‘बिरामीको यस्तो व्यवहारले कहिलेकाँही त दिक्क लाग्छ’

‘बिरामीको यस्तो व्यवहारले कहिलेकाँही त दिक्क लाग्छ’

बिबिशा तामाङ हाल काठमाडौंको बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालमा अप्रेसन थिएटरमा स्टाफ नर्सका रूपमा कार्यरत छिन्। उनै बिबिसाका कुरा यो पटककाे नर्सका कुरामा।

सानैदेखि मानिसको सेवा गर्ने, दुःखीहरूलाई सहयोग गर्ने कुरामा चासो लाग्थ्यो। स्कुलमा पढ्दादेखि नै नर्स बन्ने इच्छा थियो। सन् २०१२ मा धनकुटास्थित युरिका स्कुलबाट एसएलसी गरेपछि बीपी कोइराला इन्सिच्युट अफ हेल्थ साइन्समा पढ्न थालेँ। परिवारका कुनै पनि सदस्य ‘यो क्षेत्रमा नभएकाले नर्सिङमा लागेर गल्ती त गरिनँ’ भन्ने लाग्थ्यो, कहिलेकाहीँ। तर मानवसेवाको काममा लाग्ने विषय छानेको भनेर खुशी नै हुन्थेँ।

नर्सिङ पढ्दाको एउटा घटना कहिल्यै बिर्सिन्नँ। ‘बाइपोलर डिसअर्डर साइक्लोजी’ समस्या भएको एक बिरामी थिए। रोगका कारण होला, उनी समय–समयमा फरक–फरक व्यवहार देखाउँथे। हामी पढ्दै थियौँ। यस्तो देखैकै थिएनौँ। अप्ठ्यारो लाग्थ्यो। उनको समस्या नबुझेर हप्काउँथ्यौँ पनि। उनी हामीले गरेको व्यवहार डाक्टरलाई सुनाएर दुःखी हुने गर्दा रहेछन्। हामीलाई उनको केयर गर्न गाह्रो भइरहेको थियो। तर डाक्टरहरूले ‘उहाँसँग राम्रोसँग प्रस्तुत हुनु, उनको समस्या यस्तो हो, यस्तो समस्या भएकाले यस्तै व्यवहार देखाउँछन्’, भन्ने सल्लाह दिन्थे।

२०१५ मा पढाइ सकेपछि अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा ९ महिना काम गरे। त्यसपछि म ईशान बाल तथा महिला अस्पतालमा कार्यरत छु। हामीकहाँ विशेषगरी महिला र बालबालिका विभिन्न समस्या लिएर आउँछन्। पहिले पोस्ट अपरेटिभ विभागमा कार्यरत थिएँ। हाल अप्रेसन थिएटरमा छु। अस्पतालमा भर्ना भएका निकै जटिल समस्या भएकालाई म कार्यरत कक्षमा अप्रसेन गरिन्छ। अप्रेसनपछि उनीहरूको अस्पताल बसाइ लामो हुने भएकाले बिरामी र उनीहरूको परिवारसँग ‘अट्याचमेण्ट’ हुन्छ। हामी परिवारका सदस्यझैँ बन्छौँ।

अस्पतालमा भर्ना भएका कतिपय बिरामी र तिनका परिवारले ‘पैसा तिरेकै छौँ, त्यसैले नर्सले घरको पर्सनल असिस्टेन्टले जस्तै व्यवहार गर्नुपर्छ’ भन्ने सोच राखेका हुन्छन्। नर्सलाई दुःख दिनुपर्छ भन्ने सोचका हुन्छन्। कहिलेकाँही यस्ता घटनाले बेकारमा यस्तो पेशामा लागेछुजस्तो हुन्छ। बिरामी मात्र होइन कुनै कुनै नर्स पनि खराब प्रवृत्तिका हुन्छन्। उनीहरू आफूलाई बढी जान्नेसुन्ने, ठूलो भएको देखाउन खोज्छन्। यो दुवै प्रवृत्ति खराब हो।

डाक्टर होस् वा नर्स दुवैको उद्देश्य भनेको बिरामीको उपचार गरी उनीहरूको मुहारमा खुशी ल्याउनु हो। डाक्टर र नर्स दुवैले आआफ्नो भूमिक ठीकसँग निर्वाह गरे भने समस्या आउँदैन। दुवैबीच सहकार्य जरुरी हुन्छ। एकअर्कालाई सानो देखाउने, एकअर्काको कार्यमा हस्तक्षेप गर्दा समस्या आउने हो। पाँच वर्षको अवधिमा मैलै कहिल्यै यस्तो भोग्नुपरेको छैन।

यो पेशामा लाग्छु भनेर पढ्न थाल्दा होस् वा अहिले काम गर्दा नै, मलाई परिवारको ठूलो सहयोग छ। परिवारका सदस्यहरूको साथ नपाएको भए सायद यो पेशामा लाग्न सकिँदैनथ्यो होला। पहिले पहिले नर्सलाई हेर्ने दृष्टिकोण राम्रो थिएन। अहिले नर्सिङको क्षेत्र निकै फराकिलो बनेको छ। यो सम्मानित पेशा हो भन्ने सबैले बुझ्न थालेका छन्। मानवसेवा गर्ने र धेरैलाई जीवन दिने कार्यमा सहभागी हुने पेशामा लागेकोमा मलाई गर्व महशुस हुन्छ।