Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘क्यान्सर उपचारमा अब हामी मोलिक्युलर अंकोलोजीमा जानुपर्छ’

‘क्यान्सर उपचारमा अब हामी मोलिक्युलर अंकोलोजीमा जानुपर्छ’

हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर क्यान्सरका बिरामीको उपचारमा उत्कृष्ट सेन्टर मध्ये पर्छ । नेपालीको क्यान्सर नेपालमा नै भन्ने नाराका साथ सुरु भएको यस अस्पतालले हजारौं क्यासर बिरामीको उपचार मात्र गरेको छैन् क्यान्सरबारे जनचेतना जगाउन पनि त्यत्तिकै काम गरिरहेको छ । अहिले विश्वमा क्यान्सर निदान र उपचारमा प्रयोगमा आएका नयाँ प्रविधि समेत यस अस्पतालमा प्रयोग भइरहेका छन् । क्यान्सर उपचारमा नयाँ औषधि तथा प्रविधि र चुनौतीकाबारेमा अस्पतालका अध्यक्ष एवम वरिष्ठ मेडिकल अंकोलोजिस्ट डा सुदीप श्रेष्ठसँग हेल्थ टिभी अनलाइनले गरेको कुराकानी :

क्यान्सरको उपचारमा अहिले हामी कहाँ छौं ?

हेर्नुस,  हामीले यो ८ \१० वर्षमा क्यान्सर उपचारमा निकै सफलता प्राप्त गरेका छौं । बिरामीमा क्यान्सर हुँदैमा मृत्यु भइहाल्छ भन्ने कुराको भ्रमलाइै धेरै हदसम्म हटाउन सफल पनि भएका छौं । तर अझै पनि यत्तिले पुग्दैन जस्तो लाग्छ । विश्वमा कस्ता कस्ता प्रविधि भित्रिसकेका छन् तिनीहरुका बारेमा हामी पनि अपडेट हुन जरुरी छ । आजभन्दा दुई दशकअघि नेपालमा क्यान्सरको उपचार निकै झन्झटिलो र सबैको पहुँचमा थिएन। क्यान्सरको निदान र उपचार गर्ने स्वास्थ्य संस्थाहरु निकै कम थिए। क्यान्सरको सामान्य उपचार गर्न पनि भारत या अन्य बाहिरी देश जानुपर्ने बाध्यता थियो। त्यो बाध्यता चाहिं अहिले हटेको छ । तर योसँगै क्यान्सर उपचारका नयाँ नयाँ प्रविधि सम्पूर्ण रुपमा भने नेपाल भित्राउन सकेका छैनौं ।

क्यान्सरको उपचारमा अहिले कस्ता कस्ता औषधि र प्रविधि प्रयोग भइरहेका छन् ?

क्यान्सरको उपचारमा विश्वमा नयाँ नयाँ प्रविधि आइरहेका छन्। यो यस्तो क्षेत्र हो जहाँ ६ महिना एक वर्षमै नयाँ औषधि आइसकेको हुन्छ । अहिले त निकै एडभान्स प्रविधि आइसकेको छ । हामी चाहिं यसमा निकै पछि छौं । पहिले पहिले एकै खालको क्यान्सरका बिरामीका लागि एउटै खालको उपचार गर्ने गरिन्थ्यो । जस्तो फोक्सोको क्यान्सर भएका दुई बिरामी भएमा उनीहरुको उपचार उस्तै हुने गर्दथ्यो । तर अहिले अवस्था त्यस्तो छैन् । अहिले व्यक्तिको जीन परीक्षण गरेर उसलाई कस्तो खालको क्यान्सर कुन सेलमा हो भनेर पत्ता लगाएर त्यही अनुसार सोही व्यक्तिका लागि मात्र औषधि बनाउने गरिन्छ । यसलाई हामी पर्सोनलाइज्ड थेरापी वा मेडिसिन भन्ने गर्छौ । यो मोलिक्युलर अंकोलोजीभित्र पर्छ । विकसित देशहरुले मोलिक्युलर अंकोलोजीलाई स्थापित गरिरहेका छन्।

एउटै खालको क्यान्सर भए पनि कसैको ए सेलमा खराबी हुनसक्छ भने कसैको बी सेलमा । त्यो मोलिक्यलुर ल्याबमा पत्ता लगाएर त्यही अनुसार उपचार गरिन्छ । यसले सफलता रेट निकै राम्रो हुन्छ । यो प्रविधि विकसित देशहरुमा सुरु भइसकेको छ । त्यसैगरी इम्युनोथेरापी, टारगेटेड थेरापी दिने गरिन्छ । जसले गर्दा जुन सेलमा क्यान्सर भएको हो त्यो मात्रै नस्ट हुन्छ । पहिले क्यान्सर भएको भाग र वरिपरीको भाग समेत नष्ट गर्नुपर्ने बाध्यता थियो । यस्ता खालका प्रविधि हामीले पनि हाम्रो अस्पतालमा प्रयोग गर्दै त आएका छौं । तर हामीले मात्र गरेर पुग्दैन । यसमा सरकारले नै तयारी र सहयोग गर्नुपर्छ र स्पष्ट नीति ल्याउनुपर्छ ।

यहाँहरुले क्यान्सर उपचारमा कस्ता खालका समस्या भोगिरहनु भएको छ ? 

