Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

तौल घटाउन मात्र होइन्, स्वस्थ रहन पनि ‘इन्टरमिटेन्ट फास्टिङ’ (भिडियोसहित)

तौल घटाउन मात्र होइन्, स्वस्थ रहन पनि ‘इन्टरमिटेन्ट फास्टिङ’ (भिडियोसहित)

 हेल्थ टिभी अनलाइन : आजभोलि मोटोपन अर्थात शरीरको तौल घटाउनका लागि धेरैले विभिन्न खालका डाइटकोबारेमा जानकारी लिने र विभिन्न खानपान विधिहरु अपनाउने चलन बढ्दो छ । त्यहीमध्ये अहिले धेरैले इन्टरमिटेन्ट फास्टिङ गरेको पाइन्छ । इन्टरमिटेन्ट फास्टिङ के हो र यसका के कस्ता फाइदा छन् भन्ने विषयमा आरुस लाइफस्टाइल अस्पतालका फिजिसियन डा सन्तोष शाक्यसँग हेल्थ टिभी अनलाइनले कुराकानी गरेको छ। सोही भिडियो कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छ

इन्टरमिटेन्ट फास्टिङ भनेको कस्तो फास्टिङ हो ?

इन्टरमिटेन्ट फास्टिङ भनेको कुनै पनि व्यक्तिले आफूलाई स्वस्थ र स्फूर्त राख्नका लागि गर्ने एक किसिमको खानपानको रुटिन हो । यो भनेको एउटा निश्चित तोकिएको समयमा खाने र एउटा समय नखाने हो । इन्टरमिटेन्ट फास्टिङ धेरै किसिमका भए पनि अहिले खासगरी दुई प्रकारको इन्टरमिटेन्ट फास्टिङ धेरै प्रचलनमा रहेको पाइन्छ । पहिलो प्रकार भनेको १६ : ८ अथवा १८ : ६ र अर्को ५ : २ । यसमा व्यक्तिको तौल, शारीरिक बनोट, उचाई हेरेर कस्तो खालको इन्टरमिटेन्ट फास्टिङ ठीक हुन्छ डाइटिसियन वा विशेषज्ञ डाक्टरले तय गर्छन । १६ : ८ भनेको १६ घण्टा खाना नखाने र ८ घण्टा मात्रै खाने । त्यसैगरी यदि १८ : ६ अपनाइएको छ भने १८ घण्टा खाना नखाने फास्ट गर्ने र ६ घण्टा खाने ।

उपवास बस्ने चलन पौराणिक परम्परादेखि चल्दै आएको हो। व्रत बस्दा स्वास्थ्यलाई फाइदा गर्छ भन्ने विज्ञानले पनि पुष्टि गरिसकेको छ। धार्मिक हिसाबले हेर्ने हो भने पनि विहारमा भिखुहरुले १२ बजेपछि शिरमाथि घाम आएपछि खाना खान हुँदैन भनेर खाने गर्दैनन्। उनीहरुले घाम शिरमा आएपछि नखाने र घाम अस्ताएपछि मात्र खाना खाने गर्छन । यो भनेको एक हिसाबको जानेर वा नजानेर गरिएको इन्टरमिटेन्ट फास्टिङ नै हो । जुन भगवान बुद्धको पालादेखि चल्दै आएको छ ।

अर्को प्रचलनमा रहेको फास्टिङ भनेको ५ : २ हो । यो भनेको ५ दिन खाने र २ दिन नखाने उपवास बस्ने । यो चलनलाई पनि हामीले हिन्दु संस्कारसँग जोडेर हेर्ने सक्छौं । हिन्दु संस्कृतिमा धेरै जना सोमबार, मंगलबार, आइतबार लगायतको व्रत बस्ने गरेको पाइन्छ । यो पनि एक किसिमको फास्टिङ नै हो जुन हजारौं वर्षदेखि चल्दै आएको छ । चलनचल्तीमा अहिले धेरै नै आएको भए पनि इन्टरमिटेन्ट फास्टिङ हाम्रा लागि नौलो भने होइन ।

के तौल घटाउन मात्र इन्टरमिटेन्ट फास्टिङ गर्ने हो ?

होइन । तौल घटाउन वा मोटोपना भएका व्यक्तिले मात्र इन्टरमिटेन्ट फास्टिङ गर्ने भन्ने होइन । यो हरेक वयस्क व्यक्तिले गर्न मिल्छ तर एकपटक आफनो डाइटिसियन वा विशेषज्ञ डाक्टरसँग सल्लाह लिएर मात्र गर्नुपर्ने हुन्छ । आफुखुशी भने फास्टिङ नगरेको राम्रो । अझ सबै स्वस्थ व्यक्तिले इन्टरमिटेन्ट फास्टिङ गरेमा मोटोपना हुनबाट जोगिन सकिन्छ भने शरीर सधैं स्वस्थ र स्फूर्त रहन पनि मद्दत गर्छ । यसले शरीरको तौल घट्नुका साथै फ्याटी लिभर, मधुमेह जस्ता समस्याको जोखिम पनि कम गर्छ। इन्टरमिटेन्ट फास्टिङले शरीरको तौल नियन्त्रणमा ल्याउन मद्दत गर्ने मात्र नभएर सम्पूर्ण स्वास्थ्यमा नै फाइदा गर्दछ।

इन्टरमिटेन्ट फास्टिङ कसले गर्न मिल्दैन ?

इन्टरमिटेन्ट फास्टिङ हामी १६ वर्ष मूनिका बच्चाहरुलाई नबस्न सल्लाह दिन्छौं । किनकी उनीहरुको हुर्कने समय भएकाले यस्तो फास्टिङले उनीहरुको स्वास्थ्यमा असर पर्न सक्छ । त्यसैगरी कुनै गम्भीर प्रकारका रोग छ र औषधिको सेवन गरिरहेको छ भने पनि यस्तो फास्टिङ नगर्न सल्लाह दिइन्छ । उच्च रक्तचापको समस्या भएका र रक्तचाप तल माथि भइरहेका व्यक्तिहरुलाई पनि इन्टरमिटेन्ट फास्टिङको सल्लाह दिइँदैन । तर यी सबै खालका समस्या विशषेज्ञ डाक्टरले तय गरेर सल्लाह दिन सक्छन् कस्तो खालको उपवास र खानपान गर्ने भन्ने । यसैगरी मधुमेह भएका व्यक्तिले पनि विशेषज्ञको सल्लाह बिना आफूखुसी पनि गर्न मिल्दैन।

इन्टरमिटेन्ट फास्टिङका फाइदाहरु के के हुन ?

मोटोपना घटाउन मात्र होइन शरीरलाई स्वस्थ राखी राख्न पनि इन्टरमिटेन्ट फास्टिङले फाइदा गर्छ । यसले शरीरको अनावशयक बोसो घटाएर शरीरलाई स्वस्थ र फूर्तिलो राख्न मद्दत गर्दै शरीरलाई विकारमुक्त बनाउँछ । साथै शरीर हल्का र छरितो भएको महशुस गराउँछ । यसरी गरिएको फास्टिङले शरीरको तौल त नियन्त्रणमा राख्छ नै । जसले गर्दा उच्च रक्तचाप र मधुमेह जस्तो रोग लाग्ने सम्भावना पनि कम हुन जान्छ ।  विशेषज्ञको सल्लाहमा गरिएको इन्टरमिटेन्ट फास्टिङले सुगरका बिरामीलाई पनि सहयोग हुन्छ । यस्तो फास्टिङले शरीरमा सुगरको मात्रा ठिक राख्न मद्दत गर्ने मात्र होइन औषधि समेत कम गर्न वा बन्द गर्न समेत मद्दत गर्छ ।

थप समाचार