मुटुको बाथरोग र यसको निदान
हेल्थ टिभी अनलाइन : नेपालीमा बाथरोग भन्नाले शरीरका विभिन्न ठूला साना जोर्नीहरू सुन्निने र दुख्ने भन्ने बुझिन्छ। बाथरोग विभिन्न प्रकारको हुन्छ। जसमध्ये ‘रुमेटिक फिभर’ र ‘रुमेटिक’ मुटुको रोग एक हो। रुमेटिक ज्वरो भन्नाले ग्रुप ए स्ट्रेपटोकोकाई भन्ने जीवाणुबाट हुने रोग हो। यो खासगरी स्कुल जाने उमेरका केटाकेटीहरूमा हुन्छ। यो रोगले विशेषगरी हाम्रो शरीरको विभिन्न अंगहरू जस्तै हाडका जोर्नी, मुटु, दिमाग, छाला आदिमा असर गर्छ।
यो रोगको शुरुमा घाँटी दुख्ने, रुघा लागेको जस्तो हुन्छ। यसको केही समयपछि शरीरको अन्य भागलाई असर गर्छ। शुरुको अवस्थामा औषधि नगरेमा मुटुको भल्भहरू सुन्निने, खुम्चिने र फुक्ने आदि भई स्थायी मुटुको रोग हुन जान्छ, जसलाई ‘रुमेटिक हार्ट डिजिज’ भनिन्छ।
आर्थिक सम्पन्नता भएका देशहरूमा यो रोग लोप हुँदै गएको छ भने विकासोन्मुख देशहरूमा मुटुको रोगहरूमध्ये यो रोग अग्रपंक्तिमा पर्छ। निम्न जीवनस्तर, गरिबी नै यो रोगको प्रमुख कारण हो। भनिन्छ, यो रोगले बच्चाहरूको जोर्नीलाई चाट्छ र मुटुलाई टोक्छ। वयस्कहरूमा भने यसको उल्टो मुटुलाई चाट्छ र जोर्नीलाई टोक्छ। यसरी यो रोग लागेमा जीवन साह्रै दुःखदायी हुनपुग्छ। ४० वर्षमुनिका मुटुरोगीहरूमा मृत्युको प्रमुख कारण बनेको छ।
संसारका विभिन्न देशमा गरिएको सर्वेक्षणअनुसार यो रोगको औसत दर यस प्रकार रहेको छ– भारतको दिल्ली शहरका बच्चाहरूमा ६ जना प्रति हजार छ भने भारतकै लुधियानामा १० पाइएको छ। थाइल्याण्डको १५ वर्षमुनिका बच्चाहरू शहरी र ग्रामीण क्षेत्रमा १।२ र २।१ रहेको देखिन्छ। अफ्रिकी महादेशमा यो रोगको दर स्कुल जाने बच्चाहरूमा तीनदेखि १० प्रति हजार रहेको विभिन्न सर्वेक्षणले देखाएको छ।
काठमाडौं उपत्यकाको सुन्दरीजल र वरपर गरिएको सर्वेक्षणअनुसार स्कुल जाने पाँच वर्षदेखि १६ वर्षको जम्मा चार हजार ४५२ बच्चाहरूमध्ये ६ जनामा रुमेटिक हार्ट डिजिज पाइयो जसअनुसार यो रोग नेपालको स्कुल जाने बच्चाहरूमा १।३५ प्रति हजार पाइयो। यो रोगको लक्षणमा शुरुमा घाँटी दुख्ने र त्यसको दुई तीन सातापछि शरीरको जोर्नी दुख्ने र ज्वरो आउने हुन्छ। दिनभर ज्वरो आउने र कहिले घट्ने र कहिले बढ्ने हुनसक्छ र यस्तोृ ज्वरोको लक्षण केही सातादेखि केही महिनासम्म पनि रहनसक्छ।
जोर्नी दुख्ने, सुन्निने यो रोगको अर्को प्रमुख लक्षण हो। खासगरी ठूला जोर्नीहरू सुन्निने र दुख्ने गर्छ। अनि एउटा जोर्नी दुख्ने, सुन्निने अनि त्यो जोर्नी निको भएजस्तो हुने, तुरुन्तै अर्को जोर्नी दुख्ने हुन्छ। यो प्रक्रिया चारदेखि ६ सातासम्म हुन्छ।
यो रोगको अर्को लक्षण मुटुमा पर्ने असर हो। यो रोगले मुटुको मांसपेशी बाहिरको खोल सुन्निने, पानी जम्ने र मुटुको चाल गडबडी हुने, शरीरका विभिन्न भागमा छालामुनि डल्लाहरू आउने र छालामा नीला चक्काहरू देखिने पनि हुन्छ। यसरी मुटुका विभनन भागमा असर पर्न गई बिरामीको मृत्यु पनि हुनसक्छ। एकपटक रुमेटिक फिबर भएमा यो रोग दोहोरिने सम्भावना पहिलोपटक ५० प्रतिशत हुन जान्छ। निश्चय नै आम जनताको जीवनस्तर सुधार गर्नु नै यो रोगको रोगको नियन्त्रण गर्न, निदान गर्न र शुरुमै उपचार गरी यो रोगलाई साम्य गराउन लाभदायी हुन्छ भन्ने पुष्टि गरेको गरेको छ।
प्राथमिक रोकथाम
स्ट्रेपकोकल घाँटीको इन्फेक्सनलाई शुरुमै उपचार गरी रुमेटिक फिभर आउन नदिनुलाई भनिन्छ। स्ट्रपटोकाकल घाँटीको ईन्फेक्सनपछि रुमेटिक फिभर करिब तीन प्रतिशतलाई पाइएको छ। यदि शुरुमै घाँटी दुखेको अवस्थामै उपचार गरेमा तीनबाट ०।३ प्रतिशतसम्म यो रोगलाई घटाउन सकिन्छ भन्ने प्रमाणित भएको छ। यसरी कम खचिर्चलो पेनिसिलिन नामक औषधि १० दिनसम्म सेवन गर्नाले यो रोग पूरै निको हुन्छ।
द्वितीय रोकथाम
रुमेटिक प्रक्रियालाई रोकेर मुटुमा फैलन नदिई रुमेटिक मुटुरोगलाई अरु असर पनैबाट बचाउनुलाई भनिन्छ र यो हरेका तेस्रो हप्ता एकचोटि पेनसिलिन इन्जेक्सन दिँदा ज्यादै दुख्ने हुनाले बिरामीहरूले लिन छोड्ने देखिएको छ। यसैले सम्बन्धित चिकित्सक र शिक्षकहरूले यसको उपयोगिताबारे बिरामीहरूलाई बुझाउनुपर्छ। पेनिसिलिनको दुखाइ सहन नसक्ने वा एलर्जी भएकाहरूलाई अरु ट्याबलेट खुवाउनुपर्छ। यसरी शुरुको अवस्थामा औषधि उपचार र स्वास्थ्य चेतनाको कमीले गर्दा हरेक वर्ष हाम्रो देशमा यो रोगका रोगीहरूको संख्या बढ्दै गइरहेको छ।
यो रोगको निदान र उपचारका लागि मुटुको शल्यक्रिया पनि गराउनुपर्ने हुन्छ। कतिपय शल्यचिकित्सा वीर अस्पताल र शिक्षण अस्पतालमा र पछि शहीद गंगालाल मुटुरोग केन्द्र तथा नर्भिक अस्पतालमा उपलब्ध हुन सकेको थियो। मुटुको भल्भको मर्मत वा फेर्नकै लागि विदेश नै जानुपथ्र्यो जुन आम नेपालीको खल्तीले नधान्ने कुरा हो।
छिमेकी देश भारतमा पनि हृदयरोगसम्बन्धी शल्यचिकित्सा गर्ने केवल १० प्रतिशतले मात्र शल्यचिकित्सा गर्ने मौका पाएका छन्। यसरी यो रोग लागेका बिरामीले उपचार नपाउँदा अत्यन्त पीडा र कष्टदायी जीवन बिताउन बाध्य भइरहेका छन् र भाग्यलाई दोष दिई धिक्कारी अकालमै मृत्युको शिकार हुन पुगिरहेका छन्। विगत केही वर्षमा सरकारले मुटुको भल्भ फेर्ने अप्रेसनका लागि ठूलो रकम दिने गरेको छ।
यसैले यो रोगको रोकथामका लागि प्राथमिक तहमा हेल्थपोस्ट र स्कुलका शिक्षक शिक्षिकाहरूबीच समन्वय गराई घाँटीको इन्फेक्सनलाई शुरुमै पत्ता लगाई पेनसिलन वा इरिथ्रोमाइसिनबाट उपचार गरी रोक्न सकिन्छ। स्वास्थ्यकर्मी, शिक्षक, शिक्षिकाहरूबाट गाउँघरमा घाँटीको इन्फेक्सन र यसबाट हुनसक्ने मुटुको रोगबारे आवश्यक जानकारी गराई जनतामा चेतना दिने काम गर्न सक्दछन्।
‘डाक्टर साहेब भन्नुहुन्छ‘’ पुस्तकमा संग्रहित लेख :




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य