‘कहिलेकाँही आउने ‘भिजिटर’ बिरामीप्रति बढी संवेदनशील भएको देखाउन खोज्छन्’

‘कहिलेकाँही आउने ‘भिजिटर’ बिरामीप्रति बढी संवेदनशील भएको देखाउन खोज्छन्’

काठमाडौं जोरपाटीकी रेखा चापागाईँ १४ वर्षदेखि नर्सिङ पेशामा छिन्। हाल वीर अस्पतालको ‘पेइङ डिपार्टमेन्ट’ मा कार्यरत उनै नर्स रेखाको अनुभव र अनुभूति यसपालिको नर्सका कुरा स्तम्भमा—

बुबाआमाका हामी तीन सन्तान। दुई दिदीबहिनी एक भाइ। हामी दिदीबहिनीपछिको भाइ। सीपी(सेरेब्रल पाल्सी) भएको रहेछ। जन्मेपछि दूध नखाएका कारण कान्ति अस्पतालमा लगियो। ‘सलाइन’ पास नभएपछि टाउकोबाट चढाइयो। त्यसबाट फाइदा हुन सकेन। राम्रो उपचार नहुँदै बुबाआमाले घर ल्याउनुभयो। आमाको दूध राम्रोसँग दूध नखाएकाले ‘ल्याक्टोजेन’ खुवाउनुपर्ने भयो। शारीरिक विकास राम्रोसँग भएन। बस्नुपर्ने वेलामा बस्न सकेन। हिँड्नु पर्ने वेलामा हिँड्न सकेन।

साथीहरूकाे प्रेरणा

त्यो वेला हाम्रा साथी दौँतरीहरू सरकारी स्कुलमा पढ्थे। तर आर्थिक अवस्था ठिकै भए पनि बुबाले हामी दिदीबहिनीलाई बोर्डिङ स्कुल पढाउनुभएको थियो। भाइको अवस्था देखेर ठूलो भएपछि नर्स बन्नुपर्छ। भाइजस्तै बिरामीको सेवा गर्नुपर्छ भन्ने भावना आउँथ्यो। साथीहरू पनि मलाई ‘तिमी नर्स बन्नुपर्छ’ भन्थे। मेरोचाहिँ ठूलो धोको थियो, गायिका बन्ने। स्कुलमा ‘एक्स्ट्रा करिकुलम’का क्रममा म राम्रो गाउँथेँ। सबैले स्वर राम्रो छ भन्थे। हौसला हुन्थ्यो।

देशकै राजधानी शहरको छेउमा भएर पनि हामी केटाकेटीलाई बाहिरको संसार थाहा थिएन। गौशालाभन्दा पर पनि संसार छ र भनेझै लाग्थ्यो। शहर नजिक भए पनि हाम्राेतिर गाडी पनि राम्रो लाग्दैनथ्यो।

मेराे रूचि

एसएलसी दिएपछि केही महिना खाली भएँ। खाली समयमा केही गर्नुपर्छ भन्ने थियो। सानैदेखिको धोको, मैले संगीत सिक्ने इच्छा राखेँ। बुबाआमाले स्वीकृति जनाउनुभयो। साथी थिइन्, विद्या चापागाईँ (पहिले बीबीसी साझा सवालकी प्रस्तोता)। उनी ‘एंकरिङ’ र म गायन सिक्न थाल्यौँ। म साधना कला केन्द्रमा संगीत सिक्न थालेँ। उनी सञ्चारकर्मी सुमन खरेलले चलाएको इन्स्टिच्युटमा एंकरिङ गर्न थालिन्।

‘ओरेन्टेसन’का क्रममा म्यामले भन्नुहुन्थ्यो, ‘तिमीहरू अहिले बच्चै छौ। पढेर बाहिर निस्किँदा पनि बच्चै हुन्छौ। तर यहाँबाट निस्कँदा तीनवटा कुराको विकास गरेर निस्कनु, ‘नलेज’ ‘एटिट्युड’ र ‘स्किल’। समृद्ध परिवारको नभएकाले काममा कसरी ‘डेडिकेडेड’ हुने कसरी ‘नलेज’ बढाउने भन्ने कुरामै ध्यान हुन्थ्याे हाम्राे।

एक महिनाको कोर्स सकिएपछि विद्या जान छाडिन्। ऊ जान छाडेपछि म एक्लै भएँ। बुबाआमाले एक्लै जान पर्दैन पछि जानु भन्नुभयो। संगीत सिक्न चटक्कै छाडेँ।

नर्सिङ : राेजेकाे विषय

५७ मा एसएलसी पास गरेपछि नर्सिङ पढ्न थालेँ, महाराजगञ्जमा। तीनवर्षे कोर्स थियो। परिवारमा त के नजिकका आफन्त कोही पनि नर्स पढेका थिएनन्। अस्पताल कहिले पनि टेकेकी पनि थिइन्।

रोजेको विषय भएकाले खासै गाह्रो भएन। नर्सिङको पढाइका क्रममा पहिले बिरामीको ‘केयर’ गर्न सिकाइन्छ। पहिलेपहिले बिरामीको पीडा, त्यहाँ भएको फोहोर देखेर कसरी गर्ने होला, कहाँबाट शुरु गर्ने होला जस्तो लाग्थ्यो।

पछि बिरामीको पीडा देख्दा र उनीहरूका आफन्तले भनेका कुरा सुन्दा ‘फ्यामिलियर’ हुँदै गइयो। बिरामीको माया लाग्न थाल्यो। अस्पताल पुगेपछि बाहिरका अरु कुरा केही याद नहुने। कसरी उनीहरूको सेवा गर्ने भन्नेमात्रै ध्यान हुने। बिरामीसँग कसरी नजिक हुने कसरी उनीहरूको सरसफाइ गर्ने र बेहोश भएकालाई कसरी होशमा ल्याउने भन्ने मात्रै चिन्ता हुने। यसरी नै बिरामीसँग नजिक हुन थालियो।

‘म्याम’का तीन सूत्र

‘ओरेन्टेसन’का क्रममा म्यामले भन्नुहुन्थ्यो, ‘तिमीहरू अहिले बच्चै छौ। पढेर बाहिर निस्किँदा पनि बच्चै हुन्छौ। तर यहाँबाट निस्कँदा तीनवटा कुराको विकास गरेर निस्कनु, ‘नलेज’ ‘एटिट्युड’ र ‘स्किल’। समृद्ध परिवारको नभएकाले काममा कसरी ‘डेडिकेडेड’ हुने कसरी ‘नलेज’ बढाउने भन्ने कुरामै ध्यान हुन्थ्याे हाम्राे।

६२ भदौदेखि वीरमा ‘भोलेन्टर’ गर्न थालेँ, डायलससिस विभागमा।  वीर अस्पतालमा काम गर्दागर्दै लोकसेवा खुल्यो। लिखित परीक्षा दिएर बसेकी थिएँ। यता बिचमै कान्ति बाल अस्पतालमा नाम निस्कियो।

कान्तिबाट जागिर

मलाई बच्चा खेलाउन नआउने। मान्दै मान्दैनथे केटाकेटी मसँग। तर कान्तिमा गएपछि बच्चासँग धेरै घुलमिल भएँ। त्यहाँ बस्दा शुरुशुरुमा मलाई यही हस्पिटलले गर्दा मेरो भाइको त्यस्तो अवस्था भएको भन्ने लाग्थ्यो। पछि बुझ्दै गएँ। हाम्रै गल्तीले पनि त्यस्तो भएको हुनसक्छ। हामीले भाइलाई त्यहीँ राखेर उपचार गरिरहेको भए ऊ राम्रो पनि हुनसक्थ्यो कि!

