३४ वर्षदेखि नर्सिङ पेशामा आवद्ध बिमला श्रेष्ठ ‘नाइटिंगेल नर्सिङ अवार्ड’ बाट सम्मानित
हेल्थ टिभी अनलाइन \काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगंजकी आइसीयू इन्चार्ज बिमला श्रेष्ठ ‘नाइटिंगेल नर्सिङ अवार्ड-२०२२’ बाट सम्मानित भएकी छिन्। श्रेष्ठले नर्सिङ पेशामा गरेको योगदानको मूल्यांकन गर्दै हेल्थ एट होम, नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन, नेपाल भेन्टिलेटर्स सर्भिस, सघन क्रिटिकल केयर एसोसिएट्स र मेड प्रो इन्टरनेशनलले संयुक्त रुपमा उनलाई ‘नाइटिंगेल नर्सिङ अवार्ड २०२२’ बाट सम्मान गरेका हुन्।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथी रहेकी नर्स तथा समाजसेवी राधा पौडेलले श्रेष्ठलाई अवार्ड तथा नगद पुरस्कारबाट सम्मान गरिन्। अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै श्रेष्ठले अवार्ड पाएसँगै आफूले थप जिम्मेवारी बोध गरेको बताइन्। उनी विगत ३४ वर्षदेखि त्रिवि शिक्षण अस्पतालमा कार्यरत छिन् भने २८ वर्षदेखि आइसीयूमा कार्यरत छिन्। अहिले उनी त्रिवि शिक्षण अस्पतालकाे आइसीयू इन्चार्ज हुन्। उनले आफ्नो करिअर वि सं २०४४ सालमा त्रिवि शिक्षण अस्पतालको पोस्ट अपरेटिभ वार्डबाट सुरु गरेकी हुन्।
फ्लोरेन्स नाइटिंगेलको नामबाट अन्तराष्ट्रिय नर्सिङ दिवस पारेर पहिलोपटक नर्सहरुलाई सम्मान गर्दै यस्तो खालको अवार्ड प्रदान गरिएको र यसलाई निरन्तरता दिइने आयोजकमध्येका नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसनका अध्यक्ष डा सुवास प्रसाद आचार्यले बताए । यसैगरी हेल्थ एट होमका सिइओ डा विशाल ढकालले ढिलै भए पनि नर्सहरुको सम्मानमा सुरु गरिएको अवार्ड कार्यक्रमले धेरै नर्सहरुलाई आफनो पेशामा टिकिरहन र सेवामा लाग्न प्रेरणा मिल्नेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले रात दिन नभनी बिरामीको सेवामा तल्लीन नर्सहरुको सम्मान सरकारले गर्नुपर्नेमा प्राइभेट सेक्टरबाट यत्रो ठूलो सम्मान कार्यक्रम राखिएकोमा खुशी व्यक्त गर्दै नसर्हरुको योगदान समाजमा निकै ठूलो रहेको बताए । उनले कोभिड महामारीमा उनीहरुले गरेको योगदानले अझ बढी प्रस्ट पारेको समेत जिकीर गरे ।
कार्यक्रममा समाजसेवी राधा पौडेलले श्रेष्ठले पाएको सम्मान उनको मात्र नभएर सम्पूर्ण नर्सहरुको सम्मान रहेको बताइन्। उनले यसले सबै नर्सहरुको सम्मान बढेको समेत जिकीर गरिन् ।
वर्षौदेखि नियन्त्रणका सेवा विस्तार हुँदाहुँदै पनि किन अन्त्य हुन सकेन क्षयरोग ?
किष्ट अस्पतालमा सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषको स्वास्थ्य सुविधा
चिकित्सक उत्पादनमा फड्को, पलायनले राज्यलाई ठूलो नोक्सानी
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने
डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