यहाँलाई थाहा नै छ क्यान्सरको उपचार यसै पनि लामो समयसम्म गर्नुपर्ने र केही महंगो पनि पक्कै छ । यसमा सरकारले खासै चासो नदिंदा हामी जस्ता क्यान्सरको क्षेत्रमा काम गर्नेलाई निकै समस्या छ । हामीले उपचार सुरु गरे पनि यी नयाँ प्रविधि महंगा छन्। यसलाई सहज र सस्तो बनाउने काम नीति नै बनाएर सरकारले गर्नु पर्छ । हामीले उपचार गछौं भनेर मात्र हुँदैन बिरामीले धान्न पनि सक्नुपर्छ । सबैको पहुँचमा नभएको सेवाले खासै अर्थ राख्दैन । सरकारले क्यान्सरको औषधि भित्राउन छुट वा सहुलियत केही दिएको छैन् । जसले गर्दा औषधि र प्रविधि महंगा छन्। जसले गर्दा सबैभन्दा बढी मारमा बिरामी पर्ने गर्छन । अर्को कुरा बजारमा नयाँ नयाँ औषधि आइसकेको हुन्छ । सरकारले नेपालमा सो औषधि ल्याउने अनुमति दिने काममा ढिलाई गरिदिंदा अर्को औषधि आइसकेको हुन्छ । सहज रुपमा बजारमा औषधि नपाउँदा बिरामी मारमा पर्ने त भए नै विचौलियाको चंगुलमा पर्ने सम्भावना पनि त्यत्तिकै हुन्छ । यसमा सरकार गम्भीर भएको देखिंदैन ।

यहाँले मोलिक्युलर अंकोलोजीको कुरा गर्नुभयो, केहो यो ?

मोलिक्युलर अंकोलोजी भनेको कुनै पनि बिरामीको ‘जिनोमिक’ आधारमा उपचार गर्ने प्रविधि हो । जुन हरेक बिरामीकाे लागि फरक  फरक हुन्छ ।  यो विधिबाट उपचार गर्दा निकै छिटो रिजल्ट आउने र सफलता रेट पनि बढी हुने गर्छ । यो प्रविधि विश्वमै निकै छिटो फैलिरहेको छ र सफल पनि भइरहेको छ । तर नेपालमा भने यसले खासै गति लिन सकेको छैन् । जसले गर्दा क्यान्सरको ९० प्रतिशत स्याम्पल देशबाहिर जाने गरेको छ । यसको मुख्य समस्या भनेको नेपालमा आफ्नै मोलिक्युलर अंकोलोजी डायग्नोष्टिक ल्याब छैन्। अब चाहिं नेपालमै यस्तो ल्याब हुनुपर्छ भन्ने हाम्रो भनाई हो । जसले गर्दा नेपालमै कस्तो क्यान्सर हो ? के कारणले समस्या भयो ? सबै पत्ता लाग्छ । तर यसबारे राष्ट्रिय नीति नै छैन्। जसले गर्दा प्रत्येक वर्ष हजारौं स्याम्पल बाहिर जान्छन्। जसको रेकर्ड नै हुँदैन नेपालमा । यसरी हजारौं स्याम्पल बाहिर जानु भनेको नेपालको अरबौं रकम देशबाहिर जानु हो भने हाम्रा प्रविधिकले यसबारे ज्ञान लिन नपाउने अवस्था हो । यसरी स्याम्पल बाहिर जाँदा नेपालीहरुको सम्पूर्ण डाटा बाहिर गइरहेको छ । स्याम्पल बाहिर पठाउँदा त्यसको गुण्स्तरमा त प्रश्न आउँछ नै रिपोर्ट ढिला आउँदा यता बिराीमीको उपचारमा पनि ढिलाई भइरहेको हुन्छ ।

यहाँहरुको अबको योजना के छ ?

मेरो अबको योजना भनेको नेपालमै सम्पूर्ण क्यान्सरको निदान र उपचारका लागी मोलिक्युलर डायग्नोष्टिक ल्याब खोल्ने हो । साथै यहीं नै डाक्टरलाई तालिम दिने तथा रिसर्च गर्ने हो । ताकी नेपालीको जीन अनुसार उनीहरुका लागि औषधि बनाउन सकियोस । अहिले त हामी अरु व्यक्ति अनुसार बनेका औषधि प्रयोग गरिरहेका छौं । साथै डाक्टर, विद्यार्थी तथा क्लिनिसियनलाई तालिम दिने यसबारेमा । यसमा देशबाहिर बसेर काम गरिरहेका विज्ञलाई समावेश गर्न सकिन्छ । । मैले तीन साताअघि सिगापुरमा भएको क्यान्सर सम्मेलनमा यसबारेमा धेरै कुरा सिक्न पाउने अवसर पनि पाएँ । त्यहा मैले अब हामी पनि नेपालमा मोलिक्युलर अंकोलोजीका बारेमा काम गछौं भनेर आएको छु । धेरै विज्ञहरुसँग छलफल र अन्तक्रिया गरें । उनीहरु सहयोग गर्न तयार छन्। अबको हाम्रो यात्रा नेपालमा मोलिक्युलर अंकोलोजीलाई स्थापित गर्ने हो । त्यसका लागि सबैको सहयोगको अपेक्षा गरेको छु ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार