के हाे ‘बोन डेन्सिटोमेट्री एक्सरे ? जानीराखाैं

के हाे ‘बोन डेन्सिटोमेट्री एक्सरे ? जानीराखाैं

हड्डीमा भएको खराबी निर्क्योल मापदण्डका लागि प्रयोग गरिने प्रविधि हो, ‘बोन डेन्सिटोमेट्री एक्सरे।’ बोन डेन्सिटोमेट्रीले हड्डीमा खनिज सामग्रीलाई ग्राम प्रति सतह इकाइमा मापन गर्छ।

मानिसमा जन्मेदेखि २५ वर्षको उमेरभित्र हड्डीमा खनिज घनत्व बढ्दै जान्छ। साथै ३० देखि ३५ वर्षको उमेरसम्म यो अवस्था स्थिर रहन्छ र बिस्तारै यसको मात्रा कम हुँदै जान्छ। तसर्थ हड्डीमा खनिज घनत्वको मापन गर्न जरुरी हुन्छ। यो जाँच गर्ने धेरै तरिका छन्। यसमध्ये ‘डेक्सा स्क्यान’ सबैभन्दा सरल तरिका हो। यो स्क्यानमा एक्सरेको सहायताबाट हड्डीको एउटा खण्डमा कति क्याल्सियम र मिनरल छ र हड्डीको घनत्त्व कम छ या छैन भनेर थाहा पाउन सकिन्छ। हड्डीको घनत्त्व कम भयो भने बिरामीलाई विभिन्न खाले रोगको जोखिम बढी हुन्छ यस बारेमा हामीले यो परीक्षणबाट जान्न सक्छौँ।

ओस्टियोपोरोसिसले महिलाहरूलाई रजस्वला रोकिएपछि अर्थात् रजोवृत्तिपछिको समयमा अधिक सताउँछ। तर कहिलेकाहीँ यो समस्या महिलामा मात्र नभएर पुरुषहरुमा पनि देखिन सक्छ। यसकै कारण बारम्बार हड्डी भाँचिने समस्या देखिन सक्छ । हड्डी स्वस्थ भए नभएको थाहा नहुँदा बिरामीले अनेकौं समस्या झेलिरहेका हुन्छन्।

ओस्टियोपोरोसिसको निदान गर्न र यसकोे उपचारलाई अनुगमन गर्न पनि यो स्क्यान गरिन्छ। यो परीक्षण गर्नुअघि कुनै तयारी गर्नुपर्ने आवश्यक हुँदैन तर बिरामीले परीक्षण गर्नुभन्दा केही दिनअघि मात्र सिटीस्क्यान अथवा एमआरआई गराएको छ, जसमा अन्तरविरोध दिइएको छ भने त्यो अन्तरविरोध बोन डेन्सिटोमेट्रीको परिणामसँग हस्तक्षेप गर्न सक्छ। त्यसैले कुनै बिरामीमा यस्तो परीक्षण केही समयका लागि स्थगन गर्नुपर्छ।

यो परीक्षणको नतिजा टी र जेड गरी दुई स्कोरको माध्यमबाट प्राप्त गरिन्छ। टी स्कोरमा बिरामीको हड्डीको घनत्त्वलाई एउटा सामान्य स्तरको हड्डीको घनत्वसँग तुलना गरिन्छ। यदि टी स्कोर–१ या त्यो भन्दा अधिक भयो भने त्यसलाई सामान्य भनिन्छ। स्कोर –१ र –२।५ को बिचमा भयो भने बिरामीलाई ओस्टियोपेनिया हुन सक्छ। यदि –२।५ भन्दा कम भयो भने ओस्टियोपोरोसिस हुन सक्छ। त्यसैगरी जेड स्कोरबाट हामीले एक अपेक्षा गरिएको साधारण हड्डीको घनत्त्वको माथि र तल कति मानक विचलन छ भने कुराको जानकारी पाउन सक्छौँ।

महिलाको हकमा ५५ वर्षको उमेर पुगेपछि र पुरुषको हकमा ६५ वर्ष पूरा भइसकेको अवस्थामा बोनडेन्सिटोमेट्री एक्सरे गर्न जरुरी हुन्छ । यो उमेरमा बढी हड्डी खिंइँदै जाने हुँदा अनेकौँ समस्या आउन सक्छन र समयमै निदान नभए यसले बिरामीलाई अपांग समेत बनाउन सक्छ ।
त्यसो त हाडजोर्नीको जटिल समस्या देखिएमा जुनसुकै उमेर र समयमा गर्न यो एक्सरे गर्न सकिन्छ । मानव शरीरमा विभिन्न पोषक तत्त्वको कमीले गर्दा विशेषगरी पाको उमेरमा सामान्य अवस्थामा पनि हड्डी भाँचिने सक्ने खतरा हुन्छ। यस्तो खतरा न्युनीकरणका लागि विभिन्न सावधानी अपनाउन सकिन्छ।

यसका साथै हड्डीमा आउन सक्ने जोखिमबाट बच्न उमेर ढल्किँदै गएपछि बानडेन्सिटोमेट्री एक्सरे गरेर हड्डीमा आएको खराबी निर्क्योल गरी उपचारका लागि कदम चाल्न सकिन्छ। यसले शुरुमा नै समस्या निदान गर्ने भएकाले धेरै क्षति हुनबाट जोगाउन सकिन्छ। यसरी प्रविधिको उपयोगबाट पाको उमेरमा समेत सामान्य जीवन व्यतित गर्न मद्दत पुग्छ।

मेट्रो काठमाडौं अस्पतालमा कार्यरत डा.श्वेता अग्रवालसँग कुराकानीमा आधारित