छाला प्रत्यारोपण पोलेका बिरामीलाई वरदान

छाला प्रत्यारोपण पोलेका बिरामीलाई वरदान

गर्मीयाममा देशका विभिन्न भागमा आगलागीका घटना घट्ने गर्छन् जसका कारण जलेर मानिसको मृत्युसम्म हुन्छ । मृत्यु नै नभए पनि धेरै मानिस आगोको चपेटामा परेर विभिन्न अंगसमेत गुमाउन पुग्छन् । कतिको भित्री अंगमा असर नपुगे पनि छाला जल्न पुग्छ ।

छाला एकदमै संवेदनशील अंग हो र यसलाई सुन्दरताको प्रतीकको रूपमा समेत लिइन्छ । नेपाल सरकारको तथ्याङ्कअनुसार बर्सेनि पाँच हजार ६०० मानिस आगोले पोलेर अस्पताल पुग्ने गर्छन् । आगोले पोलेर गम्भीर अवस्थामा पुग्दा पनि अस्पताल नगई धामी झाँक्रीकहाँ उपचार गराउने वा बेवास्ता गरी अपांग भएर बाँचिरहेका अझ धेरै हुनसक्ने अनुमान छ ।

छाला प्रत्यारोपण के हो ?

आगोले जलेर हानि गरेको छ भने त्यस्तो जलेको भागमा छाला प्रत्यारोपण गर्न सकिन्छ भन्ने धेरैलाई जानकारी नहुन सक्छ । काठमाडौंको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालले लामो समयदेखि छाला प्रत्यारोपण सेवा दिँदै आएको छ । सतही पोलाइ आफैँ निको हुने भए पनि गहिरो गरी पोलेको भए शल्यक्रियाद्वारा जलेको छाला निकाली त्यो भागमा बिरामीको आफ्नै शरीरको अर्को भागबाट छाला निकालेर प्रत्यारोपण गर्न सकिन्छ । यसो नगरिए संक्रमण भई बिरामीको मृत्यु पनि हुन सक्छ ।

शरीरको चालिस प्रतिशत भन्दा धेरै भाग जलेको छ भने बिरामीको शरीरको छालाले जलेको भागलाई पुर्न नपुग्ने हुन्छ । यस्तो अवस्थामा आफन्तले छाला दान गरेमा बिरामीलाई बचाउन सकिन्छ । नेपालको कानुनअनुसार बिरामीको नातेदारबाट मात्र छाला लिन सकिन्छ । तर ज्युँदो मानिसको शरीरबाट छाला निकाल्दा भएको घाउ पाक्ने, पोल्ने, क्यान्सरसम्म भई ज्यानै जानसक्ने खतरा पनि हुन्छ । आगोले पोलेको बिरामीको ज्यान बचाउन अरु केही विकल्प नभेटिएको अवस्थामा मात्र आफन्तबाट छाला लिन उपयुक्त मानिन्छ ।

शरीरको एक तिहाइभन्दा बढी भाग गहिरो पोलेमा बिरामीको आफ्नो छालाले पोलेको भागलाई छोप्न पुग्दैन । यस्तो अवस्थामा अर्को व्यक्तिको छाला प्रत्यारोपण गर्नु सबैभन्दा उत्तम उपाय हो । त्यसैले छाला पोलेको मानिसको जीवन रक्षाका लागि छाला दान गर्न आवश्यक हुन्छ । आँखा दान गरेजस्तै कुनै पनि व्यक्तिको मृत्यु पछिको ६ घण्टाभित्र वा शव फ्रिजमा राखेको अवस्थामा चौबीस घण्टाभित्र छाला दान गर्न सकिन्छ । छालालाई विभिन्न जाँचपछि औषधिमा राखेर न्युन तापक्रममा पाँच वर्षसम्म भण्डारण गरेर राख्न पनि सकिने चिकित्सकहरू बताउँछन् ।

पोलेकोे घाउमा आवश्यकताअनुसार छाला प्रत्यारोपण गरी बिरामीको जीवन बचाउन सकिन्छ । यसरी दान गरिएको छाला अरुलाई दिन मिल्ने मात्र होइन अरुले दान गरेको छालाले हाम्रो पनि ज्यान जोगाउन सक्छ ।
कस्तो व्यक्तिले छाला दान गर्न मिल्दैन ?

–१६ वर्ष मुनिका बालबालिका ।
–एचआईभी एड्स र हेपाटाइटिस बी, सी भएका ।
–छालाको रोग भएका बिरामी ।
–कुनै पनि संक्रमण भएर मृत्यु भएको ।
–कमलपित्त भएर मृत्यु भएको ।

शरीरको कुन भागबाट छाला दान गर्न सकिन्छ ?

दाता र दाताका परिवारको सहमतिअनुुसार छाला निकालिन्छ । नेपालमा अहिलेसम्म करिब दुई सय जनाले आफ्नो छाला दान गरेका छन् । एक जनाले मात्र त्यसरी दान गरिएको छाला लिएका छन् ।
सामान्यतयः दुवै तिघ्रा, पिँडुला र ढाडबाट छाला दान गर्न सकिन्छ । आलुको बोक्रा जत्तिकै पातलो छाला निकालिने र रक्तश्राव नहुने हुँदा यसबाट कुरुपता हुँदैन । छाला निकालेपछि घाउमा पट्टी लगाइन्छ । छाला दान गर्नका लागि सम्पर्क गरिएको अस्पतालको टोली घरमै आई छाला निकाल्छ । छाला निकाल्ने प्रक्रिया करिब ४५ मिनेट जतिको हुन्छ ।
मानिसको मृत्युपछि परिवारले अस्पताललाई सम्पर्क गरेको खण्डमा मृत शरीरबाट छाला निकाली सञ्चय गर्न सकिन्छ । तर हाल नेपालमा आगोले पोलेको बिरामीको चापले गर्दा सञ्चय गरेर राख्ने अवस्था नरहेको डाक्टर शंकरमान राईले बताए । नेपालभरि नै विभिन्न अस्पतालमा छाला प्रत्यारोपण गरिने भए पनि धेरैजसो अस्पतालमा पर्याप्त उपकरण र पूर्वाधार अभावमा बिरामीले सेवा लिन सकेका छैनन् ।
कीर्तिपुर अस्पतालमा छाला प्रत्यारोपण सेवा सञ्चालन गर्दै आएको फेक्ट नेपालको रिसर्च इन्टरनेसनल सर्जिकल आउटरिच कार्यक्रमले सन् २००४ देखि बर्र्सेेनि पोलेर अपांग भएका ६ सय भन्दा बढीको शल्यक्रिया गरेर पुनः सबलांग बनाई समाजमा पुनःस्थापना गर्दै आएको छ । आगोले पोलेको तत्काल उपचारका लागि सन् २०१३ देखि ५० शय्याको नेपाल क्लेफ्ट एण्ड बर्न सेन्टर सञ्चालनमा ल्याइएको छ । सेन्टरमा अहिलेसम्म १४ जनाले छाला दान गरिसकेका छन् ।

हेल्थ टिभी अनलाइन संवाददाता बालुराम जोशीले : प्रा.डा. शंकरमान राईसँग गरेको कुराकानीमा आधारित ।