थाइलासिमा, निमोनिया लगायतका केस आउँथे। शुरुमा आउँदा राम्रो देखिएका बिरामी पनि त्यहीँ बित्ने। रगत दिन आएका हुने। अरुवेला हामीसँग खेल्ने बच्चा हेर्दाहेर्दै ‘लास्ट स्टेज’मा पुग्ने। मैले कान्ति छोड्ने अन्तिम रात एउटा बच्चा साह्रै दुःख पाएर बित्यो।

सुमन नामको आठ वर्षको बच्चा थियो, भक्तपुरको। बुबाचाहिँले आमाछोरालाई हेलाँ गरेर अर्कै बिहे गरेर बसेको रहेछ। बुबाचाहिँ अस्पतालमा हेर्नसमेत आएनन्। रातभरि ‘केयर’ गर्यौँ । डाक्टरलाई बोलायौँ। केही सिप चलेन। रुवाबासी चल्यो। त्यो घटनाले फर्किएर अब कान्ति आउँदिन भन्ने लाग्यो! अहिले पनि त्यो सम्झिँदा अबका दिनमा कान्ति अस्पतालमा काम गर्न सक्दिन कि जस्तो लाग्छ। कान्तिमा काम गर्दागर्दै लाेकसेवाकाे लिखितमा नाम निस्किएछ।

जनकपुर प्रस्थान

अन्तरवार्तामा पनि नाम निस्किएपछि जनकपुर ‘पाेस्टिङ’ हुने भयाे। काठमाडाैंबाट पहिलोपटक निस्केको नियुक्तिपत्र लिन हेटौँडा। चारैजना काठका केटी। महाराजगञ्ज पढेका चारै जना। जे परे पनि सँगै मिलेर सामना गरौँला भनेर त्यहाँ जाने निर्णय गरेका थियौँ। भोलिपल्ट जनकपुर अञ्चल अस्पताल गयाैँ। गर्मी महिना लामखुट्टेको विगविगी, भाषा नबुझिने, खाना पनि मन नलाग्ने। समस्या कति कति। धेरै दुःख पायौँ। दुई दिनमै आत्तियौँ।

विदा मिलाएर केही दिनमै घर फर्किँयौँ। घरमा आएर रोएँ, जाँदै त्यस्तो ठाउँमा जान्न भन्दै। बरु लोकसेवाको जागिर नै खान्नँ। बरु कान्तिमा दिएको राजीनामा फिर्ता माग्छु भन्ने सोच थियो। विदा भनेर आए पनि अब जनकपुर नफर्किने सोचका साथ काठमाडौं आएका थियौँ हामी।

हामीसँगै जाने एउटी साथी थिई, पातली, लुरी। उसले अन्त काम पाएकी थिइन। ‘तिमीहरू जेसुकै गर। अन्त ‘जब’ पनि पाइएन। म त जनकपुर नै जान्छु।’ उसले आँट गरेको देखेर हामीलाई प्रेरणा भयाे। जनकपुर फर्कियौँ।

कष्टकर बसाइ

नयाँ भवन बनेको त थियो तर सबै कुरा अव्यवस्थित थिए। १६\१६ जनाको बेड भए पनि बिरामी धेरै भएकाले भुइँमा लडाइएका हुन्थे। दम, ज्वरोदेखि मधुमेह भएका, कलेजो र मिर्गौला बिग्रेका बिरामी समेत थिए। यहाँ भए आईसीयूमा राख्नुपर्ने बिरामी अलपत्र अवस्थामा हुन्थे।

औषधि ल्याउनु भनेर छ सात वटाको नाम लेखिदियो, एउटा दुइटा ल्याउने। काम गरेको जस नदिने। उनीहरूले आफ्नो, आफूले उनीहरूको भाषा नबुझ्दा एउटैलाई ‘कन्सल्ट’ गर्न दुई तीन घण्टा लाग्ने। कसरी काम गर्ने होलाजस्तो लाग्थ्यो। काम सकेर फर्कियो, लामखुट्टे धपाएर खानु पर्ने पर्ने सुत्ने ठाउँको राम्रो व्यवस्था छैन। स्टाफहरू धेरै। एकले अर्काको कुरा लगाउने। उचाल्ने पछार्ने। डाइरेक्टर र डाक्टरहरूको ‘सपोर्ट’ले गर्दा एक डेढ वर्ष टिकियो।

