हाडजोर्नी र नसाकाे बिरामीका लागि रामबाण अकुपंचर : अकुपन्चरिस्ट सुर्दशन बस्नेत

हाडजोर्नी र नसाकाे बिरामीका लागि रामबाण अकुपंचर : अकुपन्चरिस्ट सुर्दशन बस्नेत

के हो अकुपंचर उपचार पद्धति ?

चीनमा परम्परागत र प्रचलित धेरै उपचार विधिमध्ये अत्यन्त प्रभावकारी मानिन्छ, अकुपंचर । ल्याटिन शब्द ‘अकर’ र ‘पंचरा’ बाट विकसित भई अकुपंचर भएको हो । अकर को अर्थ सानो र पंचरा को अर्थ छेदन हुन्छ । पाँच हजार वर्षअघि यसको विकास भएको मनिन्छ । यो उपचार विधिबाट मानव शरीरका विभिन्न अंगका छालामा रहने अत्यन्त सुक्ष्म प्वालहरुमा सुई घोचेर बिरामीको उपचार गरिन्छ ।

अकुपंचरको विकासक्रम  

चीनमा सदियौंदेखि प्रयोग हुँदै आएको अकुपंचर उपचार पद्धतिबारे सन् १९७० को दशकमा अमेरिकी पत्रकार जेम्स रेस्टनले दि न्युयोर्क टाइम्समा लेख लेखेपछि यसले विश्वभर परिचय पायो । सन् २००३ मा विश्व स्वास्थ्य संगठनले अकुपंचर उपचार पद्धतिका विषयमा रिपोर्ट प्रकाशन गरी यसको लक्षण र सेवन गर्नुपर्ने औषधिको सूची प्रकाशन गर्याे । यसका आधारमा यो उपचार विधिमार्फत राहत पाउन सकिने धारणाहरु स्थापना हुँदै गए । विश्व स्वास्थ्य संगठनले पनि करिब २५० प्रकारका बिरामीका लागि अकुपंचर अत्यन्त उपयोगी रहेको ठहर गरेको छ ।

कसरी गरिन्छ उपचार ?

अधिकांश आधुनिक चिकित्सा पद्धतिमा ‘डिस्पेन्जेबल स्टेनलेस स्टिल’ सुई उपयोग गरी जीवाणुरहित ढंगबाट उपचार गरिन्छ । यस्ता सुईहरु ‘हाइपोडर्मिक इन्जेक्सनको व्यास आकारको तुलनामा अत्यन्त छोटो हुन्छ । त्यसकारण दुखाइ अत्यन्त कम महसुस हुन्छ । यस्ता सुईमा इन्जेक्सन प्रयोजनका लागि भित्री भाग खाली हुँदैन । यी सुईहरुको बाहिरी भाग एक प्रकारको तार वा प्लास्टिकले बेरिएको हुन्छ जसले सुईलाई ठोस बनाउँछ र सुई घोच्दा सजिलो बनाउँछ । यसरी प्रयोग गरिने सुईको आकार प्रकार र घोचाइको गहिराइ अपनाइने अकुपंचर शैलीमा निर्भर हुन्छ । यो उपचार पद्धतिमा सामान्य रूपमा पच्चीस मिनेटदेखि एक घण्टाका दरले सातदेखि १० दिन लाग्छ । तर बिरामीको अवस्था हेरेर कति दिन वा कति महिना उपचार गर्ने भन्ने निर्क्याेल गरिन्छ ।

कस्ता बिरामीका लागि प्रभावकारी ?

विशेषगरी नसर्ने रोग र हाडजोर्नी वा नसाका बिरामीलगायत अरु विभिन्न किसिमका रोगीका लागि अत्यन्त उपयोगी मानिन्छ यो उपचार पद्धति । अकुपंचर कुनै पनि दुखाइबाट राहत पाउन वा चिकित्सकीय प्रयाजनका लागि शरीरका कुनै पनि बिन्दुमा सुईको घोचाइका माध्यमबाट उपचार गरिने अत्यन्त प्रभावकारी विधि हो । विश्वभर अकुपंचर उपचार विधिका विभिन्न स्वरूपको प्रयोग गरिँदै आएको छ । साथै यसको विकासका लागि विभिन्न ठाउँमा प्रशिक्षण समेत दिइन्छ।

२० औं शताब्दीको अन्त्यतिर यो उपचार विधि अनुसन्धानको विषय मानिन्थ्यो । तर परम्परागत चिकित्साशास्त्रका शोधकर्ता र अकुपंचर उपचार पद्धति प्रयोगकर्ताबीच विवाद रहँदै आएको छ । अकुपंचरको आक्रामक प्रकृतिका कारण यसमा वैज्ञानिक अध्ययन लागु गर्न समस्या आउँछ ।

अकुपंचरकाे ‘साइड इफेक्ट’

अकुपंचर उपचार विधिका कुनै ‘साइड इफेक्ट’ हुँदैनन् तर केही जटिलता उत्पन्न हुनसक्छ । कम अनुभव भएको डाक्टरले उपचार गर्दा वा कहिलेकाहीँ मानवीय कमजोरीका कारण जटिलता आउन सक्छ । डाक्टरको अल्पज्ञानका कारण उपचार गर्दा बिरामी डरले मुर्छा पर्ने, प्रयोग भएका सुईहरु शरीरमै छुट्ने, रगत बग्ने र संक्रमण हुने खालका समस्या आउन सक्छ ।

नेपालमा अकुपंचरको शुरुवात र विकास

वि.सं. २०२८ सालमा कोदारी राजमार्ग बनाउने क्रममा चीनबाट आएका मजदुरहरुको उपचारका लागि चीनबाट नै यो पद्धति नेपालमा भित्रिएको हो । त्यसबेला गरिएको उपचार सफल भएको महसुस भएपछि नेपाल सरकारले २०३४ सालमा केहीलाई चीनमा अकुपंचर अध्ययनका लागि पठायो । पहिलोपटक डाक्टर स्वर्गीय राममान तृसितले यो उपचार पद्धति अध्ययन गरेर नेपाल आएको बताइन्छ । त्यसपछि डाक्टर होमराज बज्राचार्य लगायत विभिन्न अरु डाक्टरले पनि चीन पुगेर अकुपंचर पढे । त्यसपछि नेपालमा पनि यो उपचार विधि फैलियो ।

नेपालमा हालसम्म करिब ६० वटा अस्पतालबाट अकुपंचर उपचार सेवा उपलब्ध हुन्छ । अन्य उपचार पद्धतिकाे तुलनामा अत्यन्त सस्तो रहेकाले पनि नेपालमा अकुपंचर आर्कषण बढिरहेको पाइएको छ ।

अकुपन्चरिस्ट सुर्दशन बस्नेतसँगको कुराकानिमा आधारित ।