Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चिकित्सकलाई भेट्दा याद गर्नुपर्ने यी कुरा

चिकित्सकलाई भेट्दा याद गर्नुपर्ने यी कुरा

हेल्थ टिभी अनलाइन : कुनै पनि बिरामीले सही उपचार पाउन लागि उपयुक्त डाक्टरलाई भेट्न अत्यन्तै जरुरी हुन्छ। डाक्टरको विशेषज्ञता बिरामीको रोगसँग मिल्दोजुल्दो हुनुपर्छ। जस्तै, खोकी लाग्नु र स्वाँ स्वाँ हुनु फोक्सोको समस्या भएको बुझिन्छ। त्यसैले फोक्सोको समस्या भएको बिरामीलाई फोक्सोरोग विशेषज्ञसँग जाँच गराउनु पर्छ।

सही विषयको डाक्टरलाई रोज्नु र सम्बन्धित विशेषज्ञसँग उपचार गराउनु बिरामीले लिनुपर्ने एउटा महत्त्वपूर्ण निर्णय हो। कुनै पनि व्यक्तिले दुर्इ वटा सामान्य मेडिकल जानकारी राख्न जरुरी हुन्छ। पहिलो, डाक्टरको मेडिकल डिग्रीको बारेमा। दोस्रो, मेडिकल विषय वा विशेषज्ञता को बारेमा। बिरामीकोरोगको लागि उपयुक्त डाक्टर रोज्न डाक्टरको डिग्री र विशेषज्ञताको बारेमा जानकारी हुनुपर्छ।

जानकारीको अभावमा मेडिकल समस्याका लागि सर्जरीको डाक्टरलाई भेट्न जानु, सर्जिकल समस्याकोलागि फिजिसियनलाई भेटनु र आफ्नो रोगसँग सम्बन्धित विशेषज्ञ सुविधा हुँदाहुँदै अरु रोगको विशेषज्ञसँग जाँच गराउनु जस्ता गल्तीहरू प्रायः भएका देखिन्छन्। यसस्को कारणले खर्च पनि बढी हुने, अनावश्यक जाँचहरू गर्नुपर्ने, समय नष्ट हुने र अन्ततः सही उपचार नपाउने सम्भावना हुन्छ।

डाक्टरसँग जचाउने योजना कसरी बनाउने

बिरामीले डाक्टरलाई भेट्नु भन्दा अगाडि योजना बनाउन जरुरी हुन्छ। कुन डाक्टरलाई भेट्ने, डाक्टरको विषय र डिग्रीको बारेमा पत्ता लगाउने, कुन कुन रिपोर्ट र कागजहरु सँगै लाने जस्ता कुराहरूमा विचार गर्नुपर्छ। डाक्टरसँग आफ्नो समस्याहरूलाई कसरी वर्णन गर्ने, जीवनशैली वा खानपिनको बारेमा के कस्ता प्रश्न गर्ने आदि सम्पूर्ण कुराहरुको बारेमा पहिला नै विचार गर्नुपर्छ।

समस्याको बारेमा विचार गर्ने

पहिला आफ्नो समस्को बारेमा विचार गर्नुपर्छ। तपाईँको समस्या मेडिकल हो कि सर्जिकल हो, पहिला त्यो पत्ता लगाउनुहोस्। मेडिकल समस्याको लागि सर्जनलाई जचाउन जानु र सर्जिकल समस्को लागि फिजिसियनलाई जँचाउन जानु नै सही उपचार नपाउनुको सबैभन्दा ठूलो कारण हुनसक्छ। गल्तीले तपाईँ मेडिकल समस्याको लागि सर्जन कहाँ पुग्नु भएछ भने, सर्जनले तपाँईलाई फिजिसियनकहाँ पठाइदिन्छन्।

जस्तै टाउको दुखेमा न्युरोलोजिस्ट कहाँ नगएर न्युरो सर्जनलाई जचाउन गएमा सर्जनले न्युरोलोजिष्टलाई रेफर गर्छन्। त्यसैगरी छाती दुखेमा वा उच्च रक्तचाप जस्ता मेडिकल समस्याका लागि सर्जनकहाँ पुग्नु भएको छ भने, सर्जनले फिजिसियन वा कार्डियोलोजिष्टलाई ‘रेफर’ गर्छन्।

विशेषज्ञको अमवश्यकताको बारेमा छलफल गर्ने

तपाईँले लक्षणको आधारमा फिजिसियन वा सर्जनलाई भेटे पछि, डाक्टरबाट रोगको बारेमा जरुरी जानकारी प्राप्त गर्नुपर्छ। साथै कुनै विशेषज्ञलाई भेटेनुपर्ने वा रेफर गर्नुपर्ने आवश्यकताको बारेमा पनि छलफल गर्नुपर्ने हुन्छ। फिजिसियन वा सर्जनले आफ्नो जाँचको आधारमा सम्बन्धित विशेषज्ञकहाँ रेफर गर्न सक्छन्। फिजिसियनले कुनै बिरामीलाई सिधै सर्जनलाई रेफर नगरी पहिला सोही विषयको विशेषज्ञ फिजिसियनलाई रेफर गर्छन्।

जस्तै, फिजिसियन वा बालरोग विशेषज्ञको प्रारम्भिक जाँच पड्तालमा बिरामीको मुटुमा समस्या देखिएमा पहिला मुटुरोग विशेषज्ञ कहाँ रेफर गर्छन्। मुटुरोग विशेषज्ञले बिरामीको जाँच गरेर सर्जरीको आवश्यकताको बारेमा निर्णय गर्छ।

दोस्रो परामर्श लिने

एउटा विशेषज्ञले कुनैपनि ठूलो वा सम्बेदनशील उपचारको बारेमा सल्लाह दिएको छ भने, तपाईँ अर्को सल्लाहको लागि अर्को विशेषज्ञलाई भेट्न सक्नुहुन्छ। इसो गरेमा तपाईँ सही सल्लाह पाए नपाएको विश्वस्त हुन सक्नुहुन्छ। विशेष गरेर मुटुको ‘एन्जियोग्राफी’ र ‘एन्जियोप्लास्टी र मुटुको भल्बको अप्रेसन, बाईपास अप्रेसन र जन्मजात मुटुको रोगहरूको अप्रेसन गर्नुभन्दा अगाडि अर्को सल्लाह लिनु राम्रो हुन्छ।

बिरामीले ध्यान दिनुपर्ने कुराहरू–

बिरामीले सर्वप्रथम आफ्नो समस्याको बारेमा विचार गर्नुपर्छ र समस्या जुन अंगसँग सम्बन्धित छ, त्यही विषयको डाक्टरलाई भेट्नुपर्छ।

रोजेको डाक्टर यदि आफ्नो समस्याको विशेषज्ञ होइन भने, सम्बन्धित विशेषज्ञकहाँ रेफर गर्नुपर्ने आवश्यकताको बारेमा छलफल गर्नुपर्छ।

डाक्टर कहाँ जाँदा मोबाइलमा कुरा गर्ने, डाक्टरको कुरामा ध्यान नदिने गर्नु हुँदैन।

आफ्नो समस्या छोटकरीमा भन्नु उपयुक्त हुन्छ।

डाक्टरसँग समय निश्चित हुने भएकोले रोगसँग सम्बन्ध नभएका कुरामा समय नष्ट गर्यो भने समस्याको सही जाँच पड्ताल नहुन सक्छ।

डाक्टरले शंका गरेको रोग, त्यससँग सम्बन्धित जाँचहरु र यसको उपचारको बारेमा विस्तृत रूपमा छलफल गनुपर्छ।

डाक्टरसँग औषधिको बारेमा विस्तृत जानकारी लिनुपर्छ।

जाँच र उपचारको बेलामा बिरामी र डाक्टर दुवैले हतार गर्नु हुँदैन। फुर्सतमा शान्तरूपले बिरामी हेरेको बेलामा जँचाउनु राम्रो हुन्छ।

पुरानो कागजहरु सकेसम्म क्रमशः मिलाएर प्रत्येक भेटमा लानु राम्रो हुन्छ।

बिरामीले आफूलाई उपचारको क्रममा समस्या भयो भने इमर्जेन्सी अवस्थामा कसलाई सम्पर्क गर्ने आदि सोध्नुपर्छ।

‘म पनि डाक्टर’ पुस्तकबाट :

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।