‘निरोगी हुने तरिका सिक्नुपर्छ, रोगको उपचार गर्ने होइन’

‘निरोगी हुने तरिका सिक्नुपर्छ, रोगको उपचार गर्ने होइन’

पछिल्लो समय अस्पतालहरूमा बिरामीको चाप अत्यधिक बढेको छ। जुन अस्पतालमा गए पनि बिरामीको भिडभाड कम छैन। त्यसो त बिरामीहरू पहिलेको तुलनामा केही सचेत भएका छन् र स्वास्थ्य सेवाको पहुँच पनि धेरैतिर पुग्न थालेको छ।
परिणामस्वरुप संख्या बढेको अनुमान लगाउन सकिन्छ। तर हामी कहाँ आफ्नो स्वास्थ्यका लागि समय निकाल्ने फुर्सद निकाल्नेहरू निकै कम छन्।  हाम्रो खानपान र वातावरणको कारण पनि दिनप्रतिदिन रोग बढिरहेको छ। निरोगी कसरी रहने भन्ने कुराको बहस नै हुँदैन। समस्या यहीँनेर छ।  रोग लागिसकेपछि लाखौँ खर्च गरेर उपचार गर्नुको सट्टा कम्तीमा मेरो स्वास्थ्य कस्तो छ ?  म कत्तिको स्वस्थ छु ? भन्ने कुरा आफैँले विचार गरेर नियमित जाँच गराउने हो भने यति धेरै दुःख नै हुँदैन। अब हामीले निरोगी हुने तरिका सिक्नुपर्छ, रोगको उपचार गर्ने होइन। रोगी हुनबाट कसरी बच्ने, निरोगी कसरी रहने, बहस गर्न जरुरी छ।

स्कुलदेखि नै निरोगी कसरी हुने भन्ने कुरा गर्न थालियो भने यस्ता कुरा सिकाइए मानिस सानैबाट स्वास्थ्यप्रति सचेत हुन थाल्छ। कस्ता खानेकुराले हाम्रो स्वास्थ्यमा हानि गर्छन् भन्न्ने कुरा बुझे बच्चाहरू खानामा सचेत हुन्छन्। हामी खानेकुरामा उदार छौँ। झोल पदार्थ (मादक पदार्थ) त झन् छोड्दै नछाड्ने। पहिले अभावले रोग बढ्थ्यो भने अहिले खाना नजानेर वा खानाको मोहमा परेका कारण रोग बढिरहेका छन्।

मैले कस्तो खाना खानुपर्छ भन्ने कुरा आफ्नो चिकित्सकलाई सोध्न सकिन्छ। तौल, उचाइ अनुसार कस्तो र कति मात्रामा खाने भन्ने सल्लाह चिकित्सकसँग लिए कडा रोग लाग्नबाट बेलैमा बच्न सकिन्छ।आफ्नो स्वास्थ्यका लागि बजेटको पनि ‘प्लान’ गर्नपर्छ। अहिले केही कुरा चाहिँ हुन थालेको छ। तर यत्तिले पुग्दैन। समाज परिवार देशले नै यसबारे सोच्नपर्छ योजना बनाउनुपर्छ। कम्तीमा सामान्य जाँच वर्षमा एकपटक गर्ने त्यसका लािग केही बजेट छुट्याएर राख्दा पैसा, समय र दुःख सबै कम हुन्छ।

हामीमध्ये कति जना परिवारमा आ–आफ्नो स्वास्थ्यका बारेमा कुरा गर्छौँ ?  कसैले पनि गर्दैनौँ होला ?  आफ्नो लागि समय नै छैन। पैसा नै कमाए पनि त्यो रोगकाे उपचारमा जान्छ।  व्यक्तिले आफूबाट शुरु गर्ने हो भने परिवार, समाज हुँदै देशले नै यसबारे सोच्न बाध्य हुन्छ।  हुनेले अनेकथरी खाएर रोग बढाइरहेका छन् भने नहुनेले पाएको बेला एकैचोटी धेरै खाने बानीले पनि रोग बढिरहेको छ। वास्तवामा खाना नखाँदा जति रोग लाग्छ त्यो भन्दा बढी रोग खाना मिलाएर नखाँदा लाग्छ। व्यायाम गर्ने बानी त धेरै कमकोमात्र छ। जब समस्या हुन्छ तब मात्र व्यायाम गरौँला भन्नेहरू धेरै छन्।

मैले कस्तो खाना खानुपर्छ भन्ने कुरा आफ्नो चिकित्सकलाई सोध्न सकिन्छ। तौल, उचाइ अनुसार कस्तो र कति मात्रामा खाने भन्ने सल्लाह चिकित्सकसँग लिए कडा रोग लाग्नबाट बेलैमा बच्न सकिन्छ।आफ्नो स्वास्थ्यका लागि बजेटको पनि ‘प्लान’ गर्नपर्छ। अहिले केही कुरा चाहिँ हुन थालेको छ। तर यत्तिले पुग्दैन। समाज परिवार देशले नै यसबारे सोच्नपर्छ योजना बनाउनुपर्छ। कम्तीमा सामान्य जाँच वर्षमा एकपटक गर्ने त्यसका लागि केही बजेट छुट्याएर राख्दा पैसा, समय र दुःख सबै कम हुन्छ। त्यसैले सबैले आफ्नो स्वास्थ्यको बारेमा सोच्ने दिन आइसकेको छ।

यहाँ दीर्घरोगको बारेमा मात्र कुरा हुन्छ। त्यो पनि रोग लागिसकेपछि। उपचारमा मात्र फोकस छ। रोकथाममा छैन। सरकारले सँधै पैसा तिर्न सक्दैन। कहिलेसम्म्म दिने ?  कतिलाई दिने ? यो राज्यको ठूलो ‘बर्डन’ बन्न पुग्छ।

उपाय के त ?

बच्चासँग खेल्ने। पविारसँग घुलमिल हुने। प्राकृतिक वातावरणमा रमाउने सोसल मिडियामा धेरै नभुलेर परिवारसँग कुरा गर्ने। यस्ता काम गर्दा सुखी भइन्छ। तनावमुक्त भइन्छ। तनाव नहुँदा पनि धेरै रोग पर भाग्छन्। पैसा मात्र सुख हैन।यसको पछि अन्धाधुन्ध लाग्दा भविष्यमा यसले ठूलो समस्या निम्त्याउँछ। त्यसैले समयमा खाने, समयमै सुत्ने बानी बसाल्नुपर्छ।  परिवारसँग बिहानसँगै बसेर चिया खाअाैँ।  कुरा गराैँ।  कम्तीमा वर्षमा एकपटक शरीरको सामान्य जाँच गर्ने गर्नुस्। त्यसका लागि केही बजेट छुट्याएर राख्दा पैसा, समय र दुःख सबै कम हुन्छ।

अाफ्नो ख्याल आफैँले गर्ने हो, अरुले गरिदेलान् भनेर भर नपरौँ।   त्यसैले सबैले आफ्नो स्वास्थ्यको बारेमा सोच्ने दिन आइसकेको छ।

  • डा. ज्योति भट्टराई

    हर्मोन रोग विशेषज्ञ डा.भट्टराई मेट्रो काठमाडौं अस्पतालमा कार्यरत छिन्।