Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

फोक्सो कडा हुने रोग आइएलडी के हो ? कसरी थाहा पाउने ?

फोक्सो कडा हुने रोग आइएलडी के हो ? कसरी थाहा पाउने ?

डा रक्षा पाण्डे

फोक्सो हाम्रो शरीरको महत्वपूर्ण अंग हो । शरीर स्वस्थ हुन यसलाई स्वस्थ राख्न जरुरी हुन्छ । शरीरमा श्वासप्रश्वास प्रक्रियालाई नियमित र सहि ढंगले सुचारु राख्नका लागि फोक्साको महत्वपूर्ण भूमिका हुन्छ । फोक्सो खराब हुने अनेक कारण हुन्छन् । त्यसमध्ये घरभित्रको धुवाँ, बाहिरको वायु प्रदूषण तथा धुमपान प्रमुख हुन् । यही फोक्सोमा विभिन्न कारणले विभिन्न खालका समस्याहरु आउन सक्छन। यस्ता समस्या केही तत्कालिन हुन्छन् भने केही दीर्घकालिन ।
फोक्सोमा तत्कालिन हुने विभिन्न खालको संक्रमण हुन्छ भने दीर्घकालिन रुपमा एलर्जिक आज्मा, दम, फोक्सोको क्यान्सर आदी हुने गरेको देखिन्छ ।

नेपालमा सामान्यतया फोक्सोमा देखिने समस्या भनेको फोक्सोको संक्रमण, फोक्सोमा पानी जम्ने, दम, फोक्सोको क्यान्सर तथा फोक्सोको प्रेसर बढ्ने समस्या हो । अर्को महत्वपूर्ण समस्या हो ‘इन्टेस्टिसियल लंग डिजिज’ आइएलडी जुन खासै पहिचान हुँदैन् । । हुन त दम आफैमा रोग नभएर लक्षण मात्र हो । सीओपीडीलाई लाई सामान्य भाषामा दम नै भनेर बुझेको पाइन्छ । अझ फोक्सोको हरेक रोगलाई दम भन्ने गरिन्छ । फोक्सोका रोग अनेकथरि हुन्छन् तर सबैले श्वासप्रश्वासमा समस्या आएमा दम भन्छन् ।

दम जस्तै लक्षण देखिने तर रोग पहिचानमा समस्या हुनेमा इन्टेस्टिसियल लंग डिजिज आइएलडी रोग पर्छ । यसको लक्षणहरु दमसँग मिल्दोजुल्दो हुने भएकाले दम नै हो भनेर उपचार गरिरहेको धेरै देखिन्छ । आइएलडी फोक्सोको एउटा भागको रोग हो । यो पनि दीर्घ रोग नै हो । दमको लक्षणहरु जे जे हुन्छन् यसमा पनि त्यही हुन्छ । यसको समयमै पहिचान नहुनु नै ठूलो चुनौति हो ।

यसमा फोक्सो कडा भएर जान्छ र विस्तारै सानो हुँदै सुक्दै जान्छ । फोक्सोले वातावरणको अक्सिजन लिएर हाम्रो शरीरमा अक्सिजन पुराउने हो । तर यो रोगमा फोक्सो कडा हुँदै गएपछि अक्सिजन शरीरमा प्रयाप्त मात्रामा पुग्दैन । जसले गर्दा खोकी लाग्ने, सामान्य औषधिले निको नहुने, स्याँ स्याँ हुने, उकालो चढ्दा बढी नै समस्या हुने हुन्छ । यसैगरी नङ डल्लो हुँदै जाने तथा हात निलो हुने पनि हुनसक्छ ।

हुनत आइएलडीको प्रकार अनुसार पनि लक्षणहरु देखा पर्छन । आइएलडी बाथ रोगको कारणले पनि हुन्छ । यो समस्या भने महिलामा बढी देखिने गरेको छ । पेशागत कारणले पनि आइएलडी हुनसक्छ । जस्तै गिटी कुट्ने व्यक्तिमा गिटीबाट निस्केको कणले शरीरमा गएर प्रतिक्रिया गरेर त्यसबाट पनि आइएलडी हुनसक्छ । त्यसैगरी चराचुरुगींसँग काम गर्ने वा नजिक हुनेमा उनीहरुको प्वाँखबाट निस्कने कणले पनि एलर्जी गराएर आइएलडी हुनसक्छ । यसैगरी केमिकलसँग काम गर्नेलाई पनि यो समस्या हुनसक्छ । स्यान्ड ब्लास्ट गर्ने काममा भएकालाई पनि यो हुनसक्छ । कम संख्यामा वंशाणुगत कारणले पनि आइएलडी हुनसक्छ ।

यो परीक्षणबाट मात्र थाहा हुन्छ । आइएलडीको शंका लागेमा जाँचहरु गरिन्छ । यो रोगमा छातीमा एक किसिमको आवाज निस्किन्छ । त्यो डाक्टरले पत्ता लगाउँछन् । यसैगरी एक्सरे पनि गर्न सकिन्छ । यसमा फोक्सो जब बढी कडा हुँदै गएर राम्ररी काम गर्न सक्दैन त्यस अवस्थालाई मेडिकल भाषामा फाइब्रोसिस भनिन्छ । फाइब्रोसिस भइसकेपछि यसलाई पहिलेकै अवस्थामा ल्याउन सकिंदैन् । यसको छिटो छिटो बिग्रने मात्रालाई मात्र कम गर्ने काम गरिन्छ ।

यसमा फोक्सो कडा भएर सुक्दै जाने भएकाले बिरामीलाई अक्सिजनको कमी भएर सास फेर्न समस्या हुने गर्छ । इन्हेलर लिएर पनि सास फेर्न सजिलो भएन तथा औषधि खाएर पनि खोकी कम भएन भने कतै आइएलडी त होइन भनेर आफै पनि चनाखो हुन जरुरी हुन्छ । दम जस्तै लक्षण हुने भएकाले कहिलेकाहीं डाक्टर पनि यसको पहिचानमा चुक्न सक्ने सम्भावना हुन्छ । नेपालमा त झनै यसबारे सचेतना निकै कम छ ।

यो रोगको पहिचान भइसकेपछि यसलाई पूर्ण रुपमा निको पार्ने भन्ने हुँदैन तर यसको बिग्रने मात्रालाई कम गर्न सकिन्छ । नेपालमा पनि यसको औषधिहरु पाइन्छन् जसले धेरै बिग्रनबाट जोगाएर बिरामीलाई सहज बनाउन सकिन्छ । बिरामीलाई सुरुमै परामर्श र सपोर्टको जरुरी हुन्छ । नियमित चिकित्सकको सल्लाह तथा परामर्श अनुसार औषधिको सेवन गरेमा यो रोगको जटिलताबाट बच्न सकिन्छ ।

फोक्सो तथा क्रिटिकल केयर विशेषज्ञ डा पाण्डे आरुस लाइफस्टाइल अस्पतालमा कार्यरत छिन् । 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।