Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘सेप्सिस’ रोकौँ, जीवन जोगाऔँ

‘सेप्सिस’ रोकौँ, जीवन जोगाऔँ

मेडिकल शिक्षा पाएका कैयाैँ चिकित्सकमाझ समेत पूर्ण रूपमा अपरिचित ‘सेप्सिस’ आम जनमानसबीच त झन् ‘के हो, के हो’ जस्तो भएको छ। क्यान्सर र एड्सभन्दा भयावह र तीव्र गतिमा फैलिरहेको सेप्सिसले हरेक तीनदेखि चार सेकेण्डमा एउटा बिरामीको ज्यान लिन्छ भन्ने सुन्दा पक्कै पनि तपाईँलार्इ अचम्म लाग्ला, तर यथार्थ यही हो।

यो ज्ञान नै सेप्सिसविरुद्ध लाग्न, चेतना जगाउन र हातेमालो गरेर यसलाई निस्तेज पार्न सहकार्य गर्न उत्प्रेरणा  दिने एउटा कुरो हुनसक्छ। हरेक वर्ष करिब २ देखि ३ करोड मानिसलाई सेप्सिसले अाक्रान्त पारिरहेको छ। तीमध्ये ५० लाखभन्दा बढीको ज्यान गइरहेको तथ्यांक छ।

हरेक वर्ष क्यान्सर, एचआईभी एड्स, मस्तिष्काघात र हृदयाघातको रोकथाममा जति खर्च र ध्यान दिइन्छ त्यति नै खर्च र ध्यान सेप्सिसको रोकथाम र उपचारमा दिने हो भने यसको कारणले हुने खर्च र विनाशमा व्यापक रूपमा कमी ल्याउन सकिन्छ।

शरीरलाई चाहिने अत्यावश्यक अक्सिजन, रगत र अन्य सूक्ष्म तत्त्वहरू चाहिने अंग प्रणालीमा नपुग्न सक्छ र बिरामीको अवस्था झन् जटिल हुँदै जान सक्छ। तसर्थ सेप्सिसलाई एउटा रोग नमानेर रोगहरूको समूह (सिन्ड्रोम) पनि मान्ने गरिन्छ।

के हो सेप्सिस?

सेप्सिस शरीरमा रोगविरुद्ध लड्ने तत्त्वहरु वा रोग प्रतिरोधात्मक क्षमताले रोगसँग लड्दा उत्पन्न हुने एक किसिमको शारीरिक प्रतिक्रिया हो। यो प्रतिक्रियाले ल्याउने परिवर्तनहरुले शरीरका विभिन्न अंग प्रणालीहरूलाई आक्रमण गरेर तिनलाई निस्तेज तुल्याउन सक्छ, जुन सेप्सिसको विकराल अवस्था हो। यसलाई ‘सेप्टिक सक’ पनि भन्ने गरिन्छ।

सेप्सिसका रूप

सेप्सिस।

सेप्सिस र अंग प्रणाली कमजोर हुनु: जस्तै फोक्सो, कलेजो र मृगौला।

सेप्सिस र रक्तचाप अत्यन्त कम हुनु: नशाबाट दिइएको तरल (सलाइन) ले पनि नभई रक्तचाप बढाउने औषधि प्रयोग गर्नु परेको अवस्था।

यी सबैको परिणाम: शरीरलाई चाहिने अत्यावश्यक अक्सिजन, रगत र अन्य सूक्ष्म तत्त्वहरू चाहिने अंग प्रणालीमा नपुग्न सक्छ र बिरामीको अवस्था झन् जटिल हुँदै जान सक्छ। तसर्थ सेप्सिसलाई एउटा रोग नमानेर रोगहरूको समूह (सिन्ड्रोम) पनि मान्ने गरिन्छ।

सेप्सिस कसलाई हुन्छ?

सेप्सिसले जो कोहीलाई पनि असर गर्न सक्छ, यसले कुनै जात, धर्म, लिङ्ग र उमेर भन्दैन। तर यो प्रायस् जसो यस्ता खालका बिरामीहरूमा बढी हुने सम्भावना रहन्छ–

उमेर ढल्केका बिरामी।

रोग प्रतिरोधात्मक क्षमता कम भएका (जस्तै एचआईभी र एड्स, क्यान्सर, अंग प्रत्यारोपण भएका) बिरामी।

सघन उपचार कक्षका बिरामी।

चोटपटक लागेका वा पोलेको घाउ भएका बिरामी।

कृत्रिम श्वासप्रश्वास दिएर भेन्टिलेटरमा राखेका बिरामी।

कुनै पनि कारण अस्पतालमा भर्ना भई उपचार गराइरहेका बिरामी।

किन गर्नुपर्छ सेप्सिसको पहिचान? 

सेप्सिसको उपचारमा गरिने प्रत्येक घण्टाका ढिलाइले बिरामीको मृत्युदर करिब ८५ ले बढाउँछ र चाँडै गरिने उपचारले त्यो मृत्युदरलाई कम गर्न सकिन्छ।

सेप्सिसका लक्षणहरू

यी चारमध्ये कुनै दुई लक्षण देखिए सेप्सिस भएको हुनसक्ने सम्भावना प्रबल हुन्छ–

शरीरको तापमान ३८.२ भन्दा माथि अथवा ३७ डिग्री भन्दा कम हुनु।

मुटुको चाल प्रति मिनेट ९० भन्दा बढी हुनु।

श्वासप्रश्वासको गति प्रति मिनेट २० भन्दा बढी हुनु।

अनुमानित अथवा प्रमाणित संक्रमण भएको अवस्था।

यी अतिरिक्त लक्षण देखिएमा चाहिंँ सेप्सिसको कारणले अंग–प्रणालीले काम गर्न छोडेको थाहा हुन्छ–

होश कम हुनु वा अर्धचेत जस्तो अवस्था हुनु।

पिसाबको मात्रा न्यून हुनु।

शरीरको रगत जमाउने कोषिका (प्लेटिलेट)को संख्यामा कमी आउनु, जसले गर्दा सामान्य चोटपटक लाग्दा रगत रोकिने प्रक्रियामा ह्रास आउँछ।

मुटुको चालमा गडबडी हुनु वा काम गर्ने क्षमतामा कमी आउनु।

सास फेर्न गाह्रो हुनु।

पेट दुख्नु र जण्डिस देखिनु।

यी लक्षणसँगै रक्तचाप अति न्यून भई औषधि प्रयोग गर्नुपरेको खण्डमा त्यो सेप्सिसको अति जटिल अथवा विकराल अवस्था मानिन्छ, किनकी यसको मृत्युदर धेरै हुन्छ (५०प्रतिशत भन्दा धेरै)

सेप्सिस कुन जीवाणुले गराउँछ?

सेप्सिस धेरै किसिमका जीवाणुले गराउन सक्छनस जस्तै ब्याक्टेरिया, भाईरस वा फंगस। जुनै जीवाणुले गरे पनि निम्नलिखित बिरामीमा सेप्सिस हुने खतरा धेरै रहन्छ–

न्यूमोनिया (फोक्सोको संक्रमण)।

पेट वा आन्द्राभित्रको संक्रमण।

पिसाबको संक्रमण।

रक्त संक्रमण।

रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीमा हुने कुनै पनि सानो संक्रमण।

सेप्सिस भएको शंका लागेमा के गर्ने?

यदि सेप्सिस भएको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्यसंस्था अथवा चिकित्सकसँग परामर्श लिनु पर्छस औषधि पसलमा गएर जथाभावी एन्टिबायोटिक औषधि सेवन गर्नु हुँदैन। जथाभावी प्रयोगले पछि एन्टिबायोटिकले नछुने किसिमको किटाणुको संक्रमणको जोखिम रहन्छ, जसलाई ‘एन्टिबायोटिक रेसिस्टेन्स’ पनि भनिन्छ

यसका साथै चिकित्सकको सल्लाहमा रगत, खकार, दिसा, पिसाब, वा पिप आदि जाँच गर्न पठाउनुपर्छ।

यसका साथै परेको खण्डमा भिडियो एक्सरे, सामान्य एक्सरे, सिटी स्क्यान अथवा एमआरआई समेत गराई सेप्सिसको कारण पत्ता लगाउनुपर्छ। यसका अलावा सेप्सिसको कारक रोग र किटाणुको किसिम हेरी चिकित्सकले थप जाँच पनि गराउन सक्छन्।

सेप्सिसको उपचार र रोकथाम कसरी गर्ने?

सेप्सिस भएको खण्डमा सामान्यतया गरिने उपचारहरुमा सलाइन, अक्सिजन वा परि आएको खण्डमा कृत्रिम श्वासप्रश्वास, उचित एन्टीबायोटिक, मृगौला खराब भएमा समयमै डाईलाईसिस, समयमै प्रेसर बढाउने औषधि अनि शरीरको कुनै भाग संक्रमित भएको वा कुहिएको खण्डमा शल्यक्रिया गर्नुपर्ने हुन्छ।

तर रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बेस हुन्छ, यसकारण केही सामान्य कुरामा ध्यान पुर्याए सेप्सिसबाट बच्न सकिन्छ–

व्यक्तिगत तथा वातावरणीय सरसफाई जस्तै, बिरामीलाई छुनु अघि\पछि  र संक्रमित वस्तु छोएपछि हात धुने।

कुनै संक्रमण भएको शंका मात्रै लागेमा तुरुन्तै चिकित्सकको सल्लाह लिने।

जथाभावी एन्टीबायोटिक प्रयोग नगर्ने।

बर्सेनि इन्फ़्लुएञ्जाको भ्याक्सिन लिने तथा दमका बिरामीले न्युमोनियको भ्याक्सिन पनि लिने।

साथै कुनै ठाउँमा जाँदै हुनुहुन्छ जहाँ कुनै विशेष रोगको खतरा धेरै रहन्छ भने चिकित्सकको परामर्श अनुसार त्यो रोगविरुद्ध भ्याक्सिन लिने (जस्तै टाइफाइड, मेनिन्जाइटिस र भाइरल रोगहरू)।

आफ्नो परिवार, साथीभाइ, छरछिमेकमा सेप्सिसविरुद्ध चेतना फैलाउन मद्दत गर्ने।

अन्त्यमा,

हरेक वर्ष सेप्टेम्बर १३ का दिन विश्व सेप्सिस दिवस मनाइन्छ। यसको उद्देश्य सेप्सिसबारे सर्वसाधारणमा जनचेतना फैलाउने र यसको रोकथाममा सहकार्य गर्ने हो। त्यसैले आऔं यो सेप्टेम्बर १३ मा हामी पनि हातेमालो गरौँ, सेप्सिसलाई चिनौँ, रोकौँ र जितौँ।

  • डा.अमित शर्मा भट्टराई

    डा. भट्टराई त्रिवि शिक्षण अस्पतालका उपप्राध्यापक एवम कलेजो प्रत्यारोपण विशेषज्ञ एनेस्थेसियोलोजिस्ट हुन्।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या