Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

माइग्रेन हुँदा टाउकोको आधा भाग मात्र दुख्छ

माइग्रेन हुँदा टाउकोको आधा भाग मात्र दुख्छ

तपाइँ हामीलाई आफनो जीवनकालमा कुनै न कुनै बेला टाउको दुखेको महशुस पक्कै भएको होला । टाउको विभिन्न कारणले दुख्ने गर्छ । तर टाउको दुखाइको कारण यदि माइग्रेन हो भने त्यसका फरक खालका लक्षणहरु हुन्छन । के सबै टाउको दुखाइ माइग्रेन नै हो त ? माइग्रेन टाउको दुखाइ र अन्य टाउको दुखाइमा के फरक हुन्छ ? के छ उपचार साथै कसरी लिने सावधानी यी विषयमा हेल्थ टिभी अनलाइनकी कल्पना आचार्यले वरिष्ठ न्यूरोलोजिस्ट प्राडा जगदीश प्रसाद अग्रवालसँग गरेको कुराकानी :

किन दुख्छ टाउको ? के टाउको दुख्नु भनेको माइग्रेन नै हो त ?

हेर्नुस् हाम्रो टाउको दुख्नुका विभिन्न कारणहरु हुन सक्छन । कहिले कामको बोझका कारण पनि टाउको भारी भएर दुख्छ, कहिले तनावका कारण दुख्छ, कहिले रुघाखोकी, ज्वरो आउँदा पनि दुख्न सक्छ भने कहिलेकाहीं ब्रेन ट्युमरका कारण पनि टाउको दुखेको हुनसक्छ । त्यसैले लक्षण नहेरी र जाँच नगरी यसै कस्तो टाउको दुखाइ हो भन्न सकिन्न । जहाँ सम्म माइग्रेन टाउको दुखाइको कुरा छ सबै टाउको दुखाइ माइग्रेन हुँदैनन यो हामीले बुझ्न जरुरी हुन्छ ।

माइग्रेन कस्तो खालको टाउको दुखाइ हो त ?

माइग्रेन भनेको एक प्रकारको टाउको दुखाइ नै हो । तर यो अन्य टाउको दुखाइ भन्दा केही फरक तरिकाले दुख्ने गर्छ । माइग्रेनको समस्या विश्वमै पुरुषको तुलनामा महिलामा बढी हुन्छ भने यो विशेष गरी प्रजनन उमेरका महिलामा बढी हुने गर्छ । बेला बेलामा दोहोराएर वा कहिलेकाहीं यदि टाउकोको पुरै भाग दुखेको छ भने त्याे माइग्रेन होइन । माइग्रेन टाउको दुखाइमा टाउकोको आधा भाग मात्र दुख्छ ।  यो दुखाइ २, ४ घण्टादेखि ३, ४ दिनसम्म निरन्तर  पनि रहनसक्छ । एकैछिनमा यसकाे दुखाइ जाँदैन ।

माइग्रेन हुँदा कसरी टाउको दुख्छ ? कस्ता हुन्छन लक्षण ?

मैले अघि नै भनिसकें माइग्रेन हुँदा टाउकोको आधा भाग मात्र दुख्छ। पूरै टाउको दुख्ने हुँदैन। यो दुखाइ कहिले बायाँतिर हुन्छ भने कहिले दायाँतिर । साथै टाउकोको नसाहरु ब्लक ब्लक गरी चलिरहेको जस्तो भान हुन्छ । यसमा वाकवाकी लाग्ने, आँखा खोल्न नसक्ने, बोल्न मन नलाग्ने, कोही बोलेमा झर्को लाग्ने, चर्को आवाज सहन नसक्ने, खानामा रुचि नहुने, अँध्यारो कोठामा सुत्न मन लाग्ने, कमजोर जस्तो महशुस हुने जस्ता समस्या हुन्छ । कसै कसैलाई यो बेला बान्ता पनि हुनसक्छ । यस्तो दुखाइ केही घण्टा, वा दुई तीनसम्म पनि रहिरहन सक्छ । साथै यो सातामै वा महिनामा एकपटक वा दुई तीन महिनामा एक पटक पनि दुख्न सक्छ । बिस्तारै आफै निको भएर पनि जान्छ । सामान्यतया यसको दुखाइ कम्तीमा चारदेखि धेरैमा ७२ घण्टासम्म वा बढी रहन्छ । यही नै माइग्रेनको मुख्य लक्षण हो । माइग्रेनको टाउको दुखाइलाइ माइग्रेन अट्याक पनि भनिन्छ । यो बेला घाम हेर्नै सकिंंदैन भने घामको प्रकाशसँग पनि टाढा भाग्न खोजिन्छ । यसैगरी टाउको दुखेको बेला कोही बोलेको मन पर्दैन भने निर्धक्क भएर आफूलाई माइग्रेन टाउको दुखेको हो भनेर थाहा पाउन सकिन्छ । यसको लागि विशेष जाँच भन्ने हुँदैन । हालसम्म  चिकित्सकले पनि लक्षणकै आधारमा माइग्रेन टाउको दुखाइ पत्ता लगाउने हो ।

माइग्रेन बढाउने कुरा केहो भनेर कसरी थाहा पाउने ?

हेर्नुस माइग्रेन टाउको दुखाउने वा यसको मात्रा बढाउने विभिन्न कारण हुनसक्छन। यसलाई हामी माइग्रेन बढाउने ट्रिगर फ्याक्टर भन्छौं । जस्तो कसै कसैलाई भिडभाडमा जाँदा टाउको दुख्न थाल्छ । यदि त्यस्तो हुन्छ भने भिडभाडबाट टाढा रहन पर्यो । त्यसैगरी कसै कसैलाई खानेकुरा जस्तै : दही, चिज, चकलेट, गुन्द्रक, गालेको अचार, कोल्ड ड्रिंक्सबाट पनि माइग्रेन हुन्छ जुन खानेकुराले टाउको दुखाइमा सहयोग गर्छ सो थाहा पाएर त्यसलाई खान भएन । महिनामा एक दुई पटक मात्र माइल्ड खालको दुख्छ भने नियमित औषधि खान पर्दैन । दुख्ने थाहा पाएपछि वा दुखेपछि औषधि आफनो चिकित्सकको सल्लाह बमोजिम खान सकिन्छ । तर धेरै नै सातामै वा त्यो भन्दा छिटो छिटो दुख्छ भने विभिन्न औषधि छन् ती औषधि चिकित्सकको सल्लाहबाट खान सकिन्छ । त्यसैले माइग्रेन औषधि खाएर निको पार्ने भन्ने हुँदैन यसलाई बढाउने ट्रिगर फ्याक्टरबाट आफै टाढा रहन सकियो भने यसको दुखाइबाट बच्न सकिन्छ ।

माइग्रेन हुनेले गर्नै नहुने कुरा के हुन ?

माइग्रेन टाउको दुखाइ विशेष खालको टाउको दुखाइ भएकाले यसको ख्याल पनि विशेष खालले नै गर्नुपर्छ । यदि तपाइँलाई माइग्रेन छ भने तपाइँले ५ कुरा भुलेर पनि नगर्नुस । ती ५ कुरा हुन –
-भोकै नबस्ने,
-अनिन्द्रा नबस्ने
-तनाव नलिने
-माइग्रेन बढाउने खानेकुराबाट टाढै बस्ने
-प्राणायाम, योग गर्ने बानी बसाल्ने ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार