुटुरोगी, मिर्गौलारोगी, मधुमेहका बिरामीलाई अझ बढी असर गर्छ। त्यसैले खाना जिब्राको लागि भन्दा पनि शरीरका लागि खान जरुरी छ। अनावश्यक तत्त्व र चाहिनेभन्दा बढी खाँदा शरीरलाई हानि गर्छ।

दशैँमा कसरी मिलाउने खानेकुराको सन्तुलन?

खासमा दशैँमा नै मासु खानैपर्छ भन्ने छैन। हामीले प्रत्येक छाकमा पौष्टिक खानेकुरा खानैपर्छ। मासुमा प्रशस्त प्रोटिन पाइन्छ जुन हाम्रो शरीरलाई आवश्यक पनि छ। तर त्यसमा खाने तरिका मिल्न जरुरी छ। दशैँ भन्दैमा घरमा मार हान्नै पर्छ भन्ने छैन।

दशैँका नाममा अनियन्त्रित रूपमा मासु खाँदा स्वस्थ व्यक्तिलाई त असर गर्छ भने मुटुरोगी, मिर्गौलारोगी, मधुमेहका बिरामीलाई अझ बढी असर गर्छ। त्यसैले खाना जिब्राको लागि भन्दा पनि शरीरका लागि खान जरुरी छ। अनावश्यक तत्त्व र चाहिनेभन्दा बढी खाँदा शरीरलाई हानि गर्छ ।

चाडबाड मान्ने, स्वस्थ पनि रहने उपाय 

वर्षमा एकपटक आउने चाडमा मासु खाँदै नखानुस् भन्दा अशोभनीय होला। खान मिल्छ। मात्रा मिलाएर खानुपर्छ भन्ने हो। मासुको सुरमा कतिले दशैँका बेला औषधि खान समेत बिर्सिन्छन्। दशैँ त हो नि भन्दै केही बढी नै खान्छन्। आफन्त, वरपर सबैतिर बोलाइएको हुन्छ। नाइँ भन्न सक्दैनन्।

मासुमा धेरै मरमसला हालिएको हुन्छ। जिब्रोका लागि स्वाद दिए पनि धेरै मरमसला र चिल्लो मासुले एकदमै समस्या पार्छ। यसको परिणाम शरीरले भोग्नुपर्छ। त्यसैले खानै हुन्न भन्ने होइन। मासुलाई पोलेर धेरै मसला हालेर पकाउनुभन्दा उसिनेर खान सकिन्छ।

तिहार, छठ र रमजान लगायतका चाडबाडलाई आफ्नो संस्कृतिमा धेरै महत्त्व दिइन्छ। यस्ता चाडमा गुलिया पदार्थ धेरै खाने चलन छ। मिठाइ कहाँ र कसले कसरी बनाएको हो हेर्न जरुरी छ। यसको गुणस्तरमा ध्यान दिन जरुरी छ। मिठाइमा भएका गुलिया वस्तु नियन्त्रण गर्न जरुरी छ।

सबै चिज अलिअलि खानु राम्रो हो। खान थालेपछि नियन्त्रण भन्ने हुँदैन। पाँच\६ फिटको शरीरलाई चार इञ्चकाे जिब्रोले निर्धारण गर्छ। त्यसैले दशैँतिहारपछि अस्पताल र क्लिनिकहरूमा बिरामीको घुइँचो हुन्छ।

साेच्नैपर्ने कुरा

हामी कपडा, मोबाइल अादि वस्तु किन्दा धेरै जनासँग सल्लाह लिन्छाैँ। धेरैतिर बुझ्छाैँ। तर खानेुकुरामा चाहिं त्यति ध्यान दिँदैनाैँ। छनाेट गरेर किन्दैनौँ।

जमघट, नाचगान, खानपान र रमाइलो गर्नुपर्छ तर स्वास्थकाे विचार गरेर। एक दुर्इ दिनकाे खानपान र रमाइलाेले जीवनभरकाे खुशी नछिनाेस् भन्ने कुरामा ध्यान दिनुपर्छ।

अाफ्नाे  स्वास्थ्यअवस्था अनुसारकाे खाना खाऔँ। दशैँलार्इ रमाइलो र स्वस्थ बनाऔँ।

शुभकामना!

थप समाचार

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा