हेल्थ टिभी अनलाइन : कोभिड-१९ को महामारीले यतिबेला विश्व नै आक्रान्त भैरहेको अवस्थामा नेपाल पनि यो समस्याबाट अछुतो छैन्। पहिलो केसबाट दोश्रो केससम्म पुग्दा झन्डै दुई महिनाको समय लागे पनि त्यस उपरान्त संक्रमित पत्ता लगाउने रफ्तारमा निकै नै वृद्धि भएको छ । यो लेख तयार पार्दासम्म नेपालमा ६८२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
सार्स कोभ–२ भाइरसका कारणले हुने कोभिड- १९ एक व्यक्तिबाट अर्को व्यक्तिमा ड्रप्लेट अर्थात श्वासप्रश्वासबाट निस्किने मसिना थुकका छिटा तथा एक आपसमा हुने भौतिक संसर्गको माध्यमबाट सर्दछ। त्यसैले पनि कोरोना नियन्त्रणका लागि भौतिक दूरी कायम गर्न जोड दिइएको हो । तर रोग अन्य व्यक्ति र समूदयामा फैलिन नदिन एउटा बिस्तृत रणनीति चाहिन्छ जसले संक्रमितको पहिचान, आईसोलेसन, परीक्षण अनि उपचार ,कन्ट्याक्ट ट्रेसिंग र क्वारेन्टिनसम्मको व्यवस्था गरोस्।
के हो त कन्ट्याक्ट ट्रेसिंग ?
यो यस्तो प्रकृया हो जसले कोभिड -१९ संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरु पहिचान गरी उनीहरुको मुल्यांकन तथा उचित व्यवस्थापन गरेर रोगलाई थप फैलनबाट रोक्छ । यो प्रकृयाले संक्रमणको स्रोत पनि पत्ता लगाउन मद्दत गर्छ। जनस्वास्थ्य विधाको यो अचुक अस्त्रलाई सही तरीकाले प्रयोग गर्न सके यो कोभिड- १९ मात्रै होइन जुनसुकै संक्रामक रोगको महामारीलाई रोक्न सहायक सिद्ध हुन सक्छ। हाल सबै भन्दा समस्याको बिषय नै यहि बनेको छ। आफ्नो इलाकामा कुनै पनि संक्रमित फेला परेमा त्यस क्षेत्रमा बसोबास गर्ने सबैलाई नै कन्ट्याक्ट मानेर ल्याबको परीक्षणको माग गरिन्छ जुन बिल्कुलै तर्कसंगत हुँदैन। संक्रमित व्यक्तिको कन्ट्याक्ट हुनलाई निम्न अवस्थाहरु हुनु पर्दछ :
– पहिलो, संक्रमित व्यक्तिसंग १ मिटरभन्दा कमको दूरीमा कम्तिमा पनि १५ मिनेट बिताएको हुनु पर्दछ ।
– दोस्रो, संक्रमित व्यक्तिसंग प्रत्यक्ष भौतिक सम्पर्क भएको हुनु पर्दछ ।
– तेस्रो, कुनै पनि व्यक्तिगत सुरक्षाको सामाग्रीको प्रयोग नगरी संक्रमित बिरामीको स्याहार गरेको हुनु पर्दछ।
– चौंथो, कुनै स्वास्थ्य संस्थामा रहेको सार्बजनिक सवारीको साधन भित्र रहेको वा कुनै अन्य बन्द परिवेश जस्तै जेल, विद्यालयभित्र रहेको हुनुपर्दछ ।
माथि उल्लेखित अवस्थामा संक्रमित व्यक्तिसँग रहेका व्यक्तिहरुमात्रै कन्ट्याक्ट सम्पर्कको परिभाषा भित्र पर्दछन । परबाट देखेको, बाटो हिंड्दा हिंड्दै भेटेर अभिवादन गरेको ,संक्रमित बस्ने घरको छेउबाट हिड्नेहरु ,एकै घरको अलगअलग तल्लामा बस्ने व्यक्तिहरु,संक्रमित व्यक्तिलाई देखेरै मलाई पनि संक्रमण हुन सक्छ भनी सोच्ने व्यक्तिहरु कन्ट्याक्ट हुन सक्दैनन् । त्यसैले यस्ता भ्रमहरुबाट मुक्त हुनुपर्दछ। कन्ट्याक्ट ट्रेसिंगको माध्यमबाट नै संक्रमण समुदायमा फैलिएको छ कि छैन भनेर निधो गर्न सकिन्छ ।
जनस्वास्थ्य विधाको यो अचुक अस्त्रलाई सही तरीकाले प्रयोग गर्न सके यो कोभिड- १९ मात्रै होइन जुनसुकै संक्रामक रोगको महामारीलाई रोक्न सहायक सिद्ध हुन सक्छ। कसैलाई मन लागेको, डर लागेको वा पहुँचको भरमा ल्याब परीक्षण गरेर यसै कम भएको स्रोतको दुरुपयोग गर्नु गराउनु हुँदैन । ल्याबको परीक्षणलाई व्यवस्थित र समुचित बनाउन पनि कन्ट्याक्ट ट्रेसिंग अत्यन्त सहायक सिद्ध हुन सक्छ ।
कसलाई परीक्षण गर्ने ?
