Health TV Online
Health TV Online
Health TV Online

क्यान्सरकाे उपचार गराइरहनुभएकाे छ? यसरी मिलाउनुस् सन्तुलित अाहार

क्यान्सरकाे उपचार गराइरहनुभएकाे छ? यसरी मिलाउनुस् सन्तुलित अाहार

क्यान्सर लागेको थाहा पाइसकेपछि शीघ्र उपचारकाे जति अावश्यकता हुन्छ, त्यति नै बिरामीलार्इ  सन्तुलित खानपान अावश्यक पर्छ।

सबै प्रकारका क्यान्सरमा बिरामीलाई खानामा रुचि हुँदैन जसले गर्दा बिरामीले खान छोड्छन्। क्यान्सरले गाल्दै लगेकाे बिरामीलाई यसले झनै कमजोर बनाउँछ।

अर्को कुरा बिरामीमा याे खान हुन्छ कि हुँदैन, त्याे खान हुन्छ कि हुँदैन भन्ने अन्याेल हुन्छ। त्यसैले कतिपय बिरामीले अाफैँ खाना बारिरहेका हुन्छन्। एक त रोगले कमजोर बनाएको हुन्छ त्यसमा खाना बार्दा बिरामी शारीरिक रूपमा पनि कमजोर बन्दै जान्छन्।

चिकित्सक र डाइटिसियनले खान हुन्छ भन्दा पनि खान नमान्ने बिरामीहरु पनि प्रशस्तै छन्। खान हुन्छ भनेर पठायो एक सातापछि ‘यो पनि खान हुन्छ र!’ भन्दै आउँछन्।

क्यान्सरको उपचारमा पोषणयुक्त खाना एक उपचार पद्धतिभित्रै पर्छ। यो रोगको उपचारका क्रममा विभिन्न ‘साइड इफेक्ट’हरु देखिन सक्छन् जसका कारण बिरामीमा खानामा रुचि नहुने, बान्ता हुने, रिंगटा लाग्ने, खाएको नपच्नेजस्ता समस्या देखा पर्छन्। यसो भयो भन्दैमा खाना खान छोड्नु हुँदैन।

यस्तो अवस्थामा दुई दुई घण्टामा थोरै थोरै गरेर खानुुपर्छ। यदि पचाउन गाह्रो भएको छ भने नरम बनाएर खान सकिन्छ। बिरामीले तरकारी खान सकिरहेका छैनन् भने जुसको रूपमा दिन सकिन्छ। हेरचाह गर्नेले पनि बिरामीले खान सकेन भनेर नदिने होइन, कुन रूपमा दिँदा उनीहरूलाई खान सजिलो हुन्छ र पोषण पनि पुग्छ भन्ने कुरामा ध्यान दिनुपर्छ।

यदि बिरामीलाई केमोथेरापी दिइएको छ भने त्यस्तो बेलामा काँचाे सलाद दिन हुँदैन। बिरामीलाई खान मन लागे बफ्फाएर मात्र दिनुपर्छ। यसैगरी बट्टामा राखिएको अचार, तारेको खाना, बोसोयुक्त र चिल्लो खाना जुस र प्रोसेस्ड खाना सकेसम्म नदिँदा राम्रो।

सकेसम्म घरमा सफासँग बनाएको ताजा खाना दिनुपर्छ। माछा, मासु, अण्डा, दूध, चीज पनिर खानामा समावेश गर्दा पोषणको कमी हुँदैन। खान सजिलो होस् भनेर स्वादका लागि ल्वाङ, सुकमेल र तेजपातको पनि प्रयोग पनि गर्न सकिन्छ। खाना सँगसँगै कसैकसैलाई ‘प्रोटिन सप्लिमेन्ट’ पनि दिनुपर्ने हुन्छ।

डाइटिसियन कविता महर्जनसँगकाे कुराकानीमा अाधारित।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।