पानी परेसँगै सर्पको टोकाईबाट आउने बिरामी संख्या बढ्न थाल्यो

हेल्थ टिभी अनलाइन : मनसुन सुरु भएसँगै तराईका जिल्लाहरुमा सर्पले टोकेर उपचारका लागि आउने बिरामीहरुको संख्या बढ्न थालेको छ ।पछिल्ला दिनहरुमा सर्पदंशमा परेर बाँकेको शम्सेरगन्जस्थित उपचार केन्द्रमा दैनिक दुई जना बिरामी उपचारका लागि पुग्न थालेका छन् ।
खास गरी जब पानी पर्छ तब सर्प सुख्खा ठाउँको खोजी गर्दै घर भित्र पस्ने भएकाले पानी परेका बेला यसको टोकाईको जोखिम पनि बढ्ने गर्छ । बाँकेको राष्ट्रिय निकुन्जको जंगलसँग जोडिएका बस्तीहरु सर्पदंशको उच्च जोखिममा छन् । विषालु सर्पले टोकेका बिरामीहरु गाउँबस्तीबाट अस्पताल पुर्याउँदा पुर्याउँदै बाटैमा बेहोस हुने र मृत्यु हुने गरेको छ ।
सर्पले टोकेपछिको एक घण्टाभित्रै अस्पतालमा पुर्याउन सके बिरामीको उपचारपछि निको हुने सम्भावना धेरै हुन्छ । चिकित्सकहरुले सर्पले टोकेपछिको एक घण्टाको समयलाई गोल्डेन आवर पनि भन्छन् । सर्पदंशमा परेका बिरामीहरुको उपचारलाई प्रभाबकारी बनाउन बाँके राष्ट्रिय निकुन्जको सुरक्षामा खटिएको नेपाली सेनाले बाँके जिल्लाको राप्ती सोनारी गाउपालिकाको शम्शेरगन्जमा सर्पदंश उपचार केन्द्र संचालनमा ल्याएको छ । केन्द्रमा बाँके, बर्दिया, दाङ र सुर्खेतका समेत बिरामीहरु उपचारका लागि पुग्ने गरेका छन् । चालु आर्थिक वर्षमा शम्शेरगन्जमा सर्पदंश उपचार केन्द्रमा सर्पले टोकेका ५६ र विच्छीले टोकेका ४० जना गरी ९६ जनाको उपचार गरिएको छ । जसमध्ये विषालु सर्पले टोकेका बिरामीहरु १० जना थिए । उपचारका लागि केन्द्रमा आएका ९५ जना बिरामीलाई केन्द्रमा उपचार गरेर निको पारेर घर फर्काइएको थियो भने एक जना बिरामीलाई भेरी अस्पतामा रिफर गरिएको केन्द्रका अहेब नन्दलाल पाण्डेले बताए । तीमध्ये केन्द्रमा तालिम प्राप्त ४ जना स्वास्थ्यकर्मी भएपनि उपचारका लागि आबश्यक पर्ने उपकरण र भवनको अभाव छ । यसैबीच डिभिजन वन कार्यालयले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यक्रममार्फत केन्द्रलाई मोनिटर हस्तान्तरण गरेको छ । सर्पदंशमा परेका बिरामीहरुको उपचारलाई प्रभाबकारी बनाउने उद्देश्ले डिभिजन वन कार्यालयले केन्द्रलाई करिब एक लाख मुल्य पर्ने मोनिटर उपलब्ध गराएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख अजितकुमार कर्णले बताए । योसँगै सर्पदंश उपचार केन्द्रमा दुईवटा मोनिटर भएका छन् । यसअघि बिरामीको चाप पर्दा मोनिटरको अभावमा उपचरसमेत प्रभावित हुने गरेको थियो ।
राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले सर्पदंश उपचार केन्द्र संचालन भएपछि उपचारका लागि नेपालगन्जको भेरी अस्पताल पुर्याउँदा—पुर्याउँदै बाटैमा मृत्यु हुने क्रम रोकिएको छ । सर्पले टोक्नासाथ तत्कालै उपचारमा आएका अधिकांश बिरामीको केन्द्रमै उपचार हुने गरेको छ । सिकिस्त अवस्थामा रहेका बिरामीहरुलाई केन्द्रका स्वास्थ्यकर्मीको निगरानीमै भेरी अस्पतालमा पुराएर उपचार गर्ने ब्यवस्था मिलाइएको छ । गत वर्ष एक जना सिकिस्त बिरामीलाई एन्टी स्नेक भेनम चढाउँदैं भेरी अस्पतालमा पुराएर ज्यान जोगाएको केन्द्रका अहेब पाण्डेले बताए । केन्द्रले सर्पदंशमा परेका बिरामीहरुको उपचार निःशुल्क गर्दै आएको छ । केन्द्रका लागि आवश्यक पर्ने औषधीहरु राप्ती सोनारी गाउँपालिका, निकुन्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको गणले उपलब्ध गराउँदैं आएका छन् ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्