‘घर फर्किँदै गर्दा बिरामीको ओठमा देखिने हाँसोले पेशाप्रति गर्व लाग्छ’

‘घर फर्किँदै गर्दा बिरामीको ओठमा देखिने हाँसोले पेशाप्रति गर्व लाग्छ’

६ वर्षदेखि नर्सिङ पेशामा रहेकी पाल्पाकी सुमना ढुङ्गाना हाल काठमाडौंको बसुन्धरास्थित ईशान अस्पतालमा कार्यरत छिन्। एनआईसीयूमा सिनियर स्टाफ नर्स उनै सुमनाका कुरा यो पटकको नर्सका कुरामा।

पाल्पाको पोखराचोक मेरो जन्मथलो। सानोमा पढाइ राम्रै थियो। २०६२ सालमा स्थानीय विष्णु माध्यमिक विद्यालयबाट एसएलसी दिएँँ। त्यो समयमा एसएलसी सकेपछि आर्ट वा कमर्स पढ्ने लहर थियो। राम्रो नम्बर आएकाहरू साइन्स पढ्थे। साथीहरूको सल्लाहमा मैले भने कमर्स ज्वइन गरेँ। कमर्स पढेपछि बैंकिङ क्षेत्रमा राम्रो रोजगारी पाइन्छ भन्ने थियो। कहिले पढाइ सकेर आफ्नै खुट्टामा उभिने होला भन्ने भावना मनमा आइरहन्थ्यो।

हाम्रो परिवारमा ठूली दिदी नर्स हुनुहुन्थ्यो। कमर्स पढ्दापढ्दै एकाएक नर्सिङ पढ्ने सोच आयो। उहाँकै प्रेरणाले मैले नर्सिङ पढ्न थालेँ। सन् २०१० मा काठमाडौंको जोरपाटीस्थित स्तुपा कलेजबाट पढाइ शुरु गरेँ। तीनवर्षे पीसीएल कोर्स सकेर वुटवलको गौतम बुद्ध अस्पतालमा काम गर्न थालेँ। हामी पनि नयाँ, अस्पताल पनि नयाँ, उपपकरण, औजार सबै नयाँ। फेरि मन परेको पेशा। काम गर्न अत्यन्तै जाँगर लाग्थ्यो। कलेजमा पढेका कुरा ‘फिल्ड’ मा कसरी प्रयोग गर्ने होला भन्ने लाग्थ्यो।

त्यहाँ सीसीयू विभागमा कार्यरत थिएँ। सीसीयूमा हार्ट अट्याक, एन्जाइना कार्डियाक डिस्राइमियालगायत हृदयरोगसम्बन्धी बिरामी हुन्छन्। उनीहरूको निरन्तर अनुगमन र उपचार आवश्यक पर्छ। म सिक्दै पनि थिएँ। मभन्दा अग्रज दिदीहरूको सहयोग पनि हुन्थ्यो। सबै कुरा अनुकुल हुँदाहुँदै पनि हावापानीका कारणले मलाई त्यो ठाउँ मलाई प्रतिकुल भयो। तै पनि त्यहाँ दुई वर्ष बसेर काठमाडौं फर्किएँ।

सन् २०१७ मा ईशान अस्पताल आइपुगेँ। एनआईसीयू विभागमा विशेषगरी इन्फेक्सन, निमोनिया, घाँटीमा प्वाल परेकाो, सेप्सिस डाइरिया जस्ता समस्या भएका बालबालिकालाई राखिन्छ। यसलाई नवजात शिशुको ‘इनटेन्सिव केयर नर्सरी’ पनि भनिन्छ।

अस्पतालमा डाक्टर र नर्सको सहकार्यबाट मात्रै बिरामीको सहज रूपमा उपचार हुन्छ। ऊ स्वस्थ भएर घर फर्किन्छ। डाक्टर नर्सबीच अलिकति मात्रै पनि ‘मिसअण्डरस्याण्ड’ हुँदा बिरामीको उपचारमा गम्भीर असर पर्न सक्छ। डाक्टरले दिएको निर्देशनलाई ध्यानमा राखी बिरामीको अवस्था हेर्दै हामीले उनीहरूको केयर गर्नुपर्छ। यो कुरामा म ज्यादै सचेत छु।

सेवामा लाग्दा बिरामी र उनीहरूको परिवारबाट पाइने माया धन्यवाद नै मेरो सम्पत्ति हो। केही केहीलाई छाडेर उहाँहरूले पारिवारिक माया दिनुहुन्छ। हुन पनि बिरामी र उनका परिवारका लागि अस्पताल केही दिनको घरजस्तै नै हुन्छ। अनि हामी घरका सदस्य। सदस्यबीच माया ममता रहे न घरको शोभा हुने हो। बिरामी निको भएर घर लैजान पाउँदा अभिभावक वा परिवार जति खुशी हुन्छन्, त्यो भन्दा कम खुशी हुँदैनौँ हामी पनि। अस्पतालबाट फर्किँदै गर्दा बिरामीको ओठमा देखिने हाँसोले मलाई यो पेशामा लागेकोप्रति सन्तुष्टि दिन्छ। गर्वले छाती फुल्छ।

पहिले पहिले नर्सलाई हेर्ने समाजको दृष्किोण त्यति राम्रो थिएन। अभिभावकले ‘छोरी नर्सिङ पढ्दैछे’ वा ‘नर्स छे’ भन्दा छिमेकीले ‘बिग्रिछ’ भन्ने प्रतिक्रिया दिन्थे। तर आज त्यो अवस्था छैन। अहिले सम्मानित पेशाको रूपमा गनिन्छ। हुन त हाम्रो पेशामा पनि विभिन्न किसिमका विकृति र चुनौती नभएका होइन् तर मानिसको जीवन बचाउने पेशामा लागेको भन्न पाउँदा गर्व महशुस हुन्छ।

थप समाचार

‘बिरामीको मुस्कान नै नर्सको खुशी हो’

‘बिरामीको मुस्कान नै नर्सको खुशी हो’