‘क्यान्सर उपचारमा अब हामी मोलिक्युलर अंकोलोजीमा जानुपर्छ’
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर क्यान्सरका बिरामीको उपचारमा उत्कृष्ट सेन्टर मध्ये पर्छ । नेपालीको क्यान्सर नेपालमा नै भन्ने नाराका साथ सुरु भएको यस अस्पतालले हजारौं क्यासर बिरामीको उपचार मात्र गरेको छैन् क्यान्सरबारे जनचेतना जगाउन पनि त्यत्तिकै काम गरिरहेको छ । अहिले विश्वमा क्यान्सर निदान र उपचारमा प्रयोगमा आएका नयाँ प्रविधि समेत यस अस्पतालमा प्रयोग भइरहेका छन् । क्यान्सर उपचारमा नयाँ औषधि तथा प्रविधि र चुनौतीकाबारेमा अस्पतालका अध्यक्ष एवम वरिष्ठ मेडिकल अंकोलोजिस्ट डा सुदीप श्रेष्ठसँग हेल्थ टिभी अनलाइनले गरेको कुराकानी :
क्यान्सरको उपचारमा अहिले हामी कहाँ छौं ?
हेर्नुस, हामीले यो ८ \१० वर्षमा क्यान्सर उपचारमा निकै सफलता प्राप्त गरेका छौं । बिरामीमा क्यान्सर हुँदैमा मृत्यु भइहाल्छ भन्ने कुराको भ्रमलाइै धेरै हदसम्म हटाउन सफल पनि भएका छौं । तर अझै पनि यत्तिले पुग्दैन जस्तो लाग्छ । विश्वमा कस्ता कस्ता प्रविधि भित्रिसकेका छन् तिनीहरुका बारेमा हामी पनि अपडेट हुन जरुरी छ । आजभन्दा दुई दशकअघि नेपालमा क्यान्सरको उपचार निकै झन्झटिलो र सबैको पहुँचमा थिएन। क्यान्सरको निदान र उपचार गर्ने स्वास्थ्य संस्थाहरु निकै कम थिए। क्यान्सरको सामान्य उपचार गर्न पनि भारत या अन्य बाहिरी देश जानुपर्ने बाध्यता थियो। त्यो बाध्यता चाहिं अहिले हटेको छ । तर योसँगै क्यान्सर उपचारका नयाँ नयाँ प्रविधि सम्पूर्ण रुपमा भने नेपाल भित्राउन सकेका छैनौं ।
क्यान्सरको उपचारमा अहिले कस्ता कस्ता औषधि र प्रविधि प्रयोग भइरहेका छन् ?
क्यान्सरको उपचारमा विश्वमा नयाँ नयाँ प्रविधि आइरहेका छन्। यो यस्तो क्षेत्र हो जहाँ ६ महिना एक वर्षमै नयाँ औषधि आइसकेको हुन्छ । अहिले त निकै एडभान्स प्रविधि आइसकेको छ । हामी चाहिं यसमा निकै पछि छौं । पहिले पहिले एकै खालको क्यान्सरका बिरामीका लागि एउटै खालको उपचार गर्ने गरिन्थ्यो । जस्तो फोक्सोको क्यान्सर भएका दुई बिरामी भएमा उनीहरुको उपचार उस्तै हुने गर्दथ्यो । तर अहिले अवस्था त्यस्तो छैन् । अहिले व्यक्तिको जीन परीक्षण गरेर उसलाई कस्तो खालको क्यान्सर कुन सेलमा हो भनेर पत्ता लगाएर त्यही अनुसार सोही व्यक्तिका लागि मात्र औषधि बनाउने गरिन्छ । यसलाई हामी पर्सोनलाइज्ड थेरापी वा मेडिसिन भन्ने गर्छौ । यो मोलिक्युलर अंकोलोजीभित्र पर्छ । विकसित देशहरुले मोलिक्युलर अंकोलोजीलाई स्थापित गरिरहेका छन्।
एउटै खालको क्यान्सर भए पनि कसैको ए सेलमा खराबी हुनसक्छ भने कसैको बी सेलमा । त्यो मोलिक्यलुर ल्याबमा पत्ता लगाएर त्यही अनुसार उपचार गरिन्छ । यसले सफलता रेट निकै राम्रो हुन्छ । यो प्रविधि विकसित देशहरुमा सुरु भइसकेको छ । त्यसैगरी इम्युनोथेरापी, टारगेटेड थेरापी दिने गरिन्छ । जसले गर्दा जुन सेलमा क्यान्सर भएको हो त्यो मात्रै नस्ट हुन्छ । पहिले क्यान्सर भएको भाग र वरिपरीको भाग समेत नष्ट गर्नुपर्ने बाध्यता थियो । यस्ता खालका प्रविधि हामीले पनि हाम्रो अस्पतालमा प्रयोग गर्दै त आएका छौं । तर हामीले मात्र गरेर पुग्दैन । यसमा सरकारले नै तयारी र सहयोग गर्नुपर्छ र स्पष्ट नीति ल्याउनुपर्छ ।
यहाँहरुले क्यान्सर उपचारमा कस्ता खालका समस्या भोगिरहनु भएको छ ?
