Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कर्मचारी समायाेजनमा असन्तुष्ट स्वास्थ्यकर्मीको गुनासो, ‘सरकारले समायोजन होइन सरुवा गर्यो’

कर्मचारी समायाेजनमा असन्तुष्ट स्वास्थ्यकर्मीको गुनासो, ‘सरकारले समायोजन होइन सरुवा गर्यो’

काठमाडौं : स्वास्थ्यकर्मीले आफूहरूलाई सरकारले समायाेजन नभई सरूवा गरेकाे आरोप लगाएका छन्। कर्मचारी समायोजनमा असहमति जनाउँदै पुनरावलोकनका लागि गुनासो टिपाउन स्वास्थ्य मन्त्रालय पुगेका उनीहरूले यस्ताे बताएका हुन्।

यस क्रममा शुक्रबार हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै स्वास्थ्यकर्मीहरूले सरकारले समायोजनको नाममा आफूहरूलाई अनावश्यक दु:ख दिएको आरोप लगाए।

समायोजनमा चित्त नबुझेका कर्मचारीलाई सरकारले नाम टिपाउन सूचना प्रकाशन गरेपछि मन्त्रालयमा घुइँचो लागेको हो। आगामी वैशाख ३ गतेसम्म समायोजन पुनरावलोकनका लागि निवेदन दिन सकिने सरकारले जनाएको छ।

नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरेले समायोजन ऐनले घर पायक हुनेगरी कर्मचारी व्यवस्थापन गर्नु भने पनि सरकारले त्यसविपरीत प्रदेश १ को स्वास्थ्यकर्मीलाई र काठमाडौं बसोबास भएकालाई रामेछापको दुर्गम स्थानमा पठाएको बताए। ‘समायोजनको नाममा सरकारले कर्मचारीलाई विभिन्न बहाना बनाएर दुःख दिएको छ’, उनले भने, ‘समायोजन संशोधन नभए हामी कुनै हालतमा पनि सरकारले खटाएको ठाउँमा जाँदेनौँ।

कर्णाली प्रदेशमा कार्यरत अनमी मोतीकला शर्माले समायोजनका क्रममा आफूलाई प्रदेश २ को सिरहामा पुर्याइएको गुनासो गरिन्। ‘साना दुईटा बच्चा छन्’, उनले भनिन्, ‘यस्ता केटाकेटीलाई लिएर कहाँ सिरहा जानु!’
आफूलाई त्यहाँ भाषालगायतका समस्या पर्ने र बिरामीको उपचारमा समेत समस्या हुने उनको भनाइ छ।

यता काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित बलम्बु स्वास्थ्य चौकीमा कार्यरत केशव ज्ञवालीले आफूलाई पाल्पाको निष्टी भन्ने ठाउँमा पुर्याइएको गुनासो गरे। ‘जागिर खाएको २९ वर्ष बितिसक्यो’, उनले भने, ‘३० वर्ष पुग्न ४ महिना बाँकी छ। मुटुरोगको बिरामी छु। आफ्नै उपचार कसले गर्ने?’ वेलावेलामा मुटुमा समस्या आउने कारण पनि आफू त्यहाँ जान नसक्ने उनले बताए।

सुर्खेतको वीरेन्द्रनगरमा कार्यरत अहेव उमापति गौतम सरकारले सुरुमा कसैलाई मर्का नपर्नेगरी समायोजन गछौँ भने पनि सबैजसो कर्मचारीलाई अन्यायमा पारेको बताउँछन्। अहिले मलाई समायोजनको नाममा डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा सरुवा गरिएको छ’, उनले भने, ‘परिवार एकातिर। आफू अर्कातिर। कसरी काम गर्न सकिन्छ?’

चितवनको भरतपुर अस्पतालमा कार्यरत शान्ति कँडेलले आफूलाई प्रदेश ३ मै समायोजन गरिए पनि श्रीमानलाई प्रदेश १मा पुर्याएको गुनासो गरिन्। ‘परिवारसँग रहन दिनुपर्ने मान्यतालाई कुल्चिँदै बाबु एकातिर आमा एकातिर र बच्चाहरू अर्कातिर हुने स्थिति सिर्जना गरिएको छ’, उनले प्रश्न  गरिन्, ‘परिवारसँग बिछाेडिएर कसरी सेवा गर्न सकिन्छ?’

थप समाचार