घरको न्यास्रोले सताउँथ्यो। काठमाडौं नै उल्टो भइसक्यो कि भनेजस्तो लाग्ने। दशैँ आयो। हामी चारजनामध्ये दुईजा घर फर्के। हामी तिहारमा आउने भनेर बस्यौँ। टीकाको दिन थियो। म र अर्को साथी बसेका थियौँ। ‘डाइबेटिक फुट’को ‘पेसेन्ट’ थियो इन्चार्ज भए पनि म ड्युटीमै थिएँ। एक बहिनीले ‘बेड मेकिङ’ काे काम गरिरहेकी थिइन्। एउटा बेडमा बिरामीकी आमाचाहिँ ढसमस्स परेर सुतेकी छिन्। बिरामी छाेराचाहिँ गोडापट्टि पल्टेको छ। ती बहिनीले ‘एकछिन तल ओर्लिनुस् न’ भन्दा हप्काउन थालिछन्।

म उनीहरूलाई सम्झाउन थालेँ। ‘तिमीहरूले हाम्रो लागि के गर्छौ’ भन्दै कराउन थालिन्। झन् आमाछोरा नै भएर पो उफ्रिन थाले। साह्रै दुःख लाग्यो। दशैँमै घरसमेत नगई उनीहरूकै लागि भनेर बसेको। उनीहरूकाे व्यवहार यस्ताे छ। रुन मन लाग्यो। सुन्न नसकेर सर्जरीको दिदीहरूको रुमतिर गएँ। एक जना डाक्टर आउनुभयो। उहाँले सम्झाएपछि उनीहरू चुप लागे।

मधेश आन्दोलनकाे असर 

तिहारमा घर आएर फर्केपछि मधेश आन्दोलन शुरु भयो। क्वार्टर र बाटो तीन चार मिटर नजिक पर्थ्याे। हुलका हुल आन्दोलनकारीहरू जान्थे। डराएर झ्यालको पर्दाबाट चिहाएर बस्नुपर्थ्याे। ग्यास, चामल तरकारी लिन बाहिर निस्कने अवस्था थिएन। तीन महिना नै थुनिएर बस्नुपर्यो, मंसिरदेखि माघसम्म। भाैतिक रूपमा खतरा नभए पनि राति राति टाेले गुण्डाहरू आएर ‘ह्यारेस’ गर्थे। साह्रै डर लाग्थ्यो।

आन्दोलन मत्थर भएपछि ‘म एकछिन पनि बस्दिनँ सरुवा गर्दिनुस्’ भनेँ। त्यतिवेलासम्म दुई साथी सरूवा मिलाएर काठमाडाैं  आइसकेका थिए। आफूलाई भने गाह्राे।  अरु बहानाले काम नगरेपछि बीएन पढ्ने बहाना बनाइयो। काठमाडाैं फर्किइयाे।

जनकपुरबाट वीर अस्पताल

२०६४ भदौमा सरुवा भएँ, वीर अस्पतालमा। त्यहाँबाट निस्किएर यहाँ आउँदा स्वर्गमा आएजस्तो। वीरमा न्यूरो आईसीयूमा आएँ। डाक्टर उपेन्द्र देवकोटाको ‘डिपार्ट’ भनेर चिनिन्थ्यो। रातको ड्युटी। घरबाट जाने आउने। आमाले पकाएको खाने। दिउँसो सुत्ने। ‘अप्रेसन’ गरेका जटिल बिरामी व्यस्त भइरहने चाप भए पनि काममा रमाइलो।

केही समय त्यहाँ गरेपछि बीएन(बीए नर्सिङ) पढ्न गएँ। यो बिचमा ६६ सालमा बिहे गरेँ। श्रीमान् इञ्जिनियरिङ पेशामा हुनुहुन्छ। मागी विवाह भए पनि परिवारबाट पर्याप्त सहयोग पाएकी छु। सासूससुरा आफूसँगै नभएकाले बच्चा हुर्काउन अलि गाह्रो भयो। तर श्रीमानकी हजुरआमा, मामामाइजू र माइतीको सहयोगले त्यति गाह्रो भएन। सबैजना अफिस सकेर घर फर्किन्छन्। आफू भने साँझको वेला घर छोडेर निस्किनुपर्ने, दूधे बालकलाई छाडेर।

बच्चा तीन महिनाको पुगेपछि छाडेर हिँड्नैपर्ने बाध्यता। बच्चा सम्झेर निन्द्रै लाग्दैनथ्यो। बिहान यसो आँखा लाग्न लागेका वेला बिरामीले बोलाई हाल्थे। त्यतिखेर किन पढेँ हुँला। अहिले त बाबु ठूलो भइसक्यो। ‘मामुको ड्युटी छ, डिस्टर्ब गर्नु हुन्न’ भन्छ। स्कुलबाट आएर आफैँ खाजा खान्छ। पढ्न बस्छ।

२०६७ पुसमा बीएन पूरा भएपछि वीरकै ‘पेइङ’ वार्डमा आएँ। रोशनी तुइतु म्याम इञ्चार्ज उहाँको अण्डरमा तीन वर्ष काम गरेँ। उहाँसँग काम गर्न पाउँदा साह्रै भाग्यमानी सम्झिन्छु। मैले इण्डोक्राइनोलोजी युनिटबाट ‘स्क्रिनिङ डाइवेटिक रेटिनोप्याथी’को तालिम लिएको थिएँ, तिलगंगाबाट। त्यसैले अहिले म दुईतिर काम गर्छु। आइतबार, मंगलबार र शुक्रबार ‘इण्डोक्राइन डिपार्ट’मा काम गर्छु। अरु दिन पेइङमा हुन्छु।

यस्ताे पनि व्यवहार

अस्पतालमा नर्सले बिरामीलाई र बिरामीका आफन्तले गर्ने व्यवहार सबैको चासोको विषय हो। बिरामीलाई नर्सले गर्ने व्यवहार ठीक भएन। नर्सहरू छुच्चा हुन्छन् लगायतका भनाइ मैले पनि सुन्ने गरेकी छु। सरकारी अस्पतालको सन्दर्भमा नर्स र बिरामीको अनुपात नमिलेको कुरा सबैलाई थाहै छ।

याे कारण पनि कहिलेकाहीँ नर्स र बिरामी पक्षबीच असमझदारीको स्थिति बनेको हुन्छ। कहिलेकाँही परिस्थितिले एउटा नर्सले ३५ जनासम्म हेनुपर्छ। बिरामीको केयरदेखि उनीहरूको रेकर्ड राख्ने, बिरामीका परिवारलाई कन्सल्ट गर्नेलगायतका कामको जिम्मा नर्समा हुन्छ। बोल्नु कि काम गर्ने कि रेकर्ड राख्नु । भ्याइनभ्याइ हुन्छ। बोल्नु नि नपरे हुन्थ्यो भनेजस्तो हुन्छ कहिलेकाहीँ।

बिरामीहरूको कुरा गर्दा उनीहरू कहिल्यै नराम्रा हुँदैनन्। पीडामा हुन्छन्। परिवारका सदस्यहरू बिरामीको केयरमा लागेका हुन्छन्। हामीलाई सोध्छन्। नबुझेका कुरा हामी राम्रोसँग बताइदिन्छौँ। मैले बुझेसम्म कहिलेकाँही मात्र आउने ‘भिजिटर’ बिरामीप्रति संवेदनशील भएको देखाउन खोज्छन्। ‘यो बिरामीको के के भयो, के गर्यौ तिमीहरूले?’ जस्ता प्रश्न गर्छन्। जबकि उनीहरूलाई बिरामीको उपचार कसरी उपचार भइरहेको छ भन्ने थाहै हुँदैन।

बढी जान्ने बुझ्ने ठहरिन र नेता भइटोपल्न उनीहरू नर्समाथि खनिन्छन्। नर्सलाई पाए खाउँला झैँ गर्छन्। ‘नर्स छुच्ची हुन्छन्’ भनेर हौवा फैलाउने पनि यस्तै हुन्। सरकारी अस्पतालमा डाक्टरहरूले सहयोग गरेका हुन्छन्। अप्ठ्यारो परेको वेला बोलाउँदा आइदिएर परिस्थितिलाई सम्हाल्न मद्दत गर्छन्।

एउटा घटना सम्झिन्छु। बिरामी ७१ सालको अन्तिमतिरको कुरा। साँझको समय थियो। साथी घर गइसकेकी थिइन्। बिरामीको दिनभरिको रिपोर्ट ‘ह्याण्डओभर’ गर्न तयारी गर्दैथिएँ। एकजना कुरुवा कराउँदै आए। १८ नम्बर बेड देखाउँदै उनले भने, ‘यो बिरामीलाई कसले हेरेको छ?’ मैले ‘फलानो डाक्टरले हेनुभएको छ। हामी केयर गर्दैछौँ’, भनेँ। ‘तिमीहरूले यही हो हेरेको’ भन्दै झन् झोक्किन थाले उनी।

‘हामी सबैको केयर गरेर रिपोर्ट लेख्न लागेका हौँ। तपाईलाई के बुझ्न मन लागेको हो भन्नुस् न’, मैले भनेँ। उनी झन् उग्र हुन थाले। अर्को बिरामीको कुरुवा दिदी आउनुभयो, सम्झाउन भनेर। उनी के थामिन्थे, ‘मैले तलाईँ भनेको छु?’ भन्दै झगडा गर्न थाले। गार्डलाई समेत जाइलागे। यस्तो देखेर साह्रै डर लाग्यो। पछि डाक्टर आएर सम्झाएपछि उनी चुप लागे। उल्टाे ‘हातमा कलम लिएर घोचुँला झैँ गरेर कुरा गरेको’ भनेर मलाई आरोप लगाए। मैले बोल्नु उचित ठानिनँ।

आर्थिक अवस्था अलि कमजोर रहेकीजस्ती ती बहिनीलाई सलाइन आदि सामान दिएर हामीले सहयोग पनि गरेकै थियौँ। ती बहिनीका आफन्तले हामीलाई किन त्यस्तो व्यवहार गरे होलान्? पछि उनका बुबालाई सोधेँ, ‘को मान्छे हुन् ती?’ गाउँको सामान्य नेता रहेछन्, बिरामीले पनि राम्ररी नचिनेको। अस्पतालमा पुगेर नेतागिरी देखाइहाले। त्यस्तो केस वर्षमा एक दुईपटक हुन्छ। यस्ता घटना देख्दा कहिलेकाहीँ त बेकारमा यो पेशामा लागिएछ जस्तो पनि लाग्छ।

चित्त बुझाउने बाटाे

सानैमा बिरामी भाइलाई सम्झिन्छु। नर्सिङ पेशामा आएपछि मन बुझाउन अलि सजिलो भएको छ। सबैकाे देखेर आफ्नो घरमा मात्र होइन रहेछ सबैको घरमा पीडा रहेछ भनेर।

अपेक्षा

हाम्रो काम नै बिरामीको सेवा गर्ने। उनीहरूको उपचारलाई सहज बनाइदिने। पेइङमै आएका बिरामी भए पनि आर्थिक अवस्था कमजोर भएको देख्यौँ भने हामी सक्दो सहयोग गरिरहेकै हुन्छौँ। प्यारालाइसिस भएका बिरामी आउँछन्। फिजियोथेरापी लगायत काउन्सिल गरेर पठाएका बिरामी ठमठम हिँडेर आएको सन्तुष्टिको सीमा हुँदैन।

आउँदा अत्यन्त नाजुक अवस्थामा रहेका बिरामी निको भई जाने वेला धन्यवाद दिँदा र पछि पनि खोज्दै आएको देख्दा साह्रै खुशी लाग्छ। तर अझै पनि समाजमा कतिपयले नर्सिङ पेशा र नर्सलाई नराम्रो भनिरहेको देख्दा दुःख लाग्छ। उहाँहरूलाई यत्ति भन्छु, कृपया व्यवहारमा पर्नुस्। अस्पतालमा आएर हाम्रो दुःख बुझिदिनुस्।

प्रस्तुति : रामप्रसाद काैशिक