यहाँलाई थाहा नै छ क्यान्सरको उपचार यसै पनि लामो समयसम्म गर्नुपर्ने र केही महंगो पनि पक्कै छ । यसमा सरकारले खासै चासो नदिंदा हामी जस्ता क्यान्सरको क्षेत्रमा काम गर्नेलाई निकै समस्या छ । हामीले उपचार सुरु गरे पनि यी नयाँ प्रविधि महंगा छन्। यसलाई सहज र सस्तो बनाउने काम नीति नै बनाएर सरकारले गर्नु पर्छ । हामीले उपचार गछौं भनेर मात्र हुँदैन बिरामीले धान्न पनि सक्नुपर्छ । सबैको पहुँचमा नभएको सेवाले खासै अर्थ राख्दैन । सरकारले क्यान्सरको औषधि भित्राउन छुट वा सहुलियत केही दिएको छैन् । जसले गर्दा औषधि र प्रविधि महंगा छन्। जसले गर्दा सबैभन्दा बढी मारमा बिरामी पर्ने गर्छन । अर्को कुरा बजारमा नयाँ नयाँ औषधि आइसकेको हुन्छ । सरकारले नेपालमा सो औषधि ल्याउने अनुमति दिने काममा ढिलाई गरिदिंदा अर्को औषधि आइसकेको हुन्छ । सहज रुपमा बजारमा औषधि नपाउँदा बिरामी मारमा पर्ने त भए नै विचौलियाको चंगुलमा पर्ने सम्भावना पनि त्यत्तिकै हुन्छ । यसमा सरकार गम्भीर भएको देखिंदैन ।
यहाँले मोलिक्युलर अंकोलोजीको कुरा गर्नुभयो, केहो यो ?
मोलिक्युलर अंकोलोजी भनेको कुनै पनि बिरामीको ‘जिनोमिक’ आधारमा उपचार गर्ने प्रविधि हो । जुन हरेक बिरामीकाे लागि फरक फरक हुन्छ । यो विधिबाट उपचार गर्दा निकै छिटो रिजल्ट आउने र सफलता रेट पनि बढी हुने गर्छ । यो प्रविधि विश्वमै निकै छिटो फैलिरहेको छ र सफल पनि भइरहेको छ । तर नेपालमा भने यसले खासै गति लिन सकेको छैन् । जसले गर्दा क्यान्सरको ९० प्रतिशत स्याम्पल देशबाहिर जाने गरेको छ । यसको मुख्य समस्या भनेको नेपालमा आफ्नै मोलिक्युलर अंकोलोजी डायग्नोष्टिक ल्याब छैन्। अब चाहिं नेपालमै यस्तो ल्याब हुनुपर्छ भन्ने हाम्रो भनाई हो । जसले गर्दा नेपालमै कस्तो क्यान्सर हो ? के कारणले समस्या भयो ? सबै पत्ता लाग्छ । तर यसबारे राष्ट्रिय नीति नै छैन्। जसले गर्दा प्रत्येक वर्ष हजारौं स्याम्पल बाहिर जान्छन्। जसको रेकर्ड नै हुँदैन नेपालमा । यसरी हजारौं स्याम्पल बाहिर जानु भनेको नेपालको अरबौं रकम देशबाहिर जानु हो भने हाम्रा प्रविधिकले यसबारे ज्ञान लिन नपाउने अवस्था हो । यसरी स्याम्पल बाहिर जाँदा नेपालीहरुको सम्पूर्ण डाटा बाहिर गइरहेको छ । स्याम्पल बाहिर पठाउँदा त्यसको गुण्स्तरमा त प्रश्न आउँछ नै रिपोर्ट ढिला आउँदा यता बिराीमीको उपचारमा पनि ढिलाई भइरहेको हुन्छ ।
यहाँहरुको अबको योजना के छ ?
मेरो अबको योजना भनेको नेपालमै सम्पूर्ण क्यान्सरको निदान र उपचारका लागी मोलिक्युलर डायग्नोष्टिक ल्याब खोल्ने हो । साथै यहीं नै डाक्टरलाई तालिम दिने तथा रिसर्च गर्ने हो । ताकी नेपालीको जीन अनुसार उनीहरुका लागि औषधि बनाउन सकियोस । अहिले त हामी अरु व्यक्ति अनुसार बनेका औषधि प्रयोग गरिरहेका छौं । साथै डाक्टर, विद्यार्थी तथा क्लिनिसियनलाई तालिम दिने यसबारेमा । यसमा देशबाहिर बसेर काम गरिरहेका विज्ञलाई समावेश गर्न सकिन्छ । । मैले तीन साताअघि सिगापुरमा भएको क्यान्सर सम्मेलनमा यसबारेमा धेरै कुरा सिक्न पाउने अवसर पनि पाएँ । त्यहा मैले अब हामी पनि नेपालमा मोलिक्युलर अंकोलोजीका बारेमा काम गछौं भनेर आएको छु । धेरै विज्ञहरुसँग छलफल र अन्तक्रिया गरें । उनीहरु सहयोग गर्न तयार छन्। अबको हाम्रो यात्रा नेपालमा मोलिक्युलर अंकोलोजीलाई स्थापित गर्ने हो । त्यसका लागि सबैको सहयोगको अपेक्षा गरेको छु ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य