पूर्वी तराईमा अझै नियन्त्रणमा आएन डेंगु, सजग रहन काठमाडौंवासीलाई चिकित्सकको सुझाव
काठमाडौं : पूर्वी तराईमा डेंगु नियन्त्रणको प्रयास पूर्ण रूपमा सफल नहुँदा काठमाडौं उपत्यकासमेत डेंगुको उच्च जोखिममा रहेको चिकित्सकले बताएका छन्।
नयाँ पत्रिका दैनिकमा समाचार छ, अहिले काठमाडौं उपत्यका पनि डेंगुको उच्च जोखिममा देखिएकाले सचेत रहन चिकित्सकले सुझाएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुनले राजधानी सधैँ कीटजन्य रोगको उच्च जोखिममा रहेको बताए।
‘डेंगुका बिरामी हाल अस्पताल त आएका छैनन्। तर, उनीहरू यो रोगको उच्च जोखिममा भने छन्,’ डा. पुनले भने, ‘त्यसैले विशेष सतर्कता अपनाउनुपर्ने देखिएको छ।’
इपिडिमियोलोली तथा रोग नियन्त्रण महाशाखाले पनि राजधानी डेंगुको उच्च जोखिममा रहेको बताएको छ। काठमाडौंमा पनि ‘एडिज’ नामक लामखुट्टे भएकाले डेंगु फैलिन सक्ने पोखरेलले बताए। सबै उमेरका व्यक्तिलाई डेंगुको संक्रमण हुने भए पनि बालबालिकामा छिटो फैलिने उनले बताए।
काठमाडौंका वनस्थली, टेकु, बागमती र ललितपुरका केही क्षेत्र डेंगुको उच्च जोखिम रहेको चिकित्सकको भनाइ छ। गत वर्ष काठमाडौंमा १० जनामा डेंगु संक्रमण देखिएको थियो।
घर वरिपरि सरसफाइ गरी पानी जम्ने ठाउँ पुर्न तथा गमला, पुराना टायरघर वरिपरि नराख्न डा. पुनको सुझाव छ। यस्तै, लामखुट्टेको टोकाइबाट जोगिन झुल, धुप वा क्रिम प्रयोग गर्न उनले सल्लाह दिए।




नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?