Health TV Online
Health TV Online

‘जन्मिँदा झण्डै मृत अवस्थाकाे शिशुलाई आठ मिनेटमै कालको मुखबाट खोसेर ल्यायाैँ’

‘जन्मिँदा झण्डै मृत अवस्थाकाे शिशुलाई आठ मिनेटमै कालको मुखबाट खोसेर ल्यायाैँ’

गत मंसिर २८ गते राति ३:३० बजे लेबर रूमबाट हाम्रो गाइनोकोलोजिस्ट डा.शंकर राउतलाई सिस्टरको कल आयो, ‘गर्भको शिशुको मुटुको धड्कन सुन्न सकिएन, छिटो आउनु पर्यो!’

डा. राउत उमेरले हाम्रो अस्पतालका सबैभन्दा पाको डाक्टर हुनुहुन्छ। तर उहाँको काम गर्ने जोश अनि उर्जा सबैभन्दा कान्छा डाक्टरको भन्दा धेरै गुणा बढी छ। चौबिसै घण्टा जहिले पनि तत्पर। साँच्चै भन्ने हो भने उहाँको समय आफ्नो कोठाभन्दा बढी ‘लेबर रूम’ , ‘ओपीडी’ अनि इमर्जेन्सी कक्षमा बित्छ।

सेवाभावले ओतप्रोत यी चिकित्सक तलबै नलिएर पनि पाँच महिनादेखि हाम्रो अस्पतालमा सेवारत हुनुहुन्छ। यस्तै यस्तै कर्मठ अनि उर्जाशील युवा चिकित्सक, नर्स, प्यारामेडिकल, ल्याब, एक्सरे अनि सम्पूर्ण सहयोगी साथीहरुको बलमा हाम्रो अस्पतालले चामत्कारिक काम गर्दै आएको छ र आज त्यस्तै एउटा चमत्कार झैँ लाग्नेगरी एक नवशिशुलाई मृत्युको मुखबाट खोसेर ल्याउन सफल भएको छ मेरो टोली। र
प्रसवको दोस्रो ‘स्टेज’मा पुगिसकेकी महिलाको त्यो पहिलो गर्भ थियो।

अत्यन्त रहरका साथ युवा दम्पतीले जन्मिने शिशुबारे धेरै सपना बुनिसकेको थियो अब केही समयमै उनीहरूको नौ महिनाको प्रतीक्षा कलिलो शिशुको रोदनबाट सुन्दर यथार्थमा परिणत हुनेवाला थियो। पुतलीबजार नगरपालिका बजारमै बस्ने त्यो दम्पती आफ्नो सुन्दर सपना साकार गरिदिने ठूलो विश्वास बोकेर हाम्रो अस्पतालमा आएकाे थियाे। हुनेवाला बाबुले ‘लेबर रुम’बाहिर आफूलाई छोरीको एकदमै रहर भएको र भगवानसँग प्रार्थना गरेको कुरा बडो उत्साहित हुँदै हामीलाई सुनाए।

डा. राउत जटिलतायुक्त प्रसूति गराउन पोख्त हुनुहुन्छ र लेबर रूममा उहाँ आउदा सबैलाई हौसला मिल्छ र जस्तोसुकै ‘केस’ पनि ‘ह्याण्डिल’ गर्नसक्ने आँट हामीलाई आउँछ।

दम्पतीको सपनाअनुसार छोरीको जन्म भयो। शुरुको केही सेकेण्ड शिशु नरुनु सामान्य हो। तर सबै प्रक्रियाहरू पूरा गर्दा पनि ऊ रोइन। न त सास नै फेरी उसले। लेबर रूममा अब तनावको माहोलको सृजना भयो र एक मिनेट बितिसकेको थियो। आमाको स्याहार गर्ने जिम्मा सिस्टरलाई लगाएर डाक्टरको टोली (त्यतिवेलासम्म डा.तेजेस र प्रतीक पनि आइसक्नु भएको थियो) शिशुको ज्यान जोगाउन लागिसकेको थियो।

न उसको सास थियो न त मुटुको धड्कन नै। यत्तिकैमा सिस्टर कराउनु भयो, ‘डाक्टर अर्को बच्चा पनि छ।’ नभन्दै अर्को छोरीको जन्म भयो, अनि ऊ लेबर रूम नै उचाल्ने गरी रोई तर, उसको तौल पनि एक किलो ६०० ग्राम मात्रै थियो।

यता पहिलो शिशुले जीवित हुनुको कुनै पनि लक्षण देखाइरहेको थिएन। विश्वास गरेर आउनेलाई निराश पार्नु पनि भएन। आखिर यस्तै वेलामा देखिन्छ स्वास्थ्यकर्मीको दक्षता अनि लगनशीलता। उसले हासिल गरेको सीप अनि तालिमको औचित्य र तालिम राष्ट्रिय वा अन्तर्राष्ट्रिय नै हुनुपर्दैन, आफ्नै जिल्ला अस्पतालमा नियमित हुने कन्टिनियस मेडिकल एजुकेसन (सीएमई)को बेला आर्जन गरेको सीप कसैको जीवन रक्षाका लागि वरदान सावित भइदिन्छ।

दुई महिनाअघि मात्रै हामीले ‘जन्मिँदा निसास्सिएको शिशुको व्यवस्थापन’ नियमित ‘सीएमई’मा सिकेका थियौँ। अस्पतालका हरेक प्राविधिक साथी सैद्धान्तिक मात्रै होइन, प्रयोगात्मक समेत गरेर यो सीप परेको खण्डमा व्यवहारमा लागू गर्न सक्नेगरी सक्षम भएका थिए। बालरोग विषेशज्ञ भएको नाताले उक्त सीएमईको प्रशिक्षक म नै थिएँ।

हुन त यो तालिम एचबीबी नामले प्रचलित छ तर, मैले यसलाई समुदायस्तरमा प्रदान गरिने भन्दा एक कदम माथिको (जिल्ला अस्पताल) स्तरको बनाएर यसको परिमार्जित रूप साथीहरूलाई सिकाएको थिए र सामान्यतया एचबीबीले ‘ब्याग एण्ड मास्क भेन्टिलेसन’ भन्दा माथिको सिप सिकाउँदैन। जन्मिँदा मुटुको चाल नभएको र स्वास नफेरेका शिशुलाई त्यही मात्र गर भन्छ, तर हामीले अन्तर्राष्ट्रिय मान्यता र अनुभवहरुलाई मध्यनजर गद ‘ब्याग एण्ड मास्क’ गरेको एक मिनेटपछि मुटुको गतिलाई आधार मानेर सीपीआर अर्थात् कार्डियो पल्मुनरी रिससिटेसन पनि गर्नेगरी तालिममा समावेश गर्यौँ। नतिजा अत्यन्त उत्साहवर्धक रह्यो।

सीपीआर शुरु गरेको ६ मिनेटमै बच्चीको मुटुको चाल आयो अनि त्यसको केही बेरमै उसले स्वास फेर्न थाली। यो हामी सबैको लागि अत्यन्त खुसीको क्षण थियो। जन्मिँदा झण्डै मृत अवस्थाकाे शिशुलाई आठ मिनेटमै कालको मुखबाट खोसेर ल्याउन हामी सफल भएका थियाँ। तर यति लामो समयसम्म मृतसरी रहेको शिशुलाई कति धेरै जटिलता हुन सक्छ भन्ने कुराको आँकलन गर्न मलाई कठिन थिएन। झन् उसको तौल एक हजार ८०० ग्राम मात्रै थियो।

‘सीपीआर’ शुरु गरेको ६ मिनेटमै बच्चीको मुटुको चाल आयो अनि त्यसको केही बेरमै उसले सास फेर्न थाली। यो हामी सबैको लागि अत्यन्त खुसीको क्षण थियो। जन्मिँदा झण्डै मृत अवस्थाकाे शिशुलाई आठ मिनेटमै कालको मुखबाट खोसेर ल्याउन हामी सफल भएका थियाँ। तर यति लामो समयसम्म मृतसरी रहेको शिशुलाई कति धेरै जटिलता हुन सक्छ भन्ने कुराको आँकलन गर्न मलाई कठिन थिएन। झन् उसको तौल एक हजार ८०० ग्राम मात्रै थियो।

हाम्रो अस्पतालमा गण्डकी प्रदेशकै नमुनाको रूपमा सञ्चालित ‘स्पेसल न्युबर्न केयर युनिट’ छ। यसमा हामीलाई गर्व लाग्छ। हामीले अहिलेसम्म ३६ नवजात शिशुहरूलाई यहाँबाट निःशुल्क उपचार गरिसकेका छौँ। १३ दिनको अस्पताल बसाइको क्रममा त्यो शिशुमा अनेकौँ जतिलताहरु आए। तर मेरो नेतृत्वमा हाम्रो टोली ती सबै ‘एचआईई ग्रेड वान्, अर्ली अनसेट अफ नेसन नियोनेटल सेप्सिस, नियोनेटल हाइपरलेरुविनिमिया, हाइपोग्लेसेमिया’को कुशलतापूर्वक उपचार गर्न सफल भयो।

उपचारका क्रममा धेरै पटक त्यो दम्पतीले मात्रै होइन, हामीले पनि बच्चीको आश मार्ने अवस्था सृजना भएका थिए। बुबाआमाको विश्वास अनि गर्न सकिन्छ भनेर दिनरात नभनी खट्ने हाम्रो टोलीको अथक प्रयासले १२औँ दिनदेखि त्यो शिशुले आमाको स्तनबाट नै दूध खान सक्षम भयो, केही समयपछि जन्मिएकी आफ्नी बहिनी सरह। उपचारका क्रममा एक दिन डा.राउत भन्दै थिए, ‘त्यो दिन सीएमई नभएको भए सायदै शिशुलाई बचाउन सकिन्थ्यो होला।’

दैनिक ‘काउन्सिलिङ’कf क्रममा, भर्ना भएको तेस्रो दिन आफ्नो छोरीको नाजुक अवस्थाबारे थाहा पाएर बुबा भक्कानिएर वार्डबाट बाहिरिएका थिए, सायद आफू रोएको उनी श्रीमतीलाई देखाउन चाहँदैन थिए। तर उनले आफूलाई रोक्न सकेनन्। आज त उनी निकै खुशी छन्। उनले भगवानसँग एउटा छोरी मागेका थिए , तर आज घर जाने बेलामा उनको काखमा एउटा र श्रीमतीको काखमा अर्की स्वस्थ छोरी छन्।

१३ दिनको बसाइको क्रममा हजुरआमालाई हाम्रो अस्पताल साह्रै मन परेछ। उनी ठट्टा गर्दै थिइन्, ‘मलाई अब यहीँ रमाइलो लाग्छ डाक्टर साब! मलाई पनि यहीँ जागिर दिनुहोस् है!’ पछि खोप लगाउन आउँदा नातिनिहरूको नाम पनि राखिदिनु अरे!

बडो आत्मीयताका साथ आदेश दिँदै उनी सपरिवार विदा भइन्।

थप समाचार

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या