‘आफ्नो प्रयासले बिरामी राम्रो हुँदा अमूल्य सम्पत्ति पाएकोे आभास हुन्छ’

‘आफ्नो प्रयासले बिरामी राम्रो हुँदा अमूल्य सम्पत्ति पाएकोे आभास हुन्छ’

१० वर्षअघिदेखि नर्सिङ पेशामा रहेकी कास्की झोवाङकी सुसिता केसी हाल काठमाडौंस्थित मेट्रो काठमाडौं हस्पिटलमा कार्यरत छिन्। उनै  नर्स सुसिताका कुरा यो पटकको नर्सका कुरामा–

सानैदेखि अरुको सेवा गर्न, बिरामी, अशक्तहरूको सेवा गर्ने इच्छा पलाउँथ्यो। कोही दुःखमा परेको मानिस देखे कसरी सेवा गर्ने होला भन्ने कुरा मनमा खेलिरहन्थ्यो। सानैदेखि देखेको सपना पूरा गर्ने माध्यम योबाहेक केही हुँदेन जस्तो लागेर २०६२ सालमा जब एसएलसी (प्रवेशिका) पास भएँ। दायाँबायाँ कतै नलागी नर्सिङको पढाइमा लागेँ। पढाइ पूरा गरेर यो पेशामा लागेको पनि १० वर्ष भयो।

नर्सिङ पढ्दा ‘प्राक्टिकल’का क्रममा हामीलाई टेकु अस्पताल लगिएको थियो। यहाँ धेरै किसिमका सरुवा रोग लागेका बिरामी थिए। यीमध्ये एकजना हेपाटाइटिस बीको बिरामी भर्ना भएका थिए। त्यही रोगका कारण उनको कलेजो खराब भएको थियो। अन्तिम अवस्था भइसकेको थियो उनको। डाक्टर, नर्सले बचाउन अनेक कोशिश गरे। तर सकेनन्। त्यो देख्दा मलाई साह्रै नरमाइलो लागेको थियो। त्यो घटनाले मैले के बुझेँ भने, कुनै पनि काममा इमानदार र लगनशील भएर लाग्नुपर्छ। आफूले सकेसम्म प्रयास गर्नुपर्छ, परिणाम सधैँ राम्रै आउँछ भन्ने छैन।

बिरामीलाई बिसेक भएको र आफ्नै नाम लिएर फेरि खोज्दै आएको देख्दा यो पेशामा लागिरहन र अझ योभन्दा पनि राम्रो सेवा गर्ने प्रेरणा जाग्छ। आफ्नो प्रयासले बिरामीहरू ठिक भएको वा उनीहरूको जीवनमा राहत पुगेको कुराले मलाई अमूल्य सम्पत्ति प्राप्त भएकोे आभास दिलाउँछ।

पढाइ सकेर शुरुमा डेन्टल क्लिनिक र पोलिक्लिनिकमा काम गरेँ। अहिले भने मेट्रो काठमाडौं अस्पतालको ओपीडी (बहिरंग) सेवामा कार्यरत छ। सेवा नै धर्म हो भन्ने भावनाबाट अभिप्रेरित भएकाले यहाँ आउने बालबालिका, वृद्धवृद्धा असहाय र अशक्तको सेवा गर्छु। यसमा आत्मसन्तुष्टि प्राप्त हुन्छ।

मेट्रो अस्पतालमा आउँदा शुरुमा मधुमेह रोग लागेका बिरामीलाई परामर्श दिने काम थियो मेरो। डाक्टरको सल्लाहअनुसार परामर्श दिनुपर्ने तर बिरामीहरूलाई बुझाउनै गाह्रो हुन्थ्यो। तर यसमा पनि मैले कत्ति पनि हरेश खाइनँ। आखिर मानिस नै हुन्। कुरा नबुझुञ्जेल भनेको नमान्ने। कुरा बुझिसकेपछि सबै कुरा मान्थे। त्यसले उनीहरूलाई नै सहयोग पुर्याउँथ्यो। पछि पछि बिरामीहरू मलाई नै खोज्दै आउन थाले। यो मेरा लागि साह्र्रै खुशीको क्षण हुन्थ्यो।

मधुमेहका कारण बिरामीको शरीरका महत्त्वपूर्ण अंग मुटु, मिर्गौला, नसा, आँखा जस्ता अंगलाई जोगाइराख्नका लागि डाक्टरको सल्लाह अनुसार औषधिका साथै ‘इन्सुलिन’ दिनुपर्ने अवस्था पनि हुन्थ्यो। इन्सुलिन लगाउनुपर्छ भनेपछि बिरामीहरू ‘अन्तिम अवस्था’ भएको जस्तै सोच्ने। साह्रै गाह्रो हुन्थ्यो। पछि सम्झाइबुझाइ गरेपछि इन्सुलिन लगाउन मान्थे। आफ्नो प्रयासले बिरामीहरू ठिक भएको वा उनीहरूको जीवनमा राहत पुगेको कुराले मलाई अमूल्य सम्पत्ति प्राप्त भएकोे आभास दिलाउँछ।

एउटा अस्पतालमा नर्स र डाक्टर भनेर रथका दुई पाङ्ग्रा जस्तै हुन्। एकविना अर्कोको अस्तित्व छैन। यी दुवैको सहकार्य विना न अस्पतालको सेवा प्रभावकारी हुन्छ, न त बिरामीको उपचार नै हुन सक्छ। यो कुराको अनुभूति मैले यो अस्पतालमा गरेकी छु। रोग लाग्न नदिन वा लागिसकेको छ भने पनि फैलिन नदिन र सहज रूपमा बिरामकिो सेवा गर्न डाक्टर र नर्सको समन्वय हुनैपर्छ।

अस्पतालमा आउने बिरामी धेरै नै पीडित भएर आएका हुन्छन्। उनीहरू हामी निको हुन्छौँ भन्ने भावनाले यहाँ डाक्टरको उपचार र नर्सको परामर्श सेवालेले उनीहरू बिस्तारै निको हुँदै जान्छन्। कुनै कुनै बिरामीहरू बुझाउने अनेक कोशिश गर्दा पनि कुरा बुझ्दैनन्। हामीले दिएको परामर्श ग्रहण गर्नुहुन्न। यो कुरामा चाहिँ साह्रै दुःख लाग्छ।

बिरामीलाई बिसेक भएको र आफ्नै नाम लिएर फेरि खोज्दै आएको देख्दा यो पेशामा लागिरहन र अझ योभन्दा पनि राम्रो सेवा गर्ने प्रेरणा जाग्छ।

आफूले रोजेको पेशामा रहन पाउँदा म असाध्यै खुशी छु। मेरो परिवारले पनि मलाई यो पेशामा रहनका लागि सकेजति सहयोग गरिरहेकै छ। परिवारको साथ र सहयोग नहुँदो हो त यो पेशामा रहन मलाई सहज हुँदैनथ्यो सायद।