Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

क्यान्सर जितेकाहरूकाे सुझाव : राेग लाग्दैमा नअात्तिनुस्

सकारात्मक साेच र अात्मबलले पार पाउन सकिन्छ क्यान्सरबाट

क्यान्सर जितेकाहरूकाे सुझाव : राेग लाग्दैमा नअात्तिनुस्

काभ्रेपलाञ्चोकका ताराप्रसाद त्रिपाठीलाई १० वर्ष अघि फोक्सोको क्यान्सर भएको थियो। पेशाले शिक्षक त्रिपाठीलाई अत्यधिक तमाखु खाने गरेका कारण क्यान्सर भएकोे थियो।

बुवाले चुरोट सल्काउन लगाउने गर्दा उनी सानै उमेरदेखि अम्मली हुन पुगेका थिए। ‘खोकी लागिरहन्थ्यो। सामान्य होला भनेर जँचाइएन’, उनले भने, ‘अन्तिममा तेस्रो स्टेजको क्यान्सर भएको पत्ता लाग्यो।’

चिकित्सकले ‘तेस्रो स्टेजको क्यान्सर’ भएको भन्दै उपचार कठिन हुने समेत नभनेका होइनन्। तर उनको सकारात्मक सोचाइ र आत्मबलका कारण औषधिले काम गर्दै गयो। र अहिले उनी क्यान्सरमुक्त छन्।

‘क्यान्सर लागेपछि बिरामी पूरै कमजोर मानसिकतामा पुग्छन्’, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ सुदीप श्रेष्ठले भने, ‘यसले गर्दा उपचारलाई पनि जटिल बनाउँछ। बिरामीमा सुधार आउन गाह्रो हुन्छ।’ उपचारका बेला बिरामीले सकारात्मक सोचिदिए मात्रै पनि क्यान्सर निको हुन बल पुग्ने उनी बताउँछन्।

श्रेष्ठका अनुसार क्यान्सरमुक्त भएपछि पनि म समाजमा स्वस्थ जीवनयापन गर्न सक्छु भन्ने सोच्न जरुरी छ। क्यान्सर लुकाउनु हुँदैन। यसले अरुलाई पनि ‘मोटिभेट’ गर्छ। रोग जसलाई पनि लाग्न सक्छ र समयमै उपचार गरे निको हुन्छ भन्ने सोच्ने हो भने धेरै प्रकारका क्यान्सर निको पार्न सकिन्छ।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा शुक्रबार आयोजित ‘क्यान्सर सर्भाइभरसिप इभेन्ट’मा आएका धेरै क्यान्सर जितेकाहरू ‘क्यान्सर समयमै उपचार गरे निको हुन्छ’ भन्दै थिए। विभिन्न किसिमका क्यान्सरबाट पीडित बिरामीहरू जो अहिले उपचारपछि निको भएर सामान्य जीवन व्यतित गरिरहेका छन। उनीहरुले आफ्ना अनुभव समेत साटासाट गरे।

नेपाल क्यान्सर हस्पिटल तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपको संयुक्त आयोजनामा भएको सो ‘इभेन्ट’मा क्यान्सर रोगबाट निको भएका व्यक्तिहरुले आफ्ना अनुभव बाँडेका थिए। कार्यक्रममा विभिन्न क्यान्सर राेगका विशेषज्ञ समेत सहभागी थिए।

यस्तै नेपाल नर्सिङ संघकी अध्यक्ष प्रा.तारा पोखरेल क्यान्सर जित्ने अर्की साहसी व्यक्ति हुन्। झण्डै दुई वर्ष अघि नुहाउने क्रममा स्तनमा गाँठा देखेर जँचाउन जाँदा क्यान्सर भएको पत्ता लाग्यो। उनले पहिलो ‘स्टेज’मा नै थाहा पाइन्। नेपालमै उपचार शुरु गरिन्। पेशाले स्वास्थ्यकर्मी भएकाले पनि उनलाई नेपालकै चिकित्सकले रोग निको पार्न सक्छन् भन्ने विश्वास थियो।

त्यसो त धेरैले विदेश जान सल्लाह नदिएका पनि होइनन्। ‘मैले सोचेँ बिरामी हुँदा उपचारको जति आवश्यकता हुन्छ त्यत्तिकै आफन्तको साथ पनि’, उनले भनिन्, ‘विदेशमा सम्पूर्ण आफन्त जान सम्भव थिएन। त्यसैले पनि मैले परिवारका साथ उपचार गर्न चाहेँ। नेपालमै उपचार गरेँ।’ अहिले सम्पूर्ण रूपमा निको भइसकेको दाबी गर्छिन् उनी।

मुखको क्यान्सर भएका काठमाडौं डाँछीका प्रदीप सापकोटा चुरोटका अम्मली थिए। चौध वर्षको उमेरदेखि चुरोट खान थालेका प्रदीपलाई त्यसको १५ वर्षपछि क्यान्सर देखा पर्यो। मुखको क्यान्सर भएका प्रदीपको शुरुमा मुखमा घाउ आउने गर्दैथ्यो पछि त्यसले क्यान्सरको रूप लियो। सानोमा चुरोट खान नसिकेको भए आज यस्तो हुुन्थेन भन्ने सोच्छन् उनी।

उपचारपछि उनको क्यान्सर त निको भयो तर यसले अनुहारमा दिएको दाग अझै बाँकी नै छ। ‘मैले त थाहा हुँदहुँदै पनि वास्ता गरिनँ’, उनले भने, साथीको लहैलहैमा लागेर चुरोट खाएँ। अब कसैलाई यस्तो नहोस् भनेर अभियन्ताको रूपमा काम गर्न मन छ’, उनले भने।

इभेन्टमै भेटिएकी मोडल डली गुरुङ पनि क्यान्सर विजेता हुन्। उनलाई कोलोन क्यान्सर भएको थियो। धेरै आफन्त विदेश भएकाले पनि उनलाई विदेश जान सल्लाह दिइएको थियो। तर उनी आत्तिइनन्। सँधै सकारात्मक सोच राख्ने डली उपचारपश्चात् निको भएकी छिन्।

उनी क्यान्सर लाग्दैमा आत्तिन नहुने बताउँछिन्। ‘बिरामीले आफूलाई कसरी सम्हाल्छन्’ डली भन्छिन्, ‘त्यसमा पनि उपचार सफल हुने नहुने भर पर्छ।’ क्यान्सर लाग्दैमा मरिहाल्छु भन्ने सोचियो भने यसले झनै गाल्ने उनको भनाइ छ।

‘नेपालमै सम्पूर्ण उपचार सम्भव छ’, क्यान्सर राेग विशेषज्ञ श्रेष्ठले भने, ‘परिवारको साथ बसेर उपचार गर्दा उनीहरूको साथ र सहयोगले पनि बिरामीमा हिम्मत आउने हुँदा त्यस्तो वातावरणको पनि जरुरत पर्छ।’

विभिन्न गम्भीर रोगमध्ये क्यान्सर पनि एक हो तर सुरुमै पत्ता लागे थोरै पैसामा पनि यसको उपचार सहजै गर्न सकिन्छ तर जटिल अवस्थामा पुगि सकेपछि आर्थिक भार पनि धेरै पर्ने र निको हुन पनि गाह्रो हुन्छ। तर उच्च मनोबलले क्यान्सरलाई जितेका धेरै उदाहरण क्यान्सर सर्भाइभरसिप इभेन्टमा देखियो।

थप समाचार