‘बिरामीको दुखाइमा आफूलाई दुखेको महसुस नगर्ने नर्स हुन सक्दैनन्’

‘बिरामीको दुखाइमा आफूलाई दुखेको महसुस नगर्ने नर्स हुन सक्दैनन्’

सुनसरीस्थित प्रकाशपुरकी अमिता पौडेल ललितपुरको सानेपास्थित स्टार हस्पिटलमा स्टाफ नर्स हुन्। ६ वर्षदेखि नर्सिङ पेशामा रहेकी उनी  इमरजेन्सी, वार्ड र आईसीयू हुँदै हाल ‘अपरेसन थिएटर कोर्डिनेटर’ रहेकी छिन्। उनै अमिताका कुरा यसपटकको नर्सका कुरामा–

प्रकाशपुरस्थित श्रीभगवती निमाविमा कक्षा ७ सम्म पढेर काठमाडौंकाे शहीद शुक्र माविबाट एसएलसी पास गरेँ। म स्कुलमा पढ्दा नै मेरो परिवारको इच्छा थियो मलाई नर्स बनाउने। विशेषगरी मेरा कान्छा काका तीर्थ पौडेल मलाई नर्स बनेको देख्न चाहनुहुन्थ्यो।

कक्षा ५–६ मा कता हो मैले फ्लोरेन्स नाइटिङ्गेलको जीवनी पढेको थिएँ। उनको संघर्ष र बिरामी असहायहरूका लागि गरेको सेवाको कथा पढेर म ज्यादै प्रभावित भएँँ। उनैको जीवनीबाट मलाई नर्स बनेर बिरामीको सेवा गर्ने भावना जागेको हो। म सानैदेखिअलि आध्यात्मिक प्रवृत्तिकी पनि छु । अरुलाई चोट पुर्याउनुहँदैन, सकेसम्म दुःखी गरिबको सेवा गर्नुपर्छ, सहयोग गर्नुपर्छ भन्ने भावना थियो मभित्र। त्यसले पनि मलाई नर्स बन्न सहज भएको होला।

स्कुलमा मेरो पढाइ राम्रै थियो। पढाइ राम्रो भएरै होला, छात्रवृत्ति पनि पाएँ। पछि नर्सिङ पनि छात्रवृत्ति पाएरै पढेको हो। पढाइका क्रममा ‘प्राक्टिकल’ वीर अस्पतालमा थियो। धेरै व्यस्त भइन्थ्यो। कामसँगै पढ्नु पनि पर्ने। धेरै धपेडी हुने हुनाले कहिलेकाँही त पढाइ नै ‘चेञ्ज’ गरेर अर्कै ‘फिल्ड’मा लागुँ कि जस्तो लाग्थ्यो। तर अस्पतालमा आएका बिरामीले दिएको मायाले सबै दुःख भुल्थेँ।

वीर अस्पतालमा विशेषगरी असहाय दुःखी मानिसहरू आउने उनीहरूले हामीलाई विद्यार्थी नभनी साह्रै सम्मान गर्ने गर्थे। तर एकजना ‘म्याडम’ हुनुहुन्थ्यो। जहिले पनि गाली गर्ने। अनेक बहाना बनाएर एकदमै दुःख दिने। उहाँको व्यवहार देख्दा कस्तो पेशामा लागेछु भन्ने लाग्थ्यो। तर परिवारको सपना र आफ्नो आकांक्षा पूरा गर्न ‘स्ट्रगल’ गर्नुको विकल्प पनि त थिएन।

हामी नर्सहरूलाई हाम्रो पढाइ र पोस्ट अनुसारको ‘जब स्याटिस्फ्याक्सन’ हुँदैन। हाम्रो बारेमा खुलेर बोलिदिने कुनै निकाय पनि छैन। त्यसैले धेरै ठाउँमा नर्स पीडामा छन्। काउन्सिल र नर्सिङ एसोसिएसनले पनि त्यति प्रभावकारी भूमिका खेलेजस्तो लाग्दैन। नर्सलाई धेरै ‘ह्यारेसमेन्ट’ छ।

पढाइ सकेर ललितपुरको एकान्तकुनास्थित स्टार अस्पतालमा ३ महिना ‘भोलेन्टर’को रूपमा प्रवेश गरेँ। ७० सालमा जागिर शुरु भयो। इमरजेन्सी, वार्ड र आईसीयू हुँदै अहिले अपरेसन थिएटर (ओटी)मा छु। अझ भनौँ सबै कक्षको अनुभव लिइसकेको छु। काम गर्दागर्दै ‘पीबीबीएन’(पोस्ट बेसिक ब्याचलर अफ नर्सिङ) पनि पढेँ। यहाँसम्म आइपुग्दा सिनियर नर्स र डाक्टरको ‘सुपरभिजन’मा काम गरियो। सम्झेर पश्चाताप गर्नुपर्ने गरी कुनै गल्ती गरिएको छैन। सबैको प्रोत्साहन र सहयोगले म अहिले ‘ओटी कोर्डिनेटर’ भएकी छु।

बिरामीको उपचारको सन्दर्भमा डाक्टर नर्सको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्छ जस्तो लाग्छ। एउटा विना अर्कोको काम अधुरो र अपूरो हुन्छ। डाक्टरले जाँचेर, औषधि लेखेर दिएर मात्रबिरामी ठीक हुँदैन। मात्रा मिलाएर खुवाउने, बिरामीको अवस्थाअनुसारको व्यवहार गर्ने वा अझ भनौँ २४सै घण्टा उनीहरूको‘केयर’ गर्ने काम गर्ने त नर्स नै हो। त्यसैले एकले अर्कालाई ‘रेस्पेक्ट’ गर्नुपर्छ। कहिलेकाँही दुईबीच ‘मिसअण्डरस्ट्यान्डिङ’ हुन्छ। काम गर्दै जाँदा ‘सल्भ’ हुन्छ।

त्यसो त बिरामीहरू सबै मायालाग्दा हुन्छन्। शय्यामा रहेका बिरामी जोसुकै देख्दा हामी ‘इमोसनल’ हुन्छौँ। हामी सबैलाई उस्तै माया र व्यवहार गर्छौँ। सबैको दु:ख हामी बुझ्छौँ। उमेरअनुसारको ‘रिलेसन मेन्टेन’ गरेर केयर गर्छाैँ। अस्पतालमा एउटै बिरामी धेरै समय बस्दा पारिवारिक सदस्य झैँ बनेका हुन्छाैँ। उनीहरू घर जाँदा खुशी लाग्छ। पाका बिरामी जाने वेला आशिर्वाद दिन्छन्। काम गाह्रो भए पनि उनीहरूको आशीर्वाद पाउँदा संसारकै सबैभन्दा भाग्यमानीजस्तो लाग्छ। धर्मको काम गरेजस्तो लाग्छ। उपचार गराउन आएका सानासाना भाइबहिनीको झन् धेरै माया लाग्छ।

कतिपय बिरामी बिसेक भएर गएको धेरैपछि पनि मिठाइ, फलफूल लिएर खोज्दै भेट्न आएको देख्दा नर्स भएकामा साह्रै गर्व लाग्छ। हामी नर्स एकदमै ‘इमोसनल’ हुन्छौँ। त्यसैले त बिरामीको दुःख बुझ्न सक्छौँ। उनीहरूलाई सेवा दिन सक्छौँ। बिरामीको भावना बुझ्न नसक्ने मानिस नर्स बन्नै सक्दैन जस्तो लाग्छ।

तर सबै बिरामी एकै हुँदैनन्।मैले अनुभव गरेको कुरा, पैसावाल बिरामी र तिनका आफन्त नर्सहरूको ‘भ्याल्यु’ नगर्ने खालका हुन्छन्। उनीहरू डाक्टरलाई हाम्रा बारेमा नभएका कुरा लगाएर ‘कम्प्लेन’ गर्छन्। हामी मानिस नै हौँ। त्यस्तो देख्दा कहिलेकाँही रिस उठ्छ। ‘उनीहरूमा ज्ञान नै छैन त के गरुन्’भनेर चित्त बुझाउँछौँ।

शुरु शुरुमा काम गर्दाताकाको कुरा! त्यतिवेला शुभेच्छा इन्टरनेसनल हस्पिटलमा ‘पार्ट टाइम’ काम गर्थेँ। त्यहाँ उपचार गराउन आएका एक जना बिरामीलाई कहिल्यै भुल्न सक्दिन। डाक्टरका आफन्त पर्ने महिलाको अप्रेसन गरिएको थियो। जति केयर गरे पनि हामीलाई जस नदिने। डाक्टर आएपछि कुरा लगाइहाल्ने, ‘यस्तो गरी, उस्तो गरी’ भनेर। उनको कुरा सुनेर डाक्टरले हामीलाई गाली गर्थे। त्यो देखेर बेकारमा नर्स बनिएछ जस्तो लाग्थ्यो।

चाडबाड, पारिवारिक जमघट, साथीभाइसँगको रमाइलो केही नभनी हामी बिरामीको सेवामा खट्छौँ। मनमा पिर भए पनि बिरामीको अगाडि मुस्कुराएर सेवा दिन्छौँ। बिरामीको दुखाइमा आफैँलाई दुखेको महसुस गर्छौँ। समयको त कुरै छाडौँ, भोकभोकै पनि खटेका हुन्छौँ। कतिलाई ‘ब्लाडर होल्ड’ गरेर समेत सेवा दिइरहेका हुन्छौँ। कतिपय गरिब बिरामी औषधि उपचारको पैसा तिर्न सक्दैनन्। उनीहरूलाई हामी सहयोग गर्छौँ। पैसा उठाएर पनि खाना खुवाउँछौँ। पैसा जम्मा गरेर औषधि किनिदिन्छौँ। असहाय  बिरामीहरूकाे औषधि उपचारका लागि सरकारले उचित व्यवस्था गर्नुपर्छ जस्ताे लाग्छ।

हामी नर्सहरू कतिपय अवस्थामा धेरै ‘रिस्क’मा काम गरिरहेका हुन्छौँ। एचआईभीजस्ता गम्भीर रोग लागेका बिरामीको ‘केयर’ गर्दा अलिकति मात्र सावधानी अपनाइएन भने आफूमा पनि सर्ने सम्भावना हुन्छ।

यति चुनौतीपूर्ण पेशामा रहेर पनि उचित सम्मान, कामको मूल्य नपाउँदा कसको मन नदुख्ला र! विकसित देशमा नर्सको कति इज्जत हुन्छ। यहाँ सम्मान र कामको मूल्य नपाएरै होला धेरै दक्ष नर्स बाहिरिने गरेका छन्। यो कुरा हामी नेपालीले कहिले बुझ्ने होला?कतिपयडाक्टर, बिरामीका आफन्त र पढेलेखेकै मानिस नर्सको इज्जत गर्दैनन्। जबसम्म नर्सको ‘भ्यालु’को ‘रेस्पेक्ट’ हुँदैन, उनीहरू पेशाप्रति सन्तुष्ट हुँदैनन्। त्यसले निश्चित रूपमा बिरामीले पाउने सेवामा असर पर्छ नै।

हामी नर्सहरूलाई हाम्रो पढाइ र पोस्ट अनुसारको ‘जब स्याटिस्फ्याक्सन’ हुँदैन। हाम्रो बारेमा खुलेर बोलिदिने कुनै निकाय पनि छैन। त्यसैले धेरै ठाउँमा नर्स पीडामा छन्। काउन्सिल र नर्सिङ एसोसिएसनले पनि त्यति प्रभावकारी भूमिका खेलेजस्तो लाग्दैन। नर्सलाई धेरै ‘ह्यारेसमेन्ट’ छ। वार्डमा काम गर्नेहरूलाई धेरै गाह्रो छ। बिरामीको ‘ओभरलोड’ले उनीहरू राम्रो केयर दिन सक्दैनन्। अनि गुनासो हुन्छ। त्यसैले बिरामीअनुसार नर्सको व्यवस्था हुनुपर्छ।

पहिले पहिले नर्सहरू नर्सबाटै पीडित हुन्थे। अहिले कम्तीमा त्यस्तो छैन। अहिले हाम्रो ‘मेट्रोन म्याम’ पोलिना पौडेलले धेरै ‘सपोर्ट’ गर्नुहुन्छ। हामी पनि जुनियरलाई सहयोग गर्छौँ जानेको कुरा सिकाइदिन्छौँ। हामीले सुरुमा भोगेको जस्तो अनुभव उनीहरूले गर्नु नपरोस् भनेर माया गरेर सिकाउँछौँ।

हेल्थ टिभी अनलाइनका रामप्रसाद काैशिकसँगकाे कुराकानीमा आधारित