एउटै बिरामी वर्षौँँ हेर्नुपर्ने भएकाले बढी जिम्मेवारी र ‘अट्याचमेन्ट’ हुन्छ

एउटै बिरामी वर्षौँँ हेर्नुपर्ने भएकाले बढी जिम्मेवारी र ‘अट्याचमेन्ट’ हुन्छ

सुभद्रा रेग्मीले काठमाडाैं वनस्थलीस्थित राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा स्टाफ नर्सका रूपमा काम गर्न थालेको १७ वर्ष भइसकेको छ। उनले ‘डायलाइसिस’सम्बन्धी विशेष तालिम लिएर काम गर्न थालेकी हुन्।

अरु विभागमा काम गर्ने र डाइलाइसिसमा काम गर्ने नर्समा केही भिन्रता छ भन्ने उनको बुझाइ छ। यसपालिकाे ‘नर्सका कुरा’ स्तम्भमा उनै सुभद्रा रेग्मीका भाेगाइका कुरा उनकै शब्दमा–

सामान्यतया नर्सको काम बिरामीको सेवा गर्नु नै हो। कसरी बिरामीलाई सहज हुन्छ र छिटो निको हुन्छ भन्नेमै उनीहरूको ध्यान केन्द्रित हुन्छ। मेरो पनि त्यही नै हो।

म विगत १७ वर्षदेखि ‘डाइलाइसिस युनिट’मा काम गरिरहेकी छु। अरु नर्सले गर्ने काम जस्तै सबै काम गर्नुपर्छ तर एउटै बिरामी वर्षौँ हेर्नुपर्ने भएकाले यसमा अलि बढी जिम्मेवारी र ‘अट्याचमेन्ट’ हुन्छ ।

अरु ठाउँमा बिरामी फेरिरहन्छन्। फरक फरक प्रकृतिका बिरामी आउने जाने हुन्छ । तर हामीकहाँ वर्षौदेखि एउटै बिरामीलाई सेवा गर्नुपर्ने हुन्छ। यसो हुँदा हामी एउटै परिवार जस्तो पनि हुन्छौँ। मैले काम शुरु गर्दा भेटेको बिरामी अहिले पनि सेवा गरिरहेकी छु।

डाइलाइसिसका बिरामीसँग काम गरेको १७ वर्ष भइसकेकाे छ। दिन बितेको थाहा नै नहुने। यो रोग नै यस्तै हो। यही पेशामा लागिसकेपछि यसलाई झण्झटिलो मानेर बस्नुकाे अर्थ हुँदैन। यसलाई स्वीकार्दै अघि बढ्नुपर्छ। यसैमा रमाउनुपर्छ।

मिर्गौलाले काम गर्न छोडेपछि दुईवटा मात्र विकल्प हुन्छ कि प्रत्यारोपण कि डायलाइसिस योभन्दा अर्को उपाय छैन। त्यसैले कतिपय बिरामीको प्रत्यारोपण गर्न मिल्दैन जसका कारण वर्षौँसम्म पनि डायलाइसिसको सहारा लिनुपर्ने हुन्छ।

यो दीर्घरोग भएकाले शुुरुशुरुमा त बिरामी साह्रै आत्तिन्छन्। ‘मलाई सँधै यस्तै गर्नुपर्ने हो?’, ‘म कहिले ठीक हुन्छु’, यस्तै प्रश्न गर्छन्। हामीले उहाँहरूलाई सम्झाउँछौँ। अरु बिरामीलाई देखाएर उदाहरण दिन्छौँ। अरु बिरामी देखेपछि आफूलाई मात्र होइन रहेछ भन्ने हुन्छ। अनि चित्त बुझाउँछन्।

डायलाइसिसका बिरामीले हप्तामा दुईदिन त अस्पताल आउनैपर्छ। त्यसैले पनि हामी उहाँहरुसँग नियमित भेटमा हुन्छौँ। एक जना बिरामीलाई डायलाइसिस गर्न चार घण्टा लाग्छ त्यो समय हामी नर्स नै उनीहरूसँगै हुन्छौँ। कसैलाई गाह्रो भए सोधेर समस्या हल गर्छौँ। जटिलता आए चिकित्सकलाई बोलाउँछौँ।

डायलाइसिसका बिरामीको लागि अस्पताल दोस्रो घर नै बन्छ। उनीहरू आफैँ पनि घरजस्तै मान्छन्। त्यसैले पनि हामी पनि उनीहरूलाई घरपरिवारकै सदस्य ठान्छौँ। हामीकहाँ ‘रेगुलर’ आउने जुन ‘बेड’मा डायलाइसिस गर्छन्। प्रायः त्यही बेड खोज्छन्। हामी पनि सकेसम्म त्यही नै दिन्छौँ। घरमा सुत्ने आफ्नै बेड जस्ताे भन्छन्, उनीहरू।

पहिले पहिले सरकारको सहुलियत थिएन त्यो वेला विरामीलाई शारीरिक र आर्थिक दुवै बोझ थियो। अहिले त अलि सजिलो भएको छ। निःशुल्क छ, डायलाइसिस । तर पनि नियमित अस्पताल धाउनुपर्ने हुँदा ‘परिवारलाई पनि झण्झट भयो। म बोझ भएँ’ भनेर पीर गर्छन्। उनीहरूलाई हामीले सम्झाउनुपर्छ।

दुःखको कुरा यो १७ वर्षमा मेरैअगाडि कैयौँ बिरामी बितेका छन्। डायलाइसिस गराइरहेका बिरामी बित्दा म धेरै पटक रोएकी छु। सँधै भेट्ने बिरामी आफ्नो पालोमा नआउँदा केही भइहाल्यो कि भन्ने शंका लाग्छ। जसले एउटै बेडमा बसेर वर्षौँ डायलाइसिस गराइरहेका थिए, उनीहरू बितेर गए पनि कहिलेकाहीँ त्यही बिरामी छन् कि जस्तो लाग्छ। बिरामीसँग मात्र होइन उनीहरूका आफन्तसँग पनि हामी नियमित सम्पर्कमा हुन्छौँ। लाग्छ, हामी एउटै परिवारका हौँ।

हामी बिरामीको बानीव्यहोरा, रुचि, अरुचि सबै थाहा पाउँछौँ। त्यसैले पनि उपचारमा सजिलो हुन्छ। बिरामीले पनि हामीसँग सजिलो मान्छन्।

डाइलाइसिसका बिरामीसँग काम गरेको १७ वर्ष भइसकेकाे छ। दिन बितेको थाहा नै नहुने। यो रोग नै यस्तै हो। यही पेशामा लागिसकेपछि यसलाई झण्झटिलो मानेर बस्नुकाे अर्थ हुँदैन। यसलाई स्वीकार्दै अघि बढ्नुपर्छ। यसैमा रमाउनुपर्छ।

थप समाचार