Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘मासु सकेसम्म बेलुका नखाएकै राम्रो’

‘मासु सकेसम्म बेलुका नखाएकै राम्रो’

दशैँँ भन्नेबित्तिकै खाने, खेल्ने, रमाउने चाडका रूपमा परिचित छ। दशैँँमा मानिसहरू विशेषगरी खाने साथीभाइसँग भेटघाट गर्ने, खानपिन गरेर रमाइलो गर्छन्। विशेष चाड भएकाले पनि दशैँमा विभिन्न परिकारहरू बन्छन्। माछामासुको त कुरै गर्नु परेन। नेपाली समाजमा दशैँ र मासु पर्यायजस्तै बनेका छन्। कसैले घरमै खसीबोका काटेर खान्छन् भने कतिपयले पसलबाट किनेर अरु समयभन्दा बढी मासु खाने गर्छन्। मासु नखानेले पनिर, च्याउ जस्ता खानेकुरा खाएर दशैँ मनाउँछन्।

अनियन्त्रित खानका लागि दशैँ बहाना बनेजस्तै शारीरिक व्यायाम नगर्नका लागि पनि यही बहाना बन्छ। खानपान गर्ने, रमाइलो गर्ने वेलामा पनि कहाँ व्यायाम गर्ने भनेर धेरैले अल्छी गर्ने गरेको पाइन्छ। दशैँमा धेरै मानिस राति अबेरसम्म बसेर खानपिनमा व्यस्त रहन्छन् र बिहान चाँडो उठ्दैनन्। अरुवेला ‘मर्निङ वा’क’ गर्नेहरू पनि अल्छी गर्छन्।
बुझ्नैपर्ने कुरा के भने, अन्य समयभन्दा बढी खानपान हुने हुनाले यो वेला झन् व्यायामको आवश्यकता पर्छ। अल्छी गर्दा खाएको जति बोसो बनेर बस्छ। यसले अनेकौँ स्वास्थ्य समस्या निम्त्याउने गर्छ। मानव शरीर एउटा मेसिन जस्तै हो। यसले चाडबाड भन्दैन। त्यसैले यसलाई सन्तुलनमा राखेर चलाउनुपर्छ।

शारीरिक व्यायाम नहुँदा आजभोलि मानिसहरू कम उमेरमै रोगको शिकार बनेका छन्। दशैँँकै कुरा गरौँ न! पहिले पहिले दशैँ आउनुअघि गाउँका सबै मिलेर पिङ हाल्थे। धेरैजसो ठाउँमा यातायात सुविधा पुगेको थिएन। त्यसैले टीका लगाउन पनि हिँडेरै जान्थे। हिँड्दा र पिङमा मच्चिँदा हुने शारीरिक परिश्रमका कारण खाएको पनि पच्थ्यो। तर आजभोलि सबै ठाउँमा यातायात पुगेकाले पनि होला हिँड्ने भन्ने नै हुँदैन। थोरै दूरीमा पनि हामी हिँड्न लाज मान्छौँ। अचेलको दशैँमा खाने, बस्ने र फुर्सद भयो कि मोबाइल खेलाउने संस्कृति विकास भएको छ।
यो रमझमको माहोलमा मानिसहरू आफ्नो स्वास्थ्यप्रति लापरबाह बनिदिन्छन्। अनियन्त्रित रूपमा खाने र बस्ने मात्र काम हुन्छ। फलस्वरूप दशैँलगत्तै विभिन्न समस्या लिएर उनीहरू डाक्टरकोमा पुग्छन्।

बुझ्नैपर्ने कुरा
मासु सामान्यतया दुई प्रकारको हुन्छ, रातो र सेतो। सेतो मासु पचाउन सजिलो हुन्छ र कोलेस्ट्रोल पनि कम हुन्छ। रातो मासु पचाउन अलि गाह्रो हुन्छ। स्वस्थ व्यक्ति, वृद्धिविकास हुन लागेका बालबालिका वा उमेरदार मान्छेले रातो मासु मिलाएर खानसके बेफाइदा हुँदैन, तर रोस्ट, तारेर पकाइएको मासु पचाउन निकै गाह्रो हुन्छ। खसी बोका गिदी, मुटु, कलेजो यस्ता मासुमा बढी मात्रामा कोलेस्ट्रोल हुन्छ। मुटु, मृगौला, युरिक एसिड जस्ता रोगलाईएकदमै हानि पुर्याउन सक्छ। मासुलाई मिलाएर खाएमा स्वास्थयलाई फाइदा हुन्छ। मिलाउन जानेन भने हानि गर्छ।
दशैँमा मासुमा मात्र बढी जोड दिनुहुँदैन। सँगै सागसब्जी र सलाद पनि प्रशस्त खानुपर्छ। यसले पाचन प्रक्रिया सजिलो बनाउँछ। मासु सकेसम्म बेलुकी नखाएकै राम्रो। किनकी मासु पच्न कम्तीमा ५÷६ घण्टा लाग्छ। शरीर सक्रिय रहने हुनाले बिहान मासु खाँदा छिटो पच्छ।

व्यायाम सधैँ र सबैका लागि
शरीरका लागि व्यायाम अति आवश्यक छ। यो प्रक्रिया सधैँभरि एकनासले चलिरहनुपर्छ। बिहान सधैँ गर्नेे व्यायामले मोटोपन घटाउन समेत फाइदा पुग्छ। आफ्नो अनुकुलता हेरेर शारीरिक व्यायाम गर्नुपर्छ। स्वस्थ मानिसलाई एक घण्टा जति शारीरीक व्यायाम गर्न अति नै आवश्यक हुन्छ। मुटुरोग, धमनीको समस्या भएकाले डाक्टरको सल्लाहअनुसार व्यायाम गर्नुपर्छ। दीर्घरोगी भए स्वास्थ्य अवस्थाअनुसार डाक्टरको सल्लाह लिएर व्यायाम गर्नुपर्छ।
मानिस स्वस्थ रहन मुख्य रूपमा यी कुरामा ध्यान दिनुपर्छ। खाना मिलाएर खानुपर्छ। समयमा खानुपर्छ। शरीरलाई आराम र व्यायाम दुवै चाहिन्छ। व्यायामले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ।

स्पार्क अस्पतालमा कार्यरत  प्राकृतिक चिकित्सक डा. गीता केसीसँग हेल्थ टिभी अनलाइनका अशिम सापकोटाले गरेको कुराकानीमा आधारित : 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

मोटोपन छ ? कसरी घटाउने ?

मोटोपन छ ? कसरी घटाउने ?