१० वर्षमा मिर्गौला उपचारको क्षेत्रमा गर्व गर्नसक्ने गरी विकास भएको छ
केन्द्रमा मात्र हाेइन, अब स्थानीय तहमा पुगेर उपचार गर्नुपर्छ
लामाे प्रयासपछि नेपालमा २००८ अगस्ट ८ अर्थात् २०६५ साउन २४ गते दिन पहिलाेपटक त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण भयाे। नेपालमा मिर्गौला प्रत्यारोपणकाे सूत्रधार हुन्, प्रा.डा. दिव्यासिंह शाह। उनै डा.शाहसँग नेपालमा मिर्गाैला प्रत्यारोपणकाे अवस्था, चुनाैतीलगायत विषयमा हेल्थ टिभी अनलाइनकी कल्पना आचार्यले गरेकाे कुराकानी–
मिर्गौलाको उपचार क्षेत्रमा हामी कहाँ छौँ?
नेपालमा पछिल्लो समय मिर्गौलाको उपचारमा हामी निकै अघि बढेका छौँ। १० वर्षअघिकै कुरा गर्ने हो भने पनि हामीसँग ‘डाइलाइसिस’ निकै थोरै सेन्टरमा मात्र सीमित थियो। प्रत्यारोपण गर्न लाखौँ खर्च गरेर भारत लगायत अन्य देशमा जानुपर्ने बाध्यता थियो। त्यसबेला झञ्झटिलो र महंगो उपचार भएकै कारण ५० प्रतिशत बिरामीले मात्र डाइलाइसिस गराउँथे। अन्य बिरामी त एक महिना दुई महिना डाइलाइसिस गरेपछि ‘घर जान्छौँ’ भन्थे। त्यसरी गएको केही समयमै उनीहरूको मृत्यु हुन्थ्यो।
जब सन् २००८ मा नेपालमा मिर्गौला प्रत्यारोपण सफल भयो। त्यसपछि भने बिरामीले ठूलो राहत महसुस गरे। त्रिवि शिक्षण अस्पतालमा शुरु भएको केही महिनामै वीर अस्पतालमा पनि शुरु भयो। अहिले त चार वटा सेन्टरले नियमित प्रत्यारोपण गरिरहेका छन्। पहिले डाइलाइसिसका लागि काठमाडौं आउनुपर्ने बाध्यता थियो। अहिले त्यो पनि हटेको छ। डाइलाइसिस राजधानी बाहिर थुप्रै सेन्टरमा भइरहेको छ।
नयाँ नयाँ प्रविधि पनि भित्रिएका छन्। योसँगै महत्त्वपूर्ण कुरा सरकारले डाइलाइसिस र प्रत्यारोपण निःशुल्क गरको छ। यसले मिर्गौला रोग लागेर खर्च धान्न नसकेर ज्यानै गुमाउन बाध्य बिरामीलाई ठूलो राहत मिलेको छ। यो सरकारको ठूलै कदम हो। धेरै विकसित देशमा पनि यस्तो सुविधा छैन। यसरी यो १० वर्षलाई हेर्दा मिर्गौला उपचारको क्षेत्रमा हामीले गर्व गर्नसक्नेगरी विकास भएको छ।
मिर्गौलाको उपचारमा अबको चुनौती के देख्नुहुन्छ?
हामीले प्रत्यारोपण त शुरु गर्यौँ। तर चुनौती अझै पनि धेरै छन्। सेवा अझै पनि शहरकेन्द्रित छ । दूरदराजका बिरामीलाई स्थानीय तहमा गएर सेवा दिन सकेका छैनौँँ। एउटा बिरामी शहरसम्म आएर त्यहीँ बसेर डाइलाइसिस गराउँदा धेरै खर्च लाग्छ। त्यहीँ खर्च पनि गर्न नसकेर डाइलाइसिस गर्न नआउने बिरामी पनि छन्। उनीहरूलाई सेवामा ल्याउने चुनौती छ।
त्यसैले सातवटा प्रदेशमा एक एक वटा सेन्टर बनाउन सके त्यहीँ नजिकै डाइलाइसिस गराउन सक्छन्।
अर्को, प्रत्यारोपणको कुरा गर्दा आफन्तले मात्र मिर्गौला दिन मिल्छ। मिर्गौला फेल हुने सबैका दिने आफन्त नहुन सक्छन्। यस्तो अवस्थामा उनीहरू प्रत्यारोपणबाट वञ्चित हुन्छन्। महुमेह भएका आमा बाबु बुढाबुढी भएकाहरू मिर्गौला दिन ‘फिट’ हुँदाहुँदै पनि प्रत्यारोपण गराउन पाएका छैनन्। यस्तो अवस्थाका बिरामी अर्को बाटो रोजेर अर्को देश गएर प्रत्यारोपण गराइरहेका छन्। उनीहरूलाई रोक्न जरुरी छ।
यसैगरी ‘ब्रेन डेथ’ पछिका बिरामीको मिर्गौला वा अन्य अंग लिएर प्रत्यारोपण गराउन सकिने कानुन पनि आइसकेको छ। यसलाई सामाजिक अभियानकै रूपमा अघि सार्नुपर्छ। यसलाई पारदर्शी बनाउन पनि जरुरी छ। अंगदान गरेको अंग सही मान्छेले पाउँछ भन्ने विश्वास दिलाउन सके मात्र यसको प्रभावकारिता बढ्छ। यसतर्फ पनि हामी लाग्नुपर्छ।
मिर्गौला रोगबाट बचाउन चेतना दिने कार्यक्रम गर्न जरुरी छ। रोकथाममा जोड दिनुपर्छ। अहिले सरकारले उपचारमा जति खर्च गरेको छ। यसको एक प्रतिशत बजेट जनचेतनामा छुट्याउन सके राेकथामका लागि निकै प्रभावकारी हुनसक्छ।
हाल शिक्षण अस्पतालमा मिर्गौलाको उपचारमा के के सेवा उपलब्ध छन्?
नेपालमा मिर्गौला प्रत्यारोपण यहीँबाट शुरु भएको हो। त्यस यता लगातार प्रत्यारोपण गरिरहेका छौँ। पहिलोपटक ‘प्लाज्मा फिरोसिस’ भन्ने सेवा यही बाट शुरु गरेको हो। यो भनेको विशेष प्रकारको ‘एन्टी बडी’ निकाल्ने हो। यसैगरी बच्चााहरूमा भर्खरै जन्मेका बच्चाको प्रत्यारोपण पनि शुरु गर्यौँ। संक्रमण भएका एचआईभी, हेपाटाइसिस बी र सी भएका बिरामीको प्रत्यारोपण गर्ने यो एक मात्र सेन्टर हो।
पहिले रक्त समूह नमिलेका बिरामीको प्रत्यारोपण हुँदैनथ्यो। तर हाल रक्तसमूह नमिलेका बिरामीको पनि प्रत्यारोपण गरिरहेका छौँ। ११ जना यस्ता बिरामीको प्रत्यारोपण गरिसकेका छौँ। सरसर्ती भन्नुपर्दा मिर्गौला उपचारको सम्पूर्ण सेवा यो अस्पतालमा उपलब्ध छन्।
मिर्गौला विशेषज्ञ बन्नका लागि पढाइ नेपालमै उपलब्ध छ?
नेपालमै विशेषज्ञहरू उत्पादन भइरहेका छन्। मेरो पालामा यहाँ पढाइ हुँदैनथ्यो। म आफू अष्ट्रेलियामा गएर पढेर आएँ। यहाँ भएको भए म यहीँ पढ्थेँ। अन्य क्षेत्रमा चाहिएमा अब पठाउन सक्ने भएका छौँ। हाम्रै कलेजबाट मात्र सात जना विशेषज्ञ उत्पादन भइसकेका छन्। उनीहरू विभिन्न अस्पतालमा कार्यरत छन्। मिर्गौला रोग विशेषज्ञदेखि शल्य चिकित्सकसम्म यही उत्पादन हुन्छन्।
मिर्गौला कसरी बिग्रिने रहेछ?
मिर्गौला बिग्रनुका तीन प्रमुख कारण छन्। पहिलो पिसाबमा प्रोटिन जानु। दोस्रो मधुमेह, यसले सिधै मिर्गौलामा असर गर्छ। समृद्धि बढ्दै जाँदा यो रोग पनि बढेको छ। यसलाई समयमै पहिचान गरी सन्तुलनमा राख्नुपर्छ।
अर्को हो उच्च रक्तचाप। रक्तचापले पनि मिर्गौला बिगार्न मद्दत गर्छ यसमा औषधि खान आनाकानी गर्छन्। यसले गर्दा रोग ‘कन्ट्रोल’ हुँदैन। यी तीनवटा रोगलाई कन्ट्रोलमा राख्न जरुरी छ। योसँगै वंशाणुगत रोगले पनि मिर्गौला रोग लाग्नसक्ने सम्भावना पनि छ।
मिर्गौला रोगबाट बच्न के गर्न सल्लाह दिनुहुन्छ?
पहिलो कुरा त यो रोगमा लक्षण नदेखिन पनि सक्छ त्यसैले कम्तीमा वर्षको एकपटक मिर्गौला जँचाउने गर्नुस्। मधुमेह, उच्च रक्तचाप भएका व्यक्ति सतर्क रहनुस्। परिवारमा कसैलाई मिर्गौला सम्बन्धी रोग छ अलि बढी सजग हुनुस्। समयमै पत्ता लाग्यो भने मिर्गौलाको ९० प्रतिशत रोग ठिक पार्न सकिन्छ।
त्यसैले समय समयमा पिसाबमा प्रोटिन र रगतमा क्रियाटिन जाँच गराउनुस्ँ र रोग लाग्नबाट बच्नुस्। स्वस्थ जीवनशैली अपनाउन कहिल्यै नभुल्नुस्।
याे पनि पढ्नुहाेस्
‘१० वर्षअघि मिर्गौला प्रत्यारोपण गर्न सक्छौँ भन्दा धेरैले पत्याएनन्’ : प्रा.डा.शाह
भारतमा क्यान्सरको नक्कली औषधिको बिगबिगी, नेपाली बिरामी पनि ठगिंदै
नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्वारा अवार्डका लागि दरखास्त आव्हान
मौसमी रूघाखोकी र ज्वरोको घरेलु उपचार
मुटु उपचारमा पनि गति लिंदै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौं शिखर सम्मेलन चैत २८ देखि