कसलाई परीक्षण गर्ने ? कस्तो परीक्षण ? कहिले गर्ने ? भन्ने बिषय अत्यन्त प्राबिधिक बिषय हो । प्रत्येक देशले यसका लागि मापदण्डहरु बनाएका छन्। मापदण्ड अनुसार कन्ट्याक्ट ट्रेसिंगको माध्यमबाट सिफारिस भएका सम्पर्कमा आएका व्यक्तिहरुको मात्रै ल्याबको परीक्षण हुनु पर्दछ । कसैलाई मन लागेको, डर लागेको वा पहुँचको भरमा ल्याब परीक्षण गरेर यसै कम भएको स्रोतको दुरुपयोग गर्नु गराउनु हुँदैन । ल्याबको परीक्षणलाई व्यवस्थित र समुचित बनाउन पनि कन्ट्याक्ट ट्रेसिंग अत्यन्त सहायक सिद्ध हुन सक्छ ।
कन्ट्याक्टहरुको (सम्पर्कमा आएका) क्वारेन्टिनमा व्यवस्थापन
संक्रमित व्यक्तिका कन्ट्याक्टहरुलाई अनिवार्य रुपमा अनुसासित भई क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउनु पर्दछ। देशले अवलम्बन गरेको नीति अनुरुप क्वारेन्टिन घरमै वा संस्थागत पनि हुन सक्दछ। क्वारेन्टिनमा बसेको बेला कन्ट्याक्टले आफ्नो स्वास्थ्यको बारेमा कसरी ख्याल गर्ने, कस्ता लक्षणहरु देखिएमा कसलाई सम्पर्क गर्ने, कस्ता नियमहरुको पालना गर्ने भन्ने कुराको राम्रोसँग परामर्श स्वास्थ्यकर्मीले गर्नु पर्छ । क्वारेन्टिन अवधिभर कन्ट्याक्टहरुको प्रत्यक्ष भेट, टेलिफोनको माध्यमबाट कम्तिमा १४ दिनसम्म नियमित फलोअप गर्ने व्यवस्था मिलाउनु पर्दछ । क्वारेन्टिन संचालन गर्ने निकायले नेपाल सरकारले निर्दिष्ट गरेको मापदण्ड अनिवार्य पालना गर्ने र नियमित अनुगमन गरेमा मात्रै कन्ट्याक्टहरु क्वारेन्टिनमा बस्ने कुराको सुनिस्चितता हुनुका साथै थप संक्रमणको जोखिम पनि कम हुन्छ ।
तथ्यांक संकलन तथा विश्लेषण
यो कन्ट्याक्ट ट्रेसिंगको सबैभन्दा महत्वपूर्ण कडी हो । कन्ट्याक्टहरुको दैनिक फलोअप, उनीहरुको स्वास्थ्य सम्बन्धी विवरण संकलन तथा सफ्टवेरमा इन्ट्री गरी तिनको दैनिक विश्लेषण गरी निस्कर्ष निकालेमा मात्रै यो महामारीको अवस्थाको बारेमा निर्क्योल गर्न सकिन्छ। संकलित तथ्यांकहरमा भएका व्यक्तिगत विवरणहरुको गोपनियता कायम राख्नु पनि उत्तिकै महत्वपुर्ण हुन्छ ।
किन चित्तबुझ्दो छैन् कोभिड- १९ को कन्ट्याक्ट ट्रेसिंग ?
यो अहिले निकै चर्चाको बिषय भएको छ। वास्तविकता स्वीकार्नु पर्छ, कन्ट्याक्ट ट्रेसिंग सोचे जस्तो हुन सकेको छैन्। पक्कै पनि यो धेरैको लागि नौलो बिषय हो तर कोरोना बिरुद्धको लडाईमा यसको विकल्प छैन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिका नै जारी गरेर यसको जिम्मेवार सबै पालिकहरुलाई नै बनाइ सक्यो। तर निर्देशिका जारी भएको २ हप्ता बितिसक्दा पनि तोकेको जनशक्ति समावेश गरेर कन्ट्याक्ट ट्रेसिंग टीमहरु उल्लासपूर्ण संख्यामा गठन हुन सकेको छैन्। तोकिएका जनशक्ति उपलब्ध गराउन सबै तहबाट पहल हुनु पर्दछ। अर्को विचारणीय तथ्य के हो भने कन्ट्याक्ट ट्रेसिंग एक्लो स्वास्थ्यको निकायले मात्र गरेर सम्भव छैन् यसमा समुदायका सबैको सहयोग आवस्यक पर्दछ । स्वास्थ्यको अगुवाइमा सामुदायिक संघ संस्थाहर, स्वयं सेवकहरु, शिक्षक तथा विद्यार्थीहरु आदिको सहयोग लिएमा यो कार्य निकै नै सहज हुन जान्छ ।
अन्त्यमा, संक्रमितसंग सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान, तिनको मुल्यांकन तथा उचित व्यवस्थापन गरेर रोगलाई थप फैलनबाट रोक्न जनस्वास्थ्य विधाको यो अचुक अस्त्रलाई सही तरीकाले प्रयोग गर्न सके कन्ट्याक्ट ट्रेसिंग कोभिड-१९ को मात्रै होइन जुनसुकै संक्रामक रोगको महामारीलाई रोक्न सहायक सिद्ध हुन सक्छ र यसलाई देशव्यापी रुपमा प्रयोगमा ल्याउन सके कोरोना बिरुद्धको युद्ध जित्न सकिन्छ ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा
अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइयो
गर्मीमा पुदिना खानुका फाइदा
माधवकुमार नेपालको मुटुमा समस्या आएपछि एन्जिओप्लास्टी गरियो