पूर्ण रूपमा हटिसकेकाे छैन डेंगु, लामखुट्टेबाट जाेगिनुस्

कात्तिक महिना लागिसक्दा पनि डेंगु समस्या पूर्णरूपमा निर्मूल भइसकेको छैन। तर बिरामीको चाप भने कम नै छ। अहिले पनि कलंकी, कालीमाटी, बल्खु, नयाँबजार जस्ता ठाउँबाट बिरामी आइरहेका छन्। यस्तै काठमाडौं आसपासका केही ठाउँबाट पनि बिरामी आउने क्रम चलिरहेको छ।
टेकु अस्पतालमा डेंगुको आशंकामा चार पाँच सयको संख्यामा बिरामी आउँथे तर अहिले घटेर एक सयको हाराहारीमा पुगेका छन्। तर आएका सबै डेंगुका बिरामी हुँदैनन्। मौसम परिवर्तनको समय भएकाले मानिसहरू ज्वरो रुघाखोकीजस्ता समस्या लिएर आउँछन्। डेंगुको प्रकोपबाट गुज्रेर आएकाले कतै त्यही त होइन भन्ने डरले आएको पाइन्छ। स्वास्थ्यमा केही समस्या देखिनेबित्तिकै डेंगु त होइन भन्ने त्रास जनमानसमा अझै बाँकी नै छ। त्यसैले केही जँचाउन र केही परामर्शका लागि आइरहेका छन्।
डेंगुको समस्या कम भए पनि हटिनसकेकाले सचेत हुनैपर्छ। सतर्क हुनैपर्छ। किनभने कात्तिक महिनासम्म लामखुट्टे देखि नै रहन्छन्। गर्मीयाममा जस्तो सर्वत्र नदेखिए पनि घर कार्यालयका कुनाकाप्चा लुकेर रहेका हुन्छन्। ती लामखुट्टेबाट बच्न आवश्यक उपाय अपनाउनुपर्छ।
अब गर्मी गइहाल्यो भनेर ढुक्क भएर बस्नु हुँदैन। लामखुट्टे उत्पन्न हुने वा बस्ने ठाउँको पहिचान गरी सरसफाइमा ध्यान दिनुपर्छ। घर वरिपरी जमेका पानी, फोहोरमैला हटाउनुपर्छ। यो वर्ष गइहाल्यो भनेर ढुक्क हुनुहुँदैन। यो वर्ष आएको विकराल अवस्थालाई मध्यनजर गरी आगामी वर्षका लागि पनि सचेत रहनुपर्छ।
एक्कासी उच्च ज्वरो आउने, आँखाको गेडी तथा टाउकोको पछिलो भाग धेरै दुख्ने, शरीर कटकटी खाने, वाकवाकी लाग्ने, बान्ता हुने जस्ता समस्या देखिएमा नजिकैको स्वास्थकर्मीसँग परीक्षण गरी परामर्श लिनुपर्छ। समयमा उपचार गरे डेंगु निर्मूल हुन सक्छ। चिकित्सककोमा पुग्न ढिलो गरे वा हेलचेक्र्याइँ गरे ज्यानै जान पनि सक्छ।
अहिले जनमानसमा देखिएको समस्याचाहिँ भाइरल हो। मौसम परिवर्तनको समयमा यस्ता समस्या देखा पर्छन्। उमालेको पानी प्रशस्त मात्रामा पिउने, झोल पदार्थहरू खाने र केही समय आराम गर्ने र आवश्यक परे चिकित्सकको सल्लाहमा औषधि लिने गर्नुपर्छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनसँगकाे कुराकानीमा आधारित
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा