जडिबुटी चिन्ने र स्वास्थ्यप्रति सचेत बन्ने दिन

जडिबुटी चिन्ने र स्वास्थ्यप्रति सचेत बन्ने दिन

साउन १ अर्थात् साउने संक्रान्ति। यो पर्वको साँस्कृतिक, सामाजिक महत्त्व त छँदैछ, स्वस्थ रहन अाम मानिसलार्इ सचेतना फैलाउन पनि यसको महत्त्व छ।

यो दिन घरघरमा लुतो फ्याँक्ने काम गरिन्छ। नीम, कुरिलो, पानीसरो, तितेपाती आदि वनस्पति जम्मा पारी बलिरहेको बत्ती वा अगुल्टाे चारै दिशामा मिल्काउनुलाई लुतो फ्याँकेको भनिन्छ। त्यसो गर्दा चर्मरोग नलाग्ने जनविश्वास रहेको छ। अन्धविश्वास मात्र हाेइन।

नेपाल  कृषिप्रधान देश हाे। असारमा अधिकांश मानिस खेतीपातीमा व्यस्त हुन्छन्। अधिकांश समय हिलोमा रहनुपर्दा आँखाले देखिने नदेखिने किराले छालामा विभिन्न समस्या निम्त्याउँछ। विशेषगरी लुतोलगायतका समस्याले सताउँछ।

खेतबारीमा काम गर्ने क्रममा सरसफाइमा ध्यान नपुग्दा यस्ता समस्या अाउँछन्। सार्काेटिप्स स्क्याबीनामक सूक्ष्म जीवाणुबाट लुतो सर्छ। यसकाे उपचार हाम्रै घरअाँगन, वनजंगललगायतमा पाइने जडिबुटीबाट गर्न सकिन्छ। लुतोको आधुनिक उपचारपद्धति र औषधी धेरै भए पनि आयुर्वेदिक औषधी नै उपयुक्त हुने देखिएको छ।

चर्मराेगमा गाउँघरमा सहजै पाइने निमका विरुवा प्रयाेग गर्न सकिन्छ। निमका साथै शुद्व बेसार पनि  प्रयोग गर्न सकिन्छ। घ्युकुमारीको प्रयोगले पनि धेरै चर्मरोग निको पार्न सकिन्छ।

साउने संक्रान्तिमा यस्ता वनस्पति जम्मा गर्ने मात्र हाेइन प्रयाेग गरेर लाभ लिनु पनि भनेकाे हाे। अहिलेचाँहि यी वनस्पति शरीरमा छुवाएर मात्र बाहिर फ्याँक्ने चलन छ।

दियाे वा अगुल्टो बालेर घुमाउनुको अर्थ किराफट्यांग्रा धपाउनु  हाे। तितेपातीलगायत वनस्पतिलार्इ सुकाएर बाल्दा बर्खायाममा आउने लामखुट्टेजस्ता किराहरू निर्मूल हुन्छन्। त्यसैले हाम्रा खेतबारीमा भएका जडिबुटी चिन्न, तिनकाे महत्त्व बुझेर लाभ लिन तथा स्वास्थ्यप्रति सचेत बन्न याे पर्वकाे विशेष महत्त्व छ।

अायुर्वेदका जानकार डा. सम्माेद अाचार्यसँग अायुषा अर्यालले गरेकाे कुराकानीमा अाधारित।