भर्खरै जन्मेको बच्चाको मृत्यु भयो भनेर आमाबाबुलाई कसरी भन्ने!

आफैँले भन्न नसकेर डाक्टरलाई भन्न लगाउँछु

भर्खरै जन्मेको बच्चाको मृत्यु भयो भनेर आमाबाबुलाई कसरी भन्ने!

संचिता आचार्य चार वर्षदेखि नर्सिङ पेशामा छिन्। उनी झण्डै तीन वर्षदेखि चितवनस्थित भरतपुर अस्पतालमा कार्यरत छिन्। उनी त्यहाँकी एनआईसीयू नर्स हुन्। यसपालिको नर्सका कुरामा संचितासँग गरिएको कुराकानी–

चार वर्षअघि चितवन मेडिकल कलेजबाट स्टाफ नर्सको पढाइ सकेर मैले यहाँ काम गर्न शुरु गरेकी हुँ। एनआईसीयूको विशेष तालिम लिएर यो वार्डमा काम गरिरहेकी छु।

अरु वार्डभन्दा एनआईसीयू  बढी संवेदनशील हुन्छ। नवजात शिशुको केयर गर्न निकै गाह्रो छ। यसै पनि बच्चाको शरीर सानो हुने र कतिपय अंगको विकास राम्रो भइनसकेको हुनाले उनीहरूको ‘केयर’ बढी नै गर्नुपर्ने हुन्छ।

ठूलो मान्छेको केयरमा केही सामान्य समस्या भए पनि उनीहरूले भन्न सक्छन्। तर साना बच्चाको सन्दर्भमा हामी आफैँ बढी चनाखो हुनुपर्छ।

हाम्रो सानो लापरवाहीले उनीहरूको शरीरमा क्षति पुग्न सक्छ। त्यसैले हामी एनआईसीयूमा काम गर्ने नर्सले यस्ता कुरामा अलि बढी संवेदनशील हुनैपर्छ।

एनआईसीयूमा काम गरेको अनुभवका आधारमा म के भन्न सक्छु भने यहाँ बालबालिकाको केयर ज्यादै गाह्रो काम हो। यसमा विशेष तालिमविना काम गर्ने सकिँदैन।

एनआईसीयूमा चौबिसै घण्टा नर्स हुनुपर्छ। त्यसैले अन्य वार्डमा भन्दा आइसीयूमा काम गर्ने नर्सको जिम्मेवारी केही बढी नै हुन्छ।

बिरामीलाई गरिने केयर नै फरक र बढी हुने भएकाले जनरल वार्डका भन्दा एनआईसीयूका नर्सको काम नै बढी हुन्छ।
भरतपुर अस्पतालमा पनि बच्चाहरूलाई चाहिने सम्पूर्ण उपचार शुरु भएको छ। त्यसमा एनआईसीयू महत्त्वपूर्ण वार्ड हो।

कहिलेकाहीँ बिरामी यति धेरै हुन्छन्, कहिलेकाहीँ बेड नै पुग्दैन। एनआईसीयूमा आउने भनेकै अत्यन्त सिरियस भएपछि हो। यस्ता बच्चाहरूलाई हामीले नै हेर्नुपर्ने हुन्छ।

कहिलेकाहीँ हामीले स्याहार गर्दागर्दै बच्चाको मृत्यु हुन्छ। सानो भर्खर जन्मेको संसार देख्न नपाउँदै बच्चाको मृत्यु भएको देख्दा असाध्यै नरमाइलो लाग्छ। त्यो त छँदैछ, अझ भर्खर जन्मेको बच्चाको मृत्यु भयो भनेर  आमाबाबुलाई कसरी भन्ने चिन्ता अर्कोतिर हुन्छ। कतिपय अवस्थामा आफैँले भन्न नसकेर डाक्टरलाई भन्न लगाउँछु। एनआईसीयूबाट त्यस्ता बच्चा निकाल्दा आँसु थाम्न सकिँदैन।

रोगसँग लड्ने बच्चाहरूको क्षमता कम हुने भएकाले एउटाको रोग अर्कोमा सर्ने सम्भावना पनि त्यतिकै हुन्छ। त्यसैले हामीले एउटा बच्चाको स्याहार गरेपछि वा औषधि दिएपछि अर्को बच्चा हेर्दा हात राम्रोसँग धुनुपर्छ। अन्यथा अर्कोलाई सर्नसक्छ ।

उनीहरूको शरीर नै कोमल हुन्छ। कसरी समात्ने भन्ने पनि जान्न जरुरी हुन्छ। धेरै बच्चा समय नपुगी जन्मिएका, श्वासप्रश्वासमा समस्या भएका, निमोनिया र कम्पन भइरहने जस्ता समस्या भएका बच्चा धेरै आउँछन्। चिकित्सकले बिरामीको अवस्था हेरेर औषधि दिएर गएपछि सम्पूर्ण जिम्मेवारी हामी नर्समै आउँछ।

एनआईसीयूमा राखिएका बच्चाको मुटुको धड्कन के–कस्तो छ, २४सै घण्टा अवलोकन गरिरहनुपर्ने हुन्छ। श्वासप्रश्वासको अवस्था अर्थात् बिरामीलाई अक्सिजनको मात्रा पुगिरहेको छ या छैन भनी अवलोकन गरिरहनुपर्ने हुन्छ।

२४सै घण्टा रेखदेख गर्नुपर्ने केस आउने भएकाले एनआईसीयूमा, त्यसमा पनि साना बालबालिकाको हेरचाह गर्नु ज्यादै गाह्रो काम हो ।

मापदण्डमा एनआईसीयूमा बिरामीको हेरचाहका लागि एक बिरामीबराबर एकजना नर्स हुनुपर्छ । तर, नर्सिङ जनशक्ति पर्याप्त मात्रामा उपलब्ध नहुँदा बिरामीको हेरचाह र उपचारको गुणस्तरमा समेत कमी आउने गरेको छ।

एक नर्सले तीन चार जनासम्म बिरामी हेनुपर्ने हुन्छ। एकजना मात्र बिरामीको केयर गर्नु र चारजनासम्म बिरामीको हेरचाह गर्नुपर्दा पक्कै पनि गुणस्तरमा कमी आउँछ नै।

कहिलेकाहीँ हामीले स्याहार गर्दागर्दै बच्चाको मृत्यु हुन्छ। सानो भर्खर जन्मेको संसार देख्न नपाउँदै बच्चाको मृत्यु भएको देख्दा असाध्यै नरमाइलो लाग्छ। त्यो त छँदैछ, अझ भर्खर जन्मेको बच्चाको मृत्यु भयो भनेर आमाबाबुलाई कसरी भन्ने चिन्ता अर्कोतिर हुन्छ। कतिपय अवस्थामा आफैँले भन्न नसकेर डाक्टरलाई भन्न लगाउँछु। एनआईसीयूबाट त्यस्ता बच्चा निकाल्दा आँसु थाम्न सकिँदैन।

सरकारले एनआईसीयूमा लगानी बढाउनुपर्छ। दक्ष जनशक्ति पनि उत्पादन गर्न जरुरी छ। अनि मात्र नवजात शिशुको मृत्यु कम गर्न सकिछ जस्तो लाग्छ।

थप समाचार