रोगको सकस त छँदैछ, खर्चको पिरले हाम्रै अगाडि कति बिरामी धुरुधुरु रुन्छन्

रोगको सकस त छँदैछ, खर्चको पिरले हाम्रै अगाडि कति बिरामी धुरुधुरु रुन्छन्

ज्ञानु गुरुङ त्रिवि शिक्षण अस्पताल डाइलाइसिस विभागकी नर्सिङ सुपरभाइजर हुन्। नेपालमा मिर्गौला प्रत्यारोपण शुरु गर्ने बेलामा पहिलोपटक अष्ट्रेलिया पुगेर प्रत्यारोपण र डाइलाइसिससम्बन्धी तालिम लिएर आएकी थिइन्। अरु विभागमा र डाइलाइसिसमा काम गर्नुमा धेरै भिन्नता छ भन्ने उनको बुझाइ छ। यसपालिको ‘नर्सका कुरा’ स्तम्भमा उनै ज्ञानुका भोगाइका कुरा उनकै शब्दमा–

मैले काम गर्न शुरु गरेकै ३२ वर्ष भन्दा बढी भइसेको छ। हामी नर्सहरुको काम भनेकै हामीलाई विश्वास गरेर आउने बिरामीको सेवा गर्नु नै हो। हामी कसरी बिरामीलाई सहज हुन्छ र छिटो निको बनाएर पठाऊँ भन्नेमै तल्लीन हुन्छौँ। मेरो उद्देश्य पनि त्यही नै हो।

म विगत १२ वर्षदेखि त्रिवि शिक्षण अस्पतालको डाइलाइसिस विभागमा काम गरिरहेकी छु। यहाँ काम गर्ने नर्स भनेका विशेष तालिम लिएका हुनैपर्छ। म आफैँ पनि डाइलाइसिस मात्रै होइन, प्रत्यारोपण गर्ने वेलामा र गरिसेकपछि कसरी बिरामीको हेरचाह गर्ने भन्ने विषयमा विशेष तालिम लिएर आएकी छु। जब यहाँ मिर्गौला प्रत्यारोपण गर्ने भन्ने भयो, सन् २००७ मा डा. दिव्यासिंह शाहले मलाई यससम्बन्धी तालिम लिन अष्ट्रेलिया पठाउनुभयो। त्यहाँबाट आएपछि पहिलो प्रत्यारोपणदेखि नै म हरेक बिरामीसँग हुन्छु।

मैले आफ्नो करियर शुरु गरे यता धेरै विभागमा काम गरेँ। अरु विभागमा फरक फरक प्रकृतिका बिरामी आउँछन्, तर हाम्रो यस्तो विभाग हो जहाँ एउटै बिरामी वर्षौँसम्म डाइलाइसिसका लागि आउँछन्। यसो हुँदा हामी एकै परिवारको जस्तो पनि हुन्छौँ। मैले यहाँ काम शुरु गर्दा डाइलाइसिस गर्न आएका बिरामी अहिले पनि आइरहेका छन्। यो रोगै यस्तो हो, जसमा डाइलाइसिस नगरी बाँच्नै सकिँदैन। त्यसैले पनि उनीहरुसँग नियमित भेट हुन्छ।

यो असाध्यै धैर्य चाहिने र बढी संवेदनशील विभाग हो। त्यसो त हरेक विभाग त्यत्तिकै संवेदनशील हुन्छन्। तर पनि यहाँ आउने बिरामीलाई कुन वेला के हुन्छ भनेर असाध्यै चनाखो हुनुपर्छ।

मैले आफ्नो करियर शुरु गरे यता धेरै विभागमा काम गरेँ। अरु विभागमा फरक फरक प्रकृतिका बिरामी आउँछन्, तर हाम्रो यस्तो विभाग हो जहाँ एउटै बिरामी वर्षौँसम्म डाइलाइसिसका लागि आउँछन्। यसो हुँदा हामी एकै परिवारको जस्तो पनि हुन्छौँ। मैले यहाँ काम शुरु गर्दा डाइलाइसिस गर्न आएका बिरामी अहिले पनि आइरहेका छन्। यो रोगै यस्तो हो, जसमा डाइलाइसिस नगरी बाँच्नै सकिँदैन। त्यसैले पनि उनीहरुसँग नियमित भेट हुन्छ।

कतिपय बिरामी त डाइलाइसिस गर्दागर्दै आँखैअगाडि बितेका छन्। हामीलाई त आफूले हेरेका बिरामी सबै ठिक भएर गए हुन्थ्यो भन्ने लाग्छ। तर त्यस्तो हुँदैन।

उनीहरुका आफनै व्यथा छन्। प्रत्यारोपण गर्न मिल्ने र सक्नेले गर्छन्। नसक्ने र प्रत्यारोपण गर्न नमिल्नेले जीवनभर डाइलाइसिस गर्नैपर्छ। सास रहुञ्जेल आश भन्ने त उखानै छ। अहिले त सरकारले मिर्गौला रोगको उपचार निःशुल्क बनाएको छ। तर त्यसबाहेक पनि धेरै खर्च हुन्छ बिरामीको। धान्न सक्दैनन्। रोगको सकस छँदैछ, खर्चको पिरले हाम्रैअगाडि कति बिरामी धुरुधुरु रुन्छन्। के गर्नु, हामी त सम्झाउन मात्र सक्छौँ।

यो दीर्घरोग भएकाले शुुरुशुरुमा त बिरामी साह्रै आत्तिन्छन्।‘म कहिले ठीक हुन्छु’, भन्छन्।, हामी उनीहरू लाई सम्झाउँछौँ। उनीहरू जस्तै अरु बिरामीलाई देखाएर उदाहरण दिन्छौँ। अरु बिरामी देखेपछि आफूलाई मात्र होइन रहेछ भन्ने हुन्छ। अनि केहीले चित्त पनि बुझाउँछन्।

डायलाइसिस गर्नुपर्ने बिरामीले हप्तामा दुईदिन त अस्पताल आउनैपर्छ। त्यसैले पनि हामी बिरामीसँग नियमित भेटमा हुन्छौँ। एक जना बिरामीलाई डाइलाइसिस गर्न चारदेखि पाँच घण्टा लाग्छ त्यो समय हामी नर्स नै उनीहरूसँगै हुन्छौँ।
धेरैलाई यही क्रममा धेरै समस्या देखिन सक्छ। कसैलाई ‘रियाक्सन’ हुन्छ। कसैले बान्ता गर्छन्। कसैलाई गाह्रो भए सोधेर समस्या हल गर्छौँ।

समस्या आए कसरी ‘ह्यान्डलिङ’ गर्ने भन्ने विषयमा हामीले  ‘प्रोटोकल’ बनाएका छौँ। त्यहीअनुसार काम गर्छौँ। त्यसैले पनि तालिमको आवश्यक पर्छ जस्तो लाग्छ। सधैँभरि बिरामीसँग चिकित्सक हुँदैनन्। त्यसैले हामी बिरामीलाई आउनसक्ने जटिलताको बारेमा परिचित हुन्छौँ। त्यहीअनुसार उपचार गर्छाैँ र समस्याकाे हल निकाल्छाैँ। धेरै नै जटिलता आए तुरुन्त चिकित्सकलाई बोलाउँछौँ।

मैले अष्ट्रेलियामा सिकेर आएपछि यहाँ धेरै अस्पतालमा डाइलाइसिस विभागमा काम गर्ने नर्स बहिनीहरूलाई तालिम दिएकी छु। राजधानीबाहिर पनि गएर तालिम दिने गरेकी छु। यसरी जाँदा हामी समूह बनाउँछौँ। र जान्छौँ।

यो रोगका बिरामीलाई ‘काउन्सिलिङ’ गर्नुपर्छ। कसरी स्वस्थ रहने भन्ने सिकाउनुपर्छ। पहिलोपटक डाइलाइसिस गर्न आउनेहरु रगत बाहिर निकालेर सफा गरी पुनः फर्काउने पद्धति देखेर नै तर्सिन्छन्। उनीहरूलाई डाइलाइसिसका बारेमा जानकारी दिनुपर्छ।

यो वेलामा बिरामीको मनोबल कमजोर हुन्छ। त्यस्ता बिरामीलाई मिठो बोलेर काउन्सिलिङ गर्नुपर्छ। यो विशिष्टीकृत सेवा हो। त्यसैले पनि बढी संवेदनशील छ। अन्य यो विभागमा काम गर्ने नर्सले अन्य विभागमा गएर काम गर्न सक्छन् तर अन्य विभागमा काम गर्ने नर्सले तालिम बिना डाइलाइसिस विभागमा काम गर्न सक्दैनन्।