Health TV Online
Health TV Online
Health TV Online

रुघा लाग्यो? नआत्तिनुस् तर, हेलचेक्र्याइँ पनि नगर्नुस्

रुघा लाग्यो? नआत्तिनुस् तर, हेलचेक्र्याइँ पनि नगर्नुस्

हाच्छ्युँ हाच्छ्युँ आयो, नाकबाट सिंगान र आँखाबाट आँसु तरर बग्यो, जिउ र टाउको बेस्सरी दुख्यो, एकदम आलस्य र थकाइ लागिरह्यो, अनि अलि अलि ज्वरो आयो भने तपाईँलाई रुघा लागेको हुनुपर्छ, रुघा लाग्दा के गर्नुहुन्छ र के गर्नु हुँदैन राम्ररी बुझिराखौँ।

भाइरसको संक्रमणबाट हुने भएकोले रुघाको खास औषधि छैन। ठट्टाको रुपमा भनिन्छ कि इलाज गरे रुघा ठीक हुन एक हप्ता लाग्छ, नगरे सात दिन लाग्छ। त्यसैले बजारमा पाइने रुघाखोकीका अनेक औषधिहरूको धेरै मानिसहरूलाई आवश्यक नै पर्दैन। टाउको दुख्न कम गराउने(एनालजेसिक), नाक तथा मुख सुकाउने(एन्टिहिस्टामिनिक) अनि दिमागलाई उत्तेजित गरी स्फूर्ति र आरामको भ्रम दिलाउने(क्याफिन) आदि औषधीहरूको समिश्रण भएका औषधिहरू खानु र नखानुमा केही फरक छैन।

स्फूर्ति र आरामको भ्रम दिलाउन यी औषधीहरूको प्रयोग गरेपछि रुघा लागिरहँदा अराम गर्नुको सट्टा अझ बढी धपेडी पर्ने डर हुन्छ र यसो गर्नु राम्रो होइन। त्यसैले यस्ता धेरै औषधीहरू आजभोलि बेचबिखनमा केही देशहरूमा प्रतिबन्धित पनि छ। रुघा लाग्दा छि ँछिँ गरी सिंगान फाल्नु धेरै नराम्रो बानी हो किनकि यसो गर्दा रुघा लाग्दाको खराब सिंगान ‘इष्टाय्च्यून ट्यूब’ भएर कानको बिच भागमा जाने र त्यहाँ खराबी गर्ने गर्छ। कान दुख्ने, कान पाक्ने गर्छ।

सिंगान छिँ छिँ गर्नुको सट्टा सिंगान भित्र घाँटीमा तानी पछि थुक्नुपर्छ। तर थुक्दा जथाभावी थुक्नु भने हुँदैन। हाच्छ्युँ गर्दा, खोक्दा रुमाल अथवा हातले छोप्नुपर्छ। यसो गर्दा नजिकै बसेको मानिसलाई रुघा सर्ने सम्भावना निकै कम हुन्छ। तातोपानीको बाफ लिनु रुघाखोकीको सबैभन्दा उत्तम घरेलु उपचार हो। सके तातो पानीमा थोरै ‘टिंक्चर बेन्ज्वाइन’ राख्ने, नपाए केही नराखे पनि हुन्छ। रुघा लाग्दा चिसो, धुँवा, धुलो र खारबाट बच्नु बेस हुन्छ।

तातोपानीको बाफ लिनु रुघाखोकीको सबैभन्दा उत्तम घरेलु उपचार हो। सके तातो पानीमा थोरै ‘टिंक्चर बेन्ज्वाइन’ राख्ने, नपाए केही नराखे पनि हुन्छ। रुघा लाग्दा चिसो, धुँवा, धुलो र खारबाट बच्नु बेस हुन्छ। सिंगान छिँ छिँ गर्नुको सट्टा सिंगान भित्र घाँटीमा तानी पछि थुक्नुपर्छ। तर थुक्दा जथाभावी थुक्नु भने हुँदैन। हाच्छ्युँ गर्दा, खोक्दा रुमाल अथवा हातले छोप्नुपर्छ।

कोठा न्यानो बनाउन हिटर बाल्ने हो भने अगाडि कुनै भाडामा पानी राखेर भाडा खुल्ला राखेको खण्डमा सुख्खा तापले नाक मुख सुकाउने गर्दैन। रुघा लागेर थुक निल्न गाह्रो हुनेगरी घाँटी दुखेमा तातोपानीमा थोरै नुन राखेर कुल्ला गर्नु फाइदाजनक हुन्छ। दिनमा दुई तीन पटक कुल्ला गर्न सकिन्छ। कागती पानी, नुन पानी, चिया, सूप आदि तातो झोल पदाथे प्रशस्त मात्रामा सेवन गर्नु फाइदाजनक हुन्छ। यसले पनि नुनपानीले कुल्ला गरेको जस्तै फाइदा पुर्याउँछ। घाँटी सुकेको र दुखेको दुवै कम गर्छ।

उच्च रक्तचाप भएका, दम लागेर खुट्टा फुलेको र पिसाब सम्बन्धी रोग लागेर खुट्टा सुन्निएका, कलेजो खराब भएर पेटमा पानी भरिने रोग भएका बिरामीहरूले नुन कम खानुपर्ने भएकोले उनीहरूले नुन भएका पेयहरू बढी पिउनु हुँदैन। रुघा लाग्दा चिसो पेय पदार्थ, सर्बत, बरफ, आइसक्रिम आदि नखानु बेस हुन्छ। टाउको बेस्सरी दुखेमा, ज्वरो धेरै आएमा, जिउ धेरै दुखेमा कहिलेकाहीँ  ‘प्यारासिटामल’ एक–दुई चक्की खान सकिन्छ। औषधी खाए पनि वा नखाए पनि धपेडी नगरी आराम गर्न जरुरी हुन्छ।

कानबाट पिप आइरहने बिरामीहरूमा रुघा लाग्नासाथ तुरुन्त डाक्टरसँग परामर्श लिनुपर्छ। अन्यथा पिप आइरहने र प्वाल परेको कानको जाली(टिम्प्यानिक मेम्बे्रन) नटालिने हुन्छ। कान पाक्ने भइरह्यो भने यसले कान सुन्नमा मात्र कमी हुने नभएर कहिलेकाहीँ दिमाग नै पाक्नेसमेत हुन्छ जसलाई ‘मेनिन्जाइटिस, ब्रेन एब्सेस’ भनिन्छ। यस्तो खराब अवस्था आएमा बिरामीको ज्यान नै जान पनि सक्छ।

रुघाको एक खराब असर हो पिनास हुनु। रुघा लागेपछि टाउको बेस्सरी दुखेमा, नाकको माथि निधारमा या आँखामुनि गालामा विशेषरूपमा दुखेमा र यो स्थानमा थिच्दा अथवा निहुँरिदा अझ बढी दुखेमा, पहेँलो पिपजस्ता सिंगान आएमा, घाँटीमा नमीठो रसको स्वाद आइरहेमा, गन्हाएमा पिनास भएको हुन सक्छ। हुन त पिनाससम्बन्धी अनेक किंवदन्तीहरू भए पनि यो रोगले च्याप्दा धामी झाँक्रीहरूको पछि नलागी नाक, कान, घाँटी विशेषज्ञसँग परामर्श लिनुपर्छ।

रुघाको अर्को खराब असर हो श्वासनली(ब्रोंकस) तथा फोक्सोको संक्रमण हुनु। खोकी बढेमा, खकार पहेँलो या हरियो भएमा, छातीको बिच भागमा दुख्न थालेमा रुघा बिग्रिएको हुनसक्छ। यस्तो बेला तुरुन्त डाक्टरलाई देखाएर ५–७ दिन ‘एन्टिबायोटिक’ खानुपर्छ। विशेष गरेर दमका रोगीहरूले रुघा लाग्दा ज्यादै होशियारी अपनाउनुुपर्छ। सँधै जसो सेतो हुने खकारको रंग बदलेर पहेँलो, कालो, हरियो या खैरो भएमा रुघा बिग्रिएर खराब भइसकेको बुझ्नुपर्छ। कतिपय डाक्टरले आफ्नो दमको बिरामीलाई रुघा लाग्नु वा बिग्रिनुअघि नै एन्टिबायोटिक खान सल्लाह दिने गर्छन्।

रुघा एक सामान्य रोग हो र यसले थोरै कष्ट दिए पनि डर मान्नुपर्ने खास कुरा हुँदैन तर हमीले होशियारी के गर्नुपर्छ भने रुघा लागेपछि फेरि अर्को संक्रमण भएर टन्सिल, घाँटी पाक्ने, ज्वरो बढी लाग्ने, खोकी धेरै लाग्ने, खकारको रंग परिवर्तन हुने, कान पाक्ने, दुख्ने, टाउको बेस्सरी दुख्ने, पिनास हुने आदि खराबीहरू हुन सक्ने भएकोले तुरुन्त डाक्टरको परामर्श लिनुपर्ने हुन्छ। ऋचेल नियमित रुघा लाग्ने, मधुमेहको बिरामी र पाको उमेरकालाई ‘फ्लु भ्याक्सिन’ दिइन्छ।

डा.सुनिल चन्द्र झाको ‘डाक्टर साहब भन्नुहुन्छ’ बाट 

थप समाचार

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा