योग गर्नु राम्रो हो तर खाइरहेको औषधि नै छाडेर…

योग गर्नु राम्रो हो तर खाइरहेको औषधि नै छाडेर…

स्वस्थ जीवन बाँच्नका लागि योग र ध्यान सदियौँदेखि स्थापित भएका उपायहरू हुन्। आधुनिक चिकित्सा प्रणाली प्रादुर्भाव हुनुभन्दा धेरै अघिदेखि मानिसलाई विभिन्न रोगहरूबाट हुने कष्ट तथा असजिलोपन हटाउन या रोक्न सरल प्राकृतिक तरिकाहरू उपलब्ध छन् भन्ने कुरा थाहा थियो। कुनै पनि चिकित्सा विज्ञानको मुख्य जोड उपचार विधिबाट हुने फाइदा वा बेफाइदामा रहेको हुन्छ।

जति जोडले उपचार हुन्छ त्यति धेरै अरु खराब असर पर्ने सम्भावना बढी हुन्छ। हानि नगर्ने तरिकाले उपचार भएमा त्यसले तुरुन्तै आवश्यक आराम दिन सक्दैन। त्यसैले यसमा पनि असर र खराब असर सँगसँगै छन्। अर्को कुरा के हो भने कुनै उपचार विधि स्थापित हुनु भनेको त्यसको प्रमाणिकता स्थापित हुनु हो। आधुनिक चिकित्सा विज्ञानमा धेरै परिमाणमा हेरिएका तथा परीक्षण गरिएका तथ्याङ्क चाहिन्छ। यस्ता परीक्षणहरू पहिले जनावरमा र त्यसपछि नियन्त्रित तरिकाबाट मानिसमा सुरु गरिन्छ।

कुनै पनि नयाँ उपचार विधि अपनाउनु वा जनसाधारणका लागि सिफारिस गर्नु अगाडि दोहोर्याएर तेहेर्याएर गरिएका परीक्षण अध्ययन र त्यसका सकारात्मक परिणामहरूको आधार खोजिन्छ। आयुर्वेद, होमियोप्याथीका आफ्नै शक्ति तथा कमजोरीहरू छन्। यसको उपचार पद्धतिले धेरै प्रकारका रोगहरू निको पार्नमा सफलता पाएको बलियो दाबी गरिन्छ। संसारमा अरु धेरै प्रकारका उपचार पद्धति छन् तर, तथ्याङ्कको आभावका कारणले गर्दा तिनिहरू प्रचलित र प्रख्यात हुन सकेनन्।

सधैँ आफ्नो चिकित्सकको सल्लाह अनुसरण गर्नुपर्छ। सँधै ट्रेडमिल गर्ने वा हिँड्ने र समयले भ्याइन्छ भने योगका सामान्य व्यायाम पनि गर्नु राम्रो हो। योगका यी व्यायामहरू तपाईँको अहिले चालू रहेको उपचारका लागि पूरक मात्र हुन्, सट्टा भर्ना चाहिँ होइनन् भनी सम्झना राख्नुहोस्।

अध्ययनहरूको अभाव, यसले हुने नकारात्मक असरका बारेमा थाहा नहुनु जस्ता कारणले गर्दा यी वैकल्पिक विज्ञानहरूलाई उचित रूपमा प्रयोग गर्न सकिएको छैन। एलोपेथी उपचार विधिको विकल्पको खोजी यसबाट पर्ने नकारात्मक असर, मूल्य र यो प्रविधिबाट धेरै रोगहरू निको पार्न नसकिने भएकाले हो। सबै विशेषज्ञ एकै ठाउँमा बसेर छलफल गरी यो रोगको व्यवस्थापन यस विधिबाट गरियो भने राम्रो हुन्छ भन्ने निष्कर्ष निकाल्ने एक साझा मञ्च भए कति उत्तम हुने थियो। यस्तो हुन सकेको भए न एलोप्याथीका चिकित्सकहरूमा अभिमान हुने थियो, न अरु उपचार पद्धतिका विशेषज्ञहरूले वैज्ञानिक तथ्याङ्कबिनाको उपलब्धिबारे होहल्ला गर्न पाउँथे।

यो समस्याका भागीदार उपचार पद्धतिका जिम्मेवार र सरकार दुवैका कार्यविधिहरू हुन्। वैकल्पिक विज्ञान अध्यापन गराउने संस्थाहरूलाई महत्व दिनुपर्छ भन्ने कुरा स्पष्ट भइसकेको छ। एकदम धेरै मान्यता दिइएको नदेखिएमा र यसको फाइदाबारे जनचेतना अभिवृद्धि नगरिएसम्म मेधावी छात्रछात्रामा यी विधाहरूप्रति आकर्षण बढ्न सक्दैन। यसले गर्दा सिङ्गो संसारले मान्यता दिने अनुसन्धान कार्य कमै मात्र हुनाका साथै हाम्रा पूर्वजहरूबाट गरिएका वा भएका ज्ञानहरू हराएर जान सक्छन्।

यी विधाहरूको विकास गर्नुको साटो हामीले हाम्रा पूर्वजहरूले प्राप्त गरिसकेका ज्ञान नै गुमाउन पुग्छौँ। आजकाल मेरा केही बिरामीहरू टिभीको च्यानलमा देखाइने ‘रामदेवजीको योग शिक्षा अनुसरण गर्दा फाइदा भइरहेछ’ भन्छन्। केहीचाहिँ ‘फाइदा केही भएन बरु अस्पतालको आकस्मिक कक्षमा पुगियो’भन्छन्। उनीहरूलाई खाइरहेको ओखती चटक्क छोडेकाले पनि यस्तो भएको हुन सक्छ।
योगको व्यायाम, ध्यान र केही कुरामा विश्वास राखेमा पनि स्वास्थ्यमा सकारात्मक असर पर्छ भन्ने कुरामा कुनै शङ्का छैन।

बढी जोड दिएर एकतर्फी सञ्चारबाट ठूलो जनसमूहलाई उपचार गर्ने कार्य मात्र डर लाग्दो हो। ती च्यानलहरूले आफ्ना दर्शकलाई चिकित्सकको सल्लाहबिना चालू रहेका उपचार विधिलाई छोड्नु हुन्न भन्ने सन्देश पनि कडाइका साथ दिने गर्नुपर्थ्यो। यदि कसैले आफ्नो रक्तचाप वा चिनीको स्तर सामान्य स्थितिमा ल्याउन सक्छ भने कुनै पनि चिकित्सकले अनावश्यक रूपमा उसलाई औषधि खान दिँदैन।
उसलाई औषधि घटाउन वन खान बन्द गराउन गर्नुभन्दा अरु बाटो नै रहँदैन। अनि चिकित्सकले तपाईँले योग गरेर प्राप्त गर्नुभएको सफलताबाट प्रभावित भएर अरुलाई पनि तपाईँको तरिका अनुसरण गर्न सल्लाह दिन सक्छन्।

भन्न खाजेको के हो भने सधैँ आफ्नो चिकित्सकको सल्लाह अनुसरण गर्नुपर्छ। सँधै ट्रेडमिल गर्ने वा हिँड्ने र समयले भ्याइन्छ भने योगका सामान्य व्यायाम पनि गर्नु राम्रो हो। योगका यी व्यायामहरू तपाईँको अहिले चालू रहेको उपचारका लागि पूरक मात्र हुन्, सट्टा भर्ना चाहिँ होइनन् भनी सम्झना राख्नुहोस्। आजकाल धेरै बिरामीहरू टेलिभिजनको अगाडि बस्न रुचाउँछन् र आफ्नो नियमित हिँडाइ रोकिदिन्छन्। मलाई उनीहरूले यो साँच्चै नै वैकल्पिक पद्धतिमा विश्वास भएर गरेका हुन् वा मात्र अल्छीपनाले हो भनेर अचम्म लाग्छ।

रावतको ‘स्वस्थ जीवनशैली, स्वस्थ मुटु’, किताबबाट