चिसाेबाट यसरी जाेगाउनुस् शिशुलाई
चिसो बढेसँगै बालबालिका बिरामी हुने क्रम पनि बढ्छ । जाडो मौसममा बालबालिकालाई कसरी जोगाउने भन्ने विषयमा इशान बाल तथा महिला अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. सर्वेश कुमार दाससँग गरिएको कुराकानीको अंश:
मंसिर महिनाको उत्तरार्धतिर आइपुग्दा चिसो ह्वात्तै बढेको छ। अत्यधिक चिसो हुने पुस माघ त बाँकी नै छ। जाडोमा विशेषगरी नवजात शिशु र साना साना बालबालिकालाई जोगाउने चुनौती अभिभावकसामु हुन्छ। चिसोयाममा सानो हेलचेक्रयाइँका कारण बालबालिकाको स्वास्थ्यमा ठूलो समस्या आउनसक्छ। उनीहरूलाई न्यानो पार्ने प्रक्रिया नमिल्दा वा बेवास्ताका कारण उनीहरूको शरीरको तापक्रम न्यून हुन पुग्छ। चिसोका कारण उनीहरूलाई ‘हाइपोथर्मिया’ हुन सक्छ। हाइपोथर्मिया भयो भने बच्चाको शरीर छाम्दा चिसो महशुस हुन्छ।
शरीर अत्यधिक चिसो भएकै कारणले गर्दा बच्चाहरूमा इन्फेक्सनको समस्या देखिन्छ। रुघाखोकीदेखि निमोनिया, ब्रोन्काइटिसजस्ता जटिल समस्या आउन सक्छन्। यस्ता समस्याले बालबालिकालाई श्वास फेर्न गाह्रो हुन्छ। चिसोबाट जोगाउन नसक्दा उनीहरूको ओठ र हातगोडा निलो देखिन्छ। खाना खुवाउँदा खान नमान्ने र बान्ता गर्ने गर्छन्।
उपचार
सामान्यतया नवजात शिशुहरूको रोग पत्ता लगाउन कठिन हुन्छ, चिकित्सकहरूलाई। ठूला बच्चाहरूलाई अलि सहज हुन्छ। चिसोबाट उत्पन्न सामान्य समस्या भए ठूला बालबालिकालाई घरमै पनि औषधि दिएर उपचार गर्न सकिन्छ। शिशुमा त्यो सम्भव हुँदैन। अस्पताल नै लग्नुपर्छ। निमोनिया, सेप्सिस इन्फेक्सन र ब्रोन्काइटिसजस्ता समस्या देखिए उनीहरूलाई अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्छ।
जोगाउने उपाय
नवजात शिशु होस् या अलि ठूला बालबालिका उनीहरूलाई स्वास्थ्यसम्बन्धी समस्याबाट जोगाउने दायित्व र भूमिका आमाबुबाकै हुन्छ। चिसोको सन्दर्भमा पनि शिशुलाई समयमा दूध खुवाउने, सफा राख्ने, न्यानो कपडा लगाइदिने र कोठाको तापक्रम मिलाएर राख्ने जस्ता दायित्व अभिभावककै हुन्। तर न्यानो पार्ने नाममा शिशुलाई बढी कपडा लगाइदिँदा पसिना आउनसक्छ। पसिनाकै कारण चिसाे भएर निमोनिया हुने खतरातर्फ पनि ध्यान दिनुपर्छ।
अलि ठूला बच्चा भए समयमा पौष्टिक खानेकुरा खुवाउने, न्यानो कपडा लगाइदिने र बाहिर चिसोमा खेल्न नदिनेजस्ता काम गर्नुपर्छ।
विशेषगरी नवजात शिशुलाई हेर्न आफन्त र पाहुनाको लर्को लाग्छ। त्यो वेला उनीहरूमा भएको रुघाखोकी जस्ता संक्रमणले बालकलाई नभेटोस् भनेर सतर्कता अपनाउनुपर्छ। बच्चाहरूलाई बाहिर लिएर हिँड्दा विशेषगरी हावाको प्रत्यक्ष प्रभाव पर्नेगरी दुईपाङ्ग्रे सवारीसाधनमा जानुहुँदैन।
हेर्नुस् भिडियो-
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन