जाडाेमा झाडापखाला : बालबालिकाकाे ज्यानै जान सक्छ

झाडापखाला भन्नेबित्तिकै सामान्यतया गर्मीयाममा मात्र हुन्छ भन्ने आम बुझाइ छ। गर्मीमा पानी दूषित हुने र विभिन्न किटाणुले फैलाउने संक्रमणका कारण खाना संक्रमित हुने झाडापखालाको समस्या देखिन्छ।
गर्मीयाममा मानिसहरू झाडापखाला हुनसक्ने भन्दै सचेत हुने गरेको पाइन्छ। हातगोडाको सफाइ, घर वरपर सरसफाइदेखि खानेकुरामा समेत सचेत भएको पाइन्छ। तर जाडोमा भने सरसफाइ र खानपानमा त्यति ध्यान दिएको पाइन्न। ‘जाडोमा जे खाए पनि पच्छ। रोगका किटाणुहरूको संक्रमण हुँदैन’ भन्ने भ्रमका कारण यस्तो भएको हो। तर यो गलत हो। गर्मी महिनामा हामी जति सचेत हुन्छौँ त्यति नै सचेत जाडोमा पनि हुनुपर्छ, सरसफाइको सन्दर्भमा।
चिसोयाममा पनि झाडापखाला लाग्छ भन्ने सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ। चिसो मौसममा हुने भएकाले यसलाई ‘विन्टर डायरिया’ भनिन्छ। यो समयमा विशेषगरी पाँच वर्षमुनिका बालबालिकामा झाडापखालाको समस्या देखिन्छ। चिसोमा हुने पखाला ‘रोटा’ भाइरसका कारण हुन्छ।
समयमै उपचार नगर्दा यसका कारण बालबालिकाको मृत्यु हुन्छ। झाडापखालाबाट बच्न सर्वप्रथम सरसफाइमा ध्यान दिनुपर्छ। घरमा मात्र नभई स्कुल वा किण्डरगार्डेनबाट पनि यो बालबालिकालाई यो समस्या आउनसक्छ। मन्टेस्सरीमा बच्चाहरुको संख्या धेरै हुने भएकाले एकजनामा मात्रै पनि झाडापखाला हुँदा एकबाट अर्कोमा सर्ने सम्भावना हुन्छ। बालबालिकाले औँला र खेलौना मुखमा हालिराख्ने कारण यो सहजै सर्न सक्छ।
काठमाडौंलगायत शहरी क्षेत्रमा अस्पतालको पहुँच हुने भएकाले समस्या समाधान गर्न त्यति कठिनाइ हुँदैन। तर दुर्गम ठाउँ जहाँ स्वास्थ्य केन्द्र टाढा टाढा छन्, त्यस्ता ठाउँमा उपचारमा कठिनाइ हुन्छ। चिकित्सक र औषधि भनेको वेला नपाइने भएकाले बालबालिकाको ज्यानै जान सक्छ। त्यसैले यो समस्या न्यूनीकरण गर्न हरेक स्थानमा खोप पुर्याउन आवश्यक छ।
नेपालजस्ताे विकासोन्मुख देशमा यो समस्या चुनौतीको रूपमा देखा परेको छ। विकसित मुलुकमा यसको रोकथामका लागि रोटा भाइरसविरुद्ध खोप सञ्चालन गरिएको पाइन्छ। नेपालजस्ता विकासाेन्मुख देशमा भने याे सहज र सर्वसुलभ हुन सकेकाे छैन। चिसोमा बालबालिकालाई हुनसक्ने झाडापखाला र यसको कारक रोटा भाइरसबारे सबै जनचेतना फैलाउन आवश्यक छ। रोटा भाइरसको संक्रमण हुन नदिने मुख्य उपाय नै सरसफाइ हो। यसको खोप सर्वसुलभ बनाउन राज्य पनि लाग्नुपर्छ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा