खानासम्बन्धी आयुर्वेदका नियम

खानासम्बन्धी आयुर्वेदका नियम

भोजन अर्थात् खानासम्बन्धी आयुर्वेदको छुट्टै नियम छ, जसले मानिसलाई कुन वेला के खाने, कसरी खाने र खानाले कसरी मानिसलाई स्वस्थ बनाउँछ भन्ने ज्ञान दिन्छ।

कतिखेर, के खाने?

सूर्यको तेजअनुसार खाना खाने समय निर्धारण गर्नुपर्ने आयुर्वेदमा उल्लेख छ। सूर्य दिउँसो १२ देखि २ बजेसम्म तेजिलो हुन्छ । यतिबवेला भोजन पचाउने शरीरको क्षमता बलियो भएको हुन्छ। यो वेला आडिलो खालको भोजन गर्नुपर्छ । बेलुका र बिहान सूर्य नहुने भएकाले हलुका भोजन गर्नुपर्छ। रातिको खाना सकेसम्म आठ बजेअगावै खानुपर्ने बताइन्छ।

कसरी खाने?

शान्त मुद्रामा पलेटी कसेर स्वाद लिँदै खाएको खाना राम्रोसँग पच्छ। यसमा हुने तत्त्व शरीरले सजिलै हासिल गर्छ। शान्त बसेर पलेटी कसी खाना खाँदा खानाको स्वाद, सुगन्ध आदिको महसुस राम्रोसँग हुन्छ र यसले पाचनमा सहयोग गर्छ।

कामको व्यस्तताले गर्दा काम गर्दै खाना खाने पनि धेरै हुन्छन्। आयुर्वेदका अनुसार शान्त वातावरणमा खाना खाँदा राम्रोसँग पच्छ। उभिएर नभई राम्ररी बसेर खानुपर्छ।

पालना गर्नुपर्ने नियम

पाचनशक्ति कमजोर भएका मानिसको पेटमा अग्नि तत्त्व कमजोर हुन्छ। पेटको अग्नि तत्त्वले खाना पचाउन मद्दत गर्छ। यस्ता मानिसले खानाअघि अदुवाको टुक्रामा कागती र नुन छर्केर खानुपर्छ। यसले र्याल उत्पादन गर्ने ग्रन्थीलाई सक्रिय पार्छ र खाना पचाउन र खानामा पाइने तत्त्व ग्रहण गर्न शरीरलाई मद्दत पुग्छ।

आयुर्वेदले खानासँग कुनै पनि प्रकारको चिसो पेय खान वर्जित गरेको छ। खानाको प्रकृति तातो हुन्छ। यस्तो खाना र चिसो पेय एकसाथ खाँदा पेटले राम्रोसँग काम गर्न पाउँदैन। अपच हुने, पेट दुख्ने आदि समस्या हुन्छ। अन्य बेला पनि चिसो अथवा तातो पानीको सट्टा कोठाको तापक्रमसँग मिल्ने खालको पेय खानुपर्छ। यसले समग्र पाचन प्रणालीलाई बलियो बनाउँछ।

खानापछि

दही खाने गर्नाले खाना राम्रोसँग पच्छ। घरमै बनाएको दहीमा पानी हाली पातलो बनाएर खाने गर्नुपर्छ। गर्मीमा बाक्लो दही खानु हुँदैन। पातलो दहीले बढी फाइदा गर्छ। दहीमा पाइने असल ब्याक्टेरिया र चिल्लो पदार्थका कारण खाना राम्रोसँग पच्छ।

खानपछि त्रिफलाको चूर्ण खानाले पाचन प्रणाली शुद्ध र बलियो हुन्छ  त्यसैले पेटसम्बन्धी समस्या भएकाले बिहान मनतातो पानीमा त्रिफलाको चूर्ण खानुपर्छ।