‘अस्पताल नै मेरो मन्दिर’

‘अस्पताल नै मेरो मन्दिर’

२०५८ मा नर्सिङ पेशा शुरु गरेकी पाल्पाकी भोजा बस्यालले सरकारी सेवा गरेकै १६ वर्ष भइसकेको छ। परिवार नियोजनबाट सेवा थालेकी उनले सुनसरीको इनरुवा अस्पताल, कान्ति बाल अस्पताल, रसुवा अस्पताल हुँदै अहिले वीर अस्पतालमा कार्यरत छिन्। योपटकको नर्सका कुरामा भोजाका कुरा उनकै शब्दमा–

पाल्पाको वग्नाशकाली गाउँपालिका (साविकको एम्घा गाविस) स्थित जनता विद्यालय तानसेनबाट २०५२ सालमा एसएलसी गरेँ। एसएलसीपछि साइन्स पढ्दै थिएँ पूरा नगर्दै २०५४ सालमा नर्सिङ ‘ज्वइन’ गरेँ।

सानोमा म धेरै बिरामी भइरहने। त्यही कारण मेरो एसएलसी पनि केही ढिला भएको थियो। बुबाले यसलाई सरकारी जागिर खुवाउनुपर्छ भन्नुहुन्थ्यो। दाइको प्रेरणाले मैले नर्सिङ पढेकी। पछि बहिनीले पनि पढिन्। हामी दिदीबहिनी नै स्टाफ नर्स छौँ।

पीसीएल नेपालगञ्जमा पढेँ। नर्सिङ पेशा कस्तो हुन्छ भन्ने ज्ञान थिएन। यतिसम्म कि ‘नाइट ड्युटी’ गर्नुपर्छ भन्ने पनि थाहा थिएन। पढाइकै क्रममा ‘फर्स्ट एअर’मै नाइट ड्युटी गर्नुपर्यो। एकदमै पीर लाग्थ्यो। त्यतिवेलाको मेरो सोचाइ सम्झेर अहिले हाँसो लाग्छ। सोच्थेँ, ‘आफूलाई चाहिँ यति गाह्रो छ। आमाबुबा भने घरमा मस्त सुतिरहेका छन्।’

सिकाइका क्रममा कुनै समस्या भएन। म्या’महरूले नभई ‘थर्ड एअर’का सिनियर दिदीहरूले सिकाउने हुनाले सहजै रूपमा सिकियो। २०५८ सालमा क्लियर गरेँ। पढाइ त पूरा गरेँ। शुरुमै के छाप पर्यो भने, ‘आफ्नो मान्छे भएमात्रै जब पाइने रै’छ।’ परिवार नियोजन संघका लागि दाङमा अन्तरवार्ता दिन गएँ। राम्रै भएको थियो। तर जागिर पाइनँ।

तर केही समयपछि बोलाइयो, ‘तपाइँको ‘इन्टरभ्यु’ राम्रो भा’थ्यो। हामी राख्छौँ’, भनेर। सर्लाहीको लालबन्दीमा संघको ‘फ्यामिली प्लानिङ सेन्टर’ थियो जहाँ बर्थिङ सेन्टरको काम पनि हुन्थ्यो। हरिओनमा पनि बसियो।

सञ्चारमाध्यमको व्यापकता भएर होला अहिले कम उमेरमा आमा बनेकाको समाचार आउँछ। त्यहाँ मैले शुरुमा १४ वर्षकी महिलाको प्रसूति गराएँ। आफूले गर्नुपर्ने कामै हो। त्यसैले सहजै गरेँ। एकजना दिदी सहयोगी हुनुहुन्यो। अहिले सोच्दा अचम्म लाग्छ। केही ‘इमरजेन्सी’ परेको भए! नजिक राम्रो सुविधा भएका अस्पताल थिएन। कि जनकपुर लग्नुपथ्यो कि वीरगञ्ज। कम उमेरमै आमा भए पनि उनी सामान्य नै थिइन्। बच्चा पनि नर्मल नै थियो।

त्यहाँ साढे दुई वर्ष गरेँ। त्यसपछि ‘मेरी स्टोप्स’ले बाेलायाे। संघको जागिर छोडेर नवलपरासीको बर्दघाट पुगेँ। मेरी स्टोप्समा काम गर्दागर्दै विवाह भयो। त्यहाँ ६ महिनाजति गरेपछि लोकसेवामा नाम निस्कियो।

शुरुको ‘पोस्टिङ’ भयो, इनरुवा अस्पतालमा। १५ शय्याको थियो त्यतिवेला। एकै रात पाँच वटासम्म ‘डेलिभरी’ गरेर १५ जना बिरामी पनि हेर्नुपथ्र्यो। त्यहीँ हुँदा बाबु जन्मियो। नौ महिना भएपछि अस्पताल जान थालेँ, बच्चा लिएर। उपाय नै थिएन। श्रीमानको जागिर अन्यत्रै थियो।

रातिको ड्युटी। बच्चालाई कुर्सीमा सुताएर बिरामी हेर्थेँ। डेलिभरी गराउँथेँ। बाबु रुँदा पियन दिदीहरूले फुल्याइदिन्थे। कामकाजी महिलालाई बच्चा हुर्काउन गाह्रो। नर्सलाई झन् गाह्रो। चार वर्ष सुनसरीमा बसेपछि काठमाडौंको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा आएँ। एक डेढ वर्ष ‘इमरजेन्सी’मा गरेँ।

त्यसपछि ‘बर्न युनिट’मा गरेँ, आगोले पोलेका बिरामीको उपचार हुने कक्ष। सानासाना नानीबाबु, कसैको दुईटै हात काट्नुपर्ने, कसैको दुईटै खुट्टा। कतिको अनुहार नै बिग्रिएको हुने। आमाबाबु छोराछोरीको पहिलेको फोटो देखाउँथे र भन्थे, ‘कस्तो थियो, कस्तो भयो।’ त्यो देखेर हामी नै सम्हालिन सक्दैनथ्यौँ। उनीहरू कसरी सम्हालियून्। दुवै हात काट्नुपरेकालाई खुट्टाले लेख्न सिकाउँथ्यौँ।

कहिलेकाँही त बोल्ने फुर्सद हुँदैन। कसैसँगै बोल्नै नपरेजस्तो हुन्छ। एउटै बिरामीका एउटै कुरा फरक फरक भिजिटरले सोधिदिँदा कहिलेकाही रिसाउनु अवस्था त हुन्छ। तर पनि बिरामी र भिजिटरसँग अहिलेसम्म मैले असहज परिस्थितिको सामना गर्नुपरेको छैन।

चाडपर्व आएपछि झन् धेरै यस्ता ‘केस’। दशैँताका खसीबोका काट्न ठिक्क पारेको उमालेको पानीले पोलेका, मासुका झोलमा डुबेका, तिहारमा पटाकाले लागेका बच्चा लिएर आउँथे तिनका अभिभावक। यसरी उपचारका लागि आउनेमा भर्खर हिँड्न शुरु गरेकादेखि पाँच ६ वर्षसम्मका बालबालिका हुन्थे।

त्यसपछि २०७१ सालको अन्त्यतिर रसुवा पुगेँ। १५ शय्याको रसुवा अस्पताल धुन्चेमा। केही समयपछि भूकम्पले विनाश गर्यो। भूकम्पमा परेका मानिसहरूको सेवा गरियोे। अस्पताल भत्किएको थियो। डाक्टर, नर्स र स्टाफहरुका लागि सुत्ने ठाउँ थिएन। सुरुमा एक साता सबै टेन्टमुनि सुत्यौँ सबै स्टाफ। पछि महिला पुरुषलाई छुट्टाछुट्टै टेन्ट बनाइयो। त्यति हुँदा पनि स्वर्गमै बस्न पाएजस्तो अनुभूति भयो। पाँच छ महिना यसरी नै बसियो। केही समयपछि जस्ताको टहरा बनाएपछि अलि सहज भयो। त्यहाँ क्यानेडियन रेडक्रसको टोलीसँग काम गर्दा धेरै नयाँ कुरा सिक्न पाएँ।

भूकम्पपछि झगडा गरेर घाइते भएका बिरामीहरूको बढी उपचार गर्नुपर्ने भयो। कारण थियो, भूकम्पको पीडामा परेकालाई तत्कालका लागि सरकारले राहतस्वरूप दिएको १५ हजार रुपैयाँ। पैसा पाएपछि घरबासको बन्दोबस्त गर्नुको साटो मानिसहरू रक्सी खाएर झगडा गर्न पो थालेछन्। अनि घाइते भएर अस्पताल आउँथे। प्रसूति गराउने कामसँगै उनीहरूको उपचारमा व्यस्त हुन्थ्यौँ।

त्यहाँ काम गर्दाको एउटा घटना सम्झिन्छु। एक महिलाको ‘सिजरियन डेलिभर’ भयो। बच्चालाई ‘सलाइन’ लगाउन पर्ने अवस्था आयो। अस्पतालका डाक्टर, नर्सका साथै क्यानेडियन रेडक्रसका प्रोफेसरहरू पनि थिए। कसैले आँट गरेनन्। मसँग कान्तिमा काम गरेको अनुभव थियो। म अघि सरेँ। बच्चालाई ‘क्यानोला’ लगाएँ। छ महिनासम्म बस्दा विदेशी टोलीले मेरो तारिफ गर्याे। बच्चा आए मलाई नै देखाउँथे। निश्चय नै मलाई ठूलाभन्दा बच्चाको उपचार गर्न सहज लाग्छ। त्यहाँ दुई वर्ष बसेँ।

त्यसपछि साढे दुई वर्ष अघि मात्र वीर अस्पताल आएँ। आएदेखि नै अंकोलोजी युनिटमा छु, क्यान्सरको उपचार कक्ष। यहाँ पनि बिरामीहरूको हालत देखेर फ्रस्टेसन हुने। भर्खर एसईई दिएका होनाहार किशोरकिशोरी क्यान्सरले गाँजेका देख्नुपर्छ। उपचार प्रक्रिया नै कठिन। पैसा पनि सकिने, मानिस पनि नरहने। थोरैको मात्र राम्रो हुन्छ। धेरैको मृत्यु भएको हेर्नुपर्छ।

यहाँको उपचार प्रक्रिया लामो हुन्छ। केमो लगाउँदा पाँच छ दिन बसेका हुन्छन्। अनि १५ वा २१ दिनमा भिजिटका लागि आउँछन्। फेरि केमो दिन परे पाँच छ दिन बस्नुपर्छ। त्यसैले बिरामीदेखि उनका परिवारसँग हामी क्लोज भएका हुन्छौँ। परिवारका सदस्यझैँ बन्छौँ।

६ महिनाजति अघि झापाका एक भाइ बित्दा हामी धेरै दिनसम्म रोयौँ। आन्द्राको क्यान्सर भएको थियो। उपचारकै क्रममा उसले ‘बर्थ डे’ मनाउन जान्छु भनेको थियो। हामीले डाक्टरसँग सोध्यौँ। तर जान दिन नमिल्ने डाक्टरले बताए। हामीले अस्पतालमै जन्मोत्सव मनाइदियौँ। हामीलाई थाहा थियो, ऊ यो संसारमा केही दिनको पाहुना मात्र हो।
बित्ने दिन मेरो ड्युटी थिएन। अरु नर्स सुनाए। धेरै क्लोज भइएछ अब कसैसँग पनि हुन्न भनेजस्तो लाग्छ तर आफसेआफ हुने रहेछ। चाहेर वा नचाहेर हुने होइन रहेछ।

डाक्टर र नर्सको सम्बन्ध ढुंगाको भर माटो, माटोको भर ढुंगा भनेजस्तै हो। हामी उहाँहरूलाई ‘सपोर्ट’ गर्छौँ। कहिलेकाँही डाक्टरहरूले हामीलाई सपोर्ट नगरेको देख्दा दुःख लाग्छ। तर सबै त्यस्तो हुनुहुन्न। ‘भिजिटर’ ले बोलाको वेला आएन भनेर रिसाउँछन्। एकैजनाले धेरै बिरामी हेर्नुपर्ने हुनाले जान भ्याउँदैनौँ। उनीहरूले हाम्रोबारेमा डाक्टरसँग ‘कम्प्लेन’ गर्छन्। यो वेला हाम्रो मर्का डाक्टरले बुझिदिउन्, हाम्रो पक्षमा बोलिदिऊन् भन्ने अपेक्षा हुन्छ। तर कहिलेकाहीँ उहाँहरूको तर्फबाट त्यो भइदिँदैन।

नर्सका विषयमा आम मानिसको गुनासो मैले पनि सुन्ने गरेकी छु। कुनै कुनै नर्सले बिरामी र ‘भिजिटर’लाई गरेको व्यवहार मलाई पनि मन पर्दैन। त्यसरी नबोलिदिए हुन्थ्यो वा त्यस्तो व्यवहार नगरिदिए हुन्थ्यो भन्ने लाग्छ। नर्स र बिरामीको रेसियो नमिलेर कामको भार पर्दा कोही कोही रिसाउँछन्।

कहिलेकाँही त बोल्ने फुर्सद हुँदैन। कसैसँगै बोल्नै नपरेजस्तो हुन्छ। एउटै बिरामीका एउटै कुरा फरक फरक भिजिटरले सोधिदिँदा कहिलेकाही रिसाउनु अवस्था त हुन्छ। तर पनि बिरामी र भिजिटरसँग अहिलेसम्म मैले असहज परिस्थितिको सामना गर्नुपरेको छैन।

यो पेशामा म ‘स्याटिस्फाइ’ नै छु। यो पेशामा लागेर मैले केही गुमाएजस्ताे लाग्दैन। मन्दिर गएर पूजा गर्नुभन्दा अस्पतालमा गएर बिरामीको उपचार गर्न उत्तम लाग्छ। मेरा लागि अस्पताल नै मन्दिर हो।

चाडपर्वमा पनि घरमा भन्दा अस्पातालमै बढी रमाउँछु। बिरामी भएर बस्नेले पनि त मनाउन पाएका छैनन्। उनीहरूको सेवा गर्न पाउनु ठूलो कुरा हो जस्तो लाग्छ। परिवार पनि अभ्यस्त भइसकेकाले असहज ‘फिल’ गर्दैन।

सबै बिरामीको कुरा सुन्न पाए हुन्थ्यो, सबैलाई खुशी पार्न पाए हुन्थ्यो भन्ने त लाग्छ, कामको भार धेरै हुँदा चाहेअनुसारको सबै सेवा दिन सकिँदैन। बिरामीलाई ‘केयर’ गर्न वा ‘काउन्सिल’ गर्न पाइँदैन। खालि औषधि बाँड्ने मात्रै हुन्छ। २७\३० जना बिरामी एकदुई नर्सले हेर्नुपर्ने भएपछि कसरी सबैलाई खुशी बनाउन सकिन्छ र!

हेल्थ टिभी अनलाइनका रामप्रसाद काैशिकसँगकाे कुराकानीमा आधारित