खड्गी इन्स्टिच्युटमा एक वर्षकी बालिकाको मिर्गौला पत्थरीको सफल शल्यक्रिया

ललितपुरको कुपन्डोलमा रहेको खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजीमा एक वर्षकी बालिकाको पत्थरीको सफल शल्यक्रिया भएको छ ।
सानो बच्चामा निकै चुनौतीपूर्ण मानिने शल्यक्रिया गर्ने चिकित्सक हुन खड्गी इन्स्टिच्युटका मेडिकल डाइरेक्टर तथा वरिष्ठ युरोलोजिस्ट डा संजय खड्गी । डा खड्गीले बालिकाको मिनीपीसीएनएल विधिबाट शल्यक्रिया गरेका हुन् । बालिकाको शल्यक्रियाका बारेमा डा खड्गीले भने, ‘मिर्गौलाको पत्थरीको शल्यक्रिया सानो बच्चामा यसै पनि चुनौतीपूर्ण हुन्छ झन अहिले आएकी बालिकाको उमेर त एक वर्ष पनि पुगेको थिएन । त्यसैले चुनौतीपूर्ण भए पनि हामीले बच्चाको पत्थरी त निकाल्नैपर्छ भनेर सबै आवश्यक पर्ने तयारी गरेर शल्यक्रिया गर्यौं र सफल पनि भयो ।’
उनले सानो बच्चाको शरीरमा यसैपनि रगतको मात्रा कम हुने र शल्यक्रिया गर्ने क्रममा जटिलता आएर यदि रगत बढी गएमा निकै चुनौतीपूर्ण हुने सम्भावना हुने बताए । वयस्क व्यक्तिमा रगत बग्दा म्यानेज गर्न सकिन्छ तर सानो बच्चामा भने रिस्क हुन्छ तर त्यस्तो केही भएन शल्यक्रिया सफल भयो, डा खड्गीले थपे ।
उनले ३ \४ वर्षदेखि ८० \९० वर्ष सम्मका व्यक्तिको हजाराैं शल्यक्रिया आफूले गरेको भए पनि यसरी जम्मा एक वर्षको बच्चाको शल्यक्रिया गरेको भने यो दोस्रो भएको बताए । यसभन्दा अघि एक जना बालकको केही वर्ष अघि शल्यक्रिया गरिएको उनले जानकारी दिए । धनगढीकी उक्त बालिकाको मिर्गौलामा १२ एमएमको पत्थरी थियो । पत्थरीका कारण पेट दुख्ने, खानामा अरुचि हुने तथा कोखा दुख्ने समस्या लिएर बालिकाका बाबुआमा आफूकोमा आएको डा खड्गीले बताए ।
शल्यक्रिया पश्चात अहिले बालिकाको अवस्था सामान्य छ भने बिहिवार उनी डिस्चार्ज समेत भएको डा खड्गीले हेल्थ टिभी अनलाइनलाई जानकारी दिए । मिनीपीसीएनएल (बिना चिरफार) मिर्गौलाको नजिक भागमा सानो प्याल बनाएर दुरविन मार्फत पत्थरी भित्रै फुटाएर बाहिर निकाल्ने शल्यक्रिया हो । जुन विश्वमै निकै सफल शल्यक्रिया प्रविधिमा गनिन्छ भने यो विधामा डा खड्गी अन्तराष्ट्रिय रुपमै प्रख्यात छन् । उनी यी विधा सिकाउन विदेशका कहलिएका अस्पताल तथा सम्मेलनहरुमा समेत नियमित जाने गर्छन ।
किन हुन्छ त सानो उमेरमै मिर्गौलामा पत्थरी ?
मिर्गौलामा पत्थरी हुने ८० प्रतिशत कारण मेटाबोलिक डिस्अर्डर हुने बताउँछन् डा खड्गी । यो भनेको आफनै शरीरको