‘नर्स भएपछि जस्तोसुकै परिस्थिति ‘ह्याण्डल’ गर्न सक्नुपर्छ’

‘नर्स भएपछि जस्तोसुकै परिस्थिति ‘ह्याण्डल’ गर्न सक्नुपर्छ’

३५ वर्षदेखि नर्सिङ पेशामा रहेकी लालदेवी महर्जन हाल काठमाडौंस्थित ग्राण्डी अस्पतालमा नर्सिङ निर्देशक छिन्। उनै लालदेवीको भोगाइ यो साताको नर्सका कुरामा।

२०१८ वैशाखमा काठमाडौंको लाजिम्पाटमा जन्मिएकी म सानैदेखि पढाइमा अब्बल थिएँ। अरुको दुःख देख्न सक्दैनथेँ। अरु खुशी भएको देख्दा खुशी हुन्थेँ, अरु दुःखी हुँदा दुःख लाग्थ्यो। विशेषगरी दुःखी बिरामीको सेवा गर्न निकै मन पर्थ्यो। आफन्त कोही बिरामी भएर भेट्न जाँदा सेता कपडा लगाएका महिलाहरूले सेवा गरेको देख्दा उनीहरूबाट प्रभावित हुन्थेँ। यस्तै बन्न पाए पनि हुन्थ्यो भन्ने त लाग्थ्यो। तर उनीहरू नर्स हुन्, उनीहरूको धर्म हो भन्ने पूरै बुझेको थिइनँ।

मैलै विद्यालय तहको पढाइ कन्या स्कुल लैनचौरबाट पूरा गरेँ। एसएलसी सकेपश्चात् कुन विषय पढ्ने भन्ने विषयमा अलमल भइरहेको थियो। स्कुलमा मेरो प्रस्तुति राम्रो थियो। बोल्नदेखि अन्य क्रियाकलापमा पनि अब्बल भएको देखेर सबैले मलाई ‘कानुन पढ’ भनेर सल्लाह दिने गर्थे। चिनजानको एकजना दाइले नर्सिङमा भविष्य छ, यही पढ भनेर सिफारिस गर्नुभयो। नर्सिङ किन पढ्ने भन्ने समेत थाहा नभईकनै म यतातिर लागेँ।

२०३५\३६ सालको त्यो समयमा नर्सिङ विषय र पेशालाई त्यति राम्रो दृष्टिले हेरिदैनथ्यो। अरु विषय पढ्न नसक्ने पढ्ने विषय हो भन्ने आमबुझाइ थियो। पढाइदेखि अतिरिक्त क्रियाकलापमा समेत अब्बल म आँट गरेरै यतातिर लागेकी थिएँ। आफन्त र साथीहरूले ‘नर्सिङमा नलाग’ भनेर सुझाव पनि दिएका थिए।

नर्स पढ्न मलाई परिवारले साथ दियो सबैभन्दा ठूलो ढाडस र सहयोग मैले मेरी आमाबाट पाएँ। त्यतिखेर छोरी मान्छेले एसएलसी गर्नु नै ठूलो मानिन्थ्यो। इन्टरमिडियटतिर पढ्दापढ्दै बिहे गरिदिने चलन थियो। मेरी आमाले छोरीले पढेसम्म पढाउँछु भनेर ममा हौसला भरिदिनुभयो। आज म जेजति छु, जहाँ आइपुगेकी छु सबै उहाँकै देन हो।

महाबौद्ध क्याम्पसबाट ०४१ सालमा नर्सिङमा पीसीएल गरेँ। महाराजगञ्जस्थित टिचिङ अस्पतालबाट सेवा शुरु गरेँ। यसबीचमा ठमेलस्थित सरस्वती क्याम्पसबाट बीकम पनि गरेँ। त्यो समयमा तीन वर्ष काम गरेपछि नर्सिङमा स्नातक गर्न पाउने प्रावधान थियो। ०४४ सालमा स्नातक सकेँ। बिहानको क्लास लिएर ०५५\५६मा ‘एमपीपी’ पनि गरेँ। टिचिङमा पाइने अध्ययन विदालाई सदुपयोग गर्दै सन् २००४ मा भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट ‘एमएससी इन हस्पिटल एडमिनिस्ट्रेसन’ गरेँ।

यत्रो वर्ष नर्सिङ पेशामा रहँदा मैले बुझेको अस्पताल भनेको मन्दिर हो। बिरामीको मात्र होइन, डाक्टर नर्स र अन्य स्वास्थ्यकर्मीको पनि। बिरामी र तिनका आफन्त अस्पतालमा ठूलो आशा लिएर आएको हुन्छ। त्यसलाई हामी स्वास्थ्यकर्मीले हरसम्भव पूरा गर्नुपर्छ। उनीहरूको आशामा तुसारापात हुन दिनुहुँदैन। बिरामीको सहज उपचारका लागि हामी डाक्टर र नर्सबीचको सम्बन्धले महत्त्वपूर्ण भूमिका खेल्छ। यो भनेको नङ र मासुबीचको सम्बन्धजस्तो हो, विश्वासमा अडेको।

अस्पतालमा हामीले बिरामीको सेवा गर्दा डाक्टरले दिएको सल्लाहअनुसार गर्ने हो। बिरामीको मनोभावना बुझ्न पनि उत्तिकै जरुरी छ। अस्पतालमा धेरै किसिमका बिरामी आउँछन्। कोही छिटो रिसाउने, झर्किने पनि हुन्छन्। उनीहरूको व्यवहार हेरेर कुन किसिमले सेवा गर्दा प्रभावकारी हुन्छ भन्ने नर्सले बुझेकै हुनुपर्छ। बिरामी रिसायो भन्दैमा नर्सले झर्किने वा रिसाउने गर्नुहुँदैन। जस्तोसुकै परिस्थितिलाई सहज रूपमा ‘ह्याण्डल’ गर्न सक्नुपर्छ।

अस्पतालमा बिरामी लिएर आउने परिवार वा आफन्तप्रति पनि राम्रो व्यवहार गर्नुपर्छ, नर्सले। घरमा बिरामी भएकाले उनीहरू शारीरीक वा मानसिक रूपमा समस्याग्रस्त भएका हुन्छन्। त्यसैले कहिलेकाहीँ हामीप्रति उग्र हुनु स्वाभाविक पनि हो। त्यो परिस्थितिलाई बुझेर नर्सले स्थिति सामान्य बनाउन प्रयास गर्नुपर्छ।

कोही बिरामी एक दुईदिन अस्पताल बसेर जान्छन्। कोही बिरामी महिनौँ अस्पताल बस्नुपर्ने हुनसक्छ। धेरैसमय उनीहरूको हेरचाह गर्दा पारिवारिक सम्बन्ध कायम हुन्छ। हामी परिवारका सदस्यजस्तै हुन्छौँ। बिरामी निको भएर जाँदा एककिसिमले रमाइलो पनि हुन्छ। अर्कोतर्फ धेरैदिन बसेर छुट्टिने वेला नरमाइलो पनि लाग्छ। कोही त पछि पनि आफ्नो नाम लिएर बोलाउँदै आउँछन्। त्यो देख्दा साह्रै आनन्द आउँछ। पेशाप्रति गौरव लाग्छ।

हामी सधैँ सफल हुन्छौँ भन्ने पनि हुँदैन। कहिलेकाहीँ प्रयास गर्दागर्दै पनि असहज परिस्थितिको सामना गर्नुपर्छ। धेरै प्रयासका बाबजुद बिरामीलाई बचाउन नसक्दा साह्रै दिक्क लाग्छ। हुन त हामीले सकेको प्रयास गरेकै हुन्छौँ। त्यत्रो प्रयास विफल हुँदा नरमाइलो लाग्नु स्वाभाविकै पनि हो।

थप समाचार

‘बिरामीको मुस्कान नै नर्सको खुशी हो’

‘बिरामीको मुस्कान नै नर्सको खुशी हो’