‘हाम्रा लागि सबै बिरामी उत्तिकै महत्त्वका हुन्छन्’

‘हाम्रा लागि सबै बिरामी उत्तिकै महत्त्वका हुन्छन्’

स्याङ्जा वालिङमा जन्मेकी निर्मला रेग्मीले नर्सिङ पेशा शुरु गरेको २० वर्ष भयो। हाल कान्ति बाल अस्पतालमा कार्यरत उनै निर्मलाका कुरा यो पटकको नर्सका कुरामा

सानैदेखि मनमा सेवाको भावना थियो, तर नर्स बन्छु भन्ने कहिल्यै साेचकी थिइनँ। बुबा र शिक्षकहरू भने नर्स बन्नुपर्छ  भन्नुहुन्थ्योे। केटी मान्छेका लागि यो पेशा राम्रो हुन्छ भन्ने उहाँहरूकाे बुझाइ थियाे। म भने शिक्षक बनेर समाजको सेवा गर्न चाहन्थेँ। गणितको शिक्षक बन्न चाहन्थेँ।

स्याङ्जा वालिङ नगरपालिकास्थित रणवीर जनहित माविबाट २०५२ मा एसएलसी गरेपछि आईए वालिङमा ‘म्याथ’ लिएर पढ्न थालेँ। बुबालाई एकजना डाक्टरले छोरीलाई नर्सिङ पढाउनुस् भनिदिएछन्। त्यसपछि बुबाले मलाई नर्सिङ पढ्न प्रेरित गर्नुभयो।

आईए फर्स्ट एअर पढ्दापढ्दै म फ्याकल्टी चेन्ज गरेर नर्सिङमा आएँ। नेपालगञ्ज नर्सिङ क्याम्पसमा भर्ना भएँ। त्यतिञ्जेलसम्म अस्पताल नै देखेकी थिइनँ भने पनि हुन्छ। त्यहाँको वातावरण कस्तो हुन्छ थाहा थिएन। होस्टेलमा बसेर पढ्थेँ। बेस्सरी गर्मी थियो। वातावरणमा ‘एडजस्ट’ हुनै गाह्रो भयो।

बिरामीको अवस्था एय्या आत्था जस्ता आवाज सुनेर, धेरै दिनसम्म भर्ना भएका बिरामीका घाउ, पीप देखेर एडजस्ट हुन गाह्रो भइरहेको थियो। हामीलाई पढाउने म्यामहरूले ‘मोटिभेसन’ गर्नुहुन्थ्यो। बिरामीको सेवा गर्ने हाम्रो पेशा हो। ‘बिरामीकाे सेवामा सकेसम्म दिलोज्यान दिएर लाग्नुपर्छ’ भन्नुहुन्थ्यो। म्यामहरूका कुराले यो पेशामा ‘एडजस्ट’ हुन सजिलो भयो। काम गर्दैगर्दै त्यहाँ ‘फेमिलिएर’ हुँदै गइयो। विद्यार्थी भए पनि बिरामीहरूले ‘स्टाफ’ नै हो कि जस्तो व्यवहार गर्नुहुन्थ्यो।

सर्टिफिकेट लेभलको पढाइ सकिएपछि नक्सालस्थित मिडकेयर नेसनल हस्पिटलबाट काम शुरु गरेँ, २०५६ सालमा। त्यहाँकाे मेडिसिन विभागमा काम गरेँ। आठ महिना जति काम गरेँ। अस्पतालका सबैले ज्यादै ‘रेस्पेक्ट’ गर्ने। ‘सपोर्ट’ गर्ने। काम गर्ने वातावरण एकदमै राम्रो थियो। त्यसपछि कान्ति बाल अस्पताल महाराजगञ्जमा करारमा नाम निस्कियो।

कान्तिमा काम गर्न थालेको डेढ महिना मात्र भएको थियो, लोकसेवामा नाम निस्कियो। त्यसपछि सन्धिखर्कस्थित अर्घाखाँची जिल्ला अस्पताल पुगेँ। स्टाफ नर्स कोही थिएनन्। म गएपछि सबैजना खुशी भए। म गएपछि अरु पनि आएँ।

अस्पताल पुग्ने बाटो कच्ची थियो। ठाडा भन्ने ठाउँसम्म गाडी पुग्थ्यो। त्यहाँबाट हिँड्नुपर्थ्याे। घर आउजाउ गर्न गाह्रो थियो। तर अस्पताल पुगेपछि केही नसम्झी काम गरिरहन्थेँ। त्यहाँ दुई वर्ष बसेँ।

विशेषगरी मैले काम गर्नेजस्तो सरकारी अस्पतालमा बिरामीको अनुपातमा नर्स धेरै कम छन्। सिद्धान्तका कुरा जसरी हामीले पढ्यौँ, त्यसअनुसार काम गर्नै पाउँदैनौँ। नर्स र बिरामीको अनुपात मिल्ने हो भने हामीले अझ राम्रो सेवा दिन पाउँथ्यौँजस्तो लाग्छ। हामी मात्र होइन बिरामी पनि सन्तुष्ट हुन्थे।

५९ सालमा पुनः कान्तिमा आएँ। यहाँ आएपछि विवाह भयो। जन्मघर स्याङ्जाबाट कर्मघर चितवन पुगेँ। श्रीमान् पनि हेल्थ असिस्टेन्ट हुनुहुन्थ्यो। उहाँ पनि स्वास्थ्य क्षेत्रमै भएकाले परिवारबाट सपोर्ट भयो। त्यो अहिलेसम्म पनि कायम छ।

कान्ति आएपछि ‘इमर्जेन्सी’मा साढे दुई वर्ष गरेँ। त्यसपछि एनआईसीयूमा डेढ वर्ष।

त्यसबीचमा बीएन गर्न गएँ। बीएन सकेपछि सरकारले धादिङ पठायो। तर त्यहाँ दरबन्दी नहुँदा ६५ सालमा पुनः कान्तिमै फर्किएँ। ११ वर्ष पुग्यो यहीँ छु। याे अवधिमा धेरै विभागमा काम गरेँ। अहिले जनरल मेडिकलमा छु।

म कार्यरत अस्पतालमा देशका दुर्गम ठाउँबाट समेत बिरामी आउँछन्। आफ्ना मान्छे नभएकाले रामोसँग उपचार हुँदैन भन्ने ठानेर होला उनीहरू ‘हामी टाढाबाट आएका, हाम्रो यहाँ कोही छैन’ भनेर गुनासो गर्छन्। ‘यहाँ मान्छे भएका वा नभएकाका लागि हामी समान हौँ, सबैलाई दिने सेवा उस्तै हो’ भनेर आश्वस्त पार्छौँ। त्यसपछि उनीहरू ढुक्क हुन्छन्।

बिरामी त बिरामी भइहाले। कुरुवाको व्यवहार पनि नराम्रो हुँदैन। आक्कलझुक्कल हेर्न आउनेले चाहिँ अलि असहज व्यवहार देखाउँन्। उनीहरूले हाम्रो काम देखेकै हुँदैनन्। हाम्रो दुःख देखेकै हुँदैनन्। त्यसैले यस्तो भएन, उस्तो भएन भन्दै हामीहरूलाई गुनासो गर्छन्। हामी उनीहरूलाई बुझाउनतिर लाग्नुभन्दा पनि बिरामीलाई ‘काउन्सिलिङ’ गर्ने ध्याउन्नमै हुन्छौँ।

फेरि म कार्यरत अस्पताल त बच्चाहरूको उपचार हुने ठाउँ। बच्चाका लागि भनेपछि अभिभावकहरू आत्तिन्छन् नै। बच्चालाई सानो समस्या पर्दा पनि के होला, कसो होला भन्ने हुन्छ। त्यसैले उनीहरूमा जिज्ञासा हुनु स्वाभाविक हो । आफू पनि बच्चाको अभिभावक भएकाले उनीहरूको भावना बुझेर काम गर्नुपर्छ। भर्खर आएकाहरूलाई उनीहरूसँग ‘डिल’ गर्न गाह्रो पनि हुन सक्छ।

उपचारका लागि अस्पताल ल्याइएका बच्चालाई ‘कन्भिन्स’ गराउन, उनीहरूको केयरमा संलग्न हुन सजिलो हुँदैन। किनभने अरुवेला पनि हामीले बच्चालाई तर्साउन ‘भनेको मानेनौ भने अस्पताल लगेर सुई लगाइदिन्छौँ’ भनेका हुन्छौँ। उनीहरूमा त्यो छाप परेको हुन्छ। बच्चाको मन जितेर उनीहरूलाई ठाउँमा ल्याउनै कठिन हुन्छ। उनीहरूको केयरमा झन् ‘सेन्सेटिभ’ भएर काम गर्नुपर्ने हुन्छ

एनआईसीयूमा काम गर्दा एक महिना पनि नपुगेका बच्चा भर्ना गरेको हुन्छ पाँच\छ सय ग्रामसम्मको बच्चा भर्ना गरिएको हुन्छ। उनीहरूलाइ हाम्रै केयरले ठीक बनाएर पठाएका हुन्छौँ। एकदमै सेन्सेटिभ भएर केयर गरिरहेका हुन्छौँ। ‘नाइट ड्युटी’मा काम गर्दा चप्पल घिसारेर आवाज सुन्दा पनि रोइरहेका बच्चा चुप लाग्ने हुन्छ। यस्ता बच्चाहरूलाइ राम्रो बनाएर पठाउँदा साह्रै माया लाग्छ। कतिलाई त भुल्नै सकिँदैन।

मैले काम गरिरहेको ठाउँमा मिर्गौलाका बिरामी र कुपोषणका बिरामी धेरै समय बसेका हुन्छन्। बरु कुपोषण भएकाहरू राम्रो भएर जान्छन्। मिर्गौलाका रोगीहरू पछि ‘फलोअप’का लागि आउँदा हामीसँग भेट हुन्छ। बिरामी राम्रो भएर हिँडेको देख्दा हामी खुशी हुन्छौँ।

कोही त्यहीँ बित्छन्। तर भर्खर जन्मेका भन्दा अलि उमेर भएका बच्चाहरू, बोल्न थालिसकेका बच्चा बित्दा देख्दा नरमाइलो लाग्छ। घरमा पुग्दा पनि उनीहरूले हाँसकाे, बाेलेकाे याद आइरहन्छ।

अन्य कामकाजी महिलाको तुलनामा नर्सलाई गाह्रो छ। बच्चा पाएर हुर्काउन साह्रै गाह्रो। अरुलाई सल्लाह दिने वेला बच्चालाई कम्तीमा ६ महिना निरन्तर आमाको दूधमात्रै ख्वाउनु भनेर सल्लाह दिन्छौँ। तर आफू भने त्यसो गर्न सक्दैनौँ। ‘लेक्टाेजेन’ खुवाएर हुर्काउनुपर्छ। याे आम नर्सहरूको समस्या हो। मेरो नानी र बाबु जन्मिँदा ६० दिन विदा थियो।

त्यसपछि दूधे बालकलाई घरमा छाडेर ड्युटी जानैपर्ने। ६ महिनापछि पछि रातबिहान भन्न नपाइने, जुनसुकै वेला ड्युटी पर्ने। अरुवेला त तैबिसेक बिरामी भएका वेला छाडेर हिँड्नुपर्दाचाहिँ साह्रै दुःख लाग्ने। भौतिक शरीर अस्पतालमा भए पनि मनचाहिँ घरतिरै जाने। बच्चालाई न केही भयो कि भनेजस्तो लागिरहने।

यो पेशामा लागेको २० वर्ष पुग्दा थुप्रै तितामिठा अनुभव सँगालेकी छु। अर्घाखाँची अस्पतालमा रहँदाको एउटा घटना सम्झिन्छु। पढाइ सकेर भर्खर काम थालेकी थिएँ। उमेर पनि सानै थियो। ‘डेलिभरी’को एउटा केश आएको थियो। हामीले प्रयास गर्दा नहुने खालकै थियो। ‘अस्पतालमा गर्न सक्ने स्थिति छैन, चाँडो अन्त लग्नुस्’ भनेर सल्लाह दियौँ।

तर बिरामीका आफन्तले ‘दुई दिन काम गरेकाले भनेर हामी कहाँ लग्छौँ? सिनियरलाई देखाउँछौँ’ भनेर कुर्न थालेँ। उता बिरामी छट्पटाइरहेकी थिइन्। यस्तो केसमा पनि किन यस्तो हेलचेक्र्याइँ गरेको होलाजस्तो लाग्यो। पछि डाक्टर आएर सम्झाएपछि मात्र अन्यत्रै लगे। आमा र बच्चाको अवस्था कस्तो भयो होला भन्ने जिज्ञासाकाे समाधान भएन।

कान्तिमै एनआईसीयूमा शुरुमा काम गर्दा एउटा बच्चाको नसा खोल्न गाह्रो भयो। मलाई त्यसको त्यति अनुभव नभएकाले पछि पछि सरेँ। अरु सिनियर म्यामहरूले खोल्न खोज्नुभयो तर सक्नुभएन। यी सबै दृश्य एकजना डाक्टरले हेरिरहनुभएको रहेछ। उहाँले ‘तपाईँ किन अघि नसर्नुभएको’ भन्नुभयो। ‘मैले सक्दिनँ कि भनेर’ भनेँ। उहाँले मलाई अघि बढ्न भन्नुभयाे।

मेरै प्रयासमा बच्चाको नसा खोलियो। डाक्टर–नर्सहरूले मेरो तारिफ गर्नुभयो। सानोतिनो ‘सेलेब्रेट’ नै गर्नुभयाे। यो घटनाले मलाई झै राम्रो गर्न सक्छु भन्ने प्रेरणा भयो।

विशेषगरी मैले काम गर्नेजस्तो सरकारी अस्पतालमा बिरामीको अनुपातमा नर्स धेरै कम छन्। सिद्धान्तका कुरा जसरी हामीले पढ्यौँ, त्यसअनुसार काम गर्नै पाउँदैनौँ। नर्स र बिरामीको अनुपात मिल्ने हो भने हामीले अझ राम्रो सेवा दिन पाउँथ्यौँजस्तो लाग्छ। हामी मात्र होइन बिरामी पनि सन्तुष्ट हुन्थे।

अर्को कुरा नर्सहरूका लागि हरेक अस्पतालमा ‘चाइल्ड केयर’ राखिदिए हुन्थ्याे। कम्तीमा ६ महिनासम्म आफ्ना बच्चाको केयर गर्न पाउँछन्। वेलावेलामा दूध खुवाउन पाउँछन्। हामीले त भोग्यौँ अब आउने ‘जेनेरेसन’का नर्सलाई सहज बनाइदिए हुन्थ्यो भन्ने लाग्छ।

अस्पतालमा चिनजानकै भरमा चाँडै वा पहिले काम गरिदिने आश नराखिदिए हुन्थ्यो। किनभने सबै बिरामी हाम्रा लागि महत्त्वपूर्ण हुन्। नर्सले कराउने भनेको पनि बिरामीकै लागि हो। ‘धेरैजना नबसिदिनुहोस्, बिरामीलाई झर्को लाग्छ’, बाहिरबाट आउँदा किटाणुहरू आउन सक्छन् हाेश पुर्याउनुहाेस्’  भनेर सम्झाइरहन्छौँ। ती कुरा बिरामीका आफन्तलाई तितो लाग्दो होला।

कहिलेकाहीँ याे पेशाप्रति दिक्क नलाग्ने हाेइन। कस्तो पेशा हो याे, जहिल्यै पनि एउटै पदमा बस्नुपर्ने भन्ने त लाग्छ।  ‘करियर डेभलपमेन्ट’ काे अवसर नै छैन। लोकसेवा खुलिरहने वा पदाेन्नति भइरहने भए हामीजस्ता देशमै बसेर सेवा गर्न चाहनेका लागि प्रेरणा हुन्थ्याे।

कहिलेकाहीँ मानिसहरूले ‘नर्सिङ’लाई तल्लो तहको पेशाजस्ताे ठानेर व्यवहार गरेकाे ‘फिलिङ्स’ हुन्छ।  समाजले नर्सको मर्का बुझिदिए हुन्थ्याेजस्ताे लाग्छ। तै पनि मानिसलाई जीवन दिने पेशामा लागेर सम्झिँदा गर्व लाग्छ।

नर्सिङ पेशा दिनरात वा बिहान बेलुकी भन्न पाइँदैन। श्रीमान् र घरपरिवारको सहयोग नभए यो पेशालाई निरन्तरता दिने कुरा सोच्न पनि सकिँदैन। साना हुँदा भनेजस्तो केयर गर्न नपाए पनि १३ वर्ष पुगेकी छोरी र आठ वर्षका छोराले मामुको मर्का बुझेर अनुकूल वातावरण बनाइदिएकाले काम गर्न सहज भएको छ।

हेल्थ टीभी अनलाइनका रामप्रसाद काैशिकसँगकाे कुराकानीमा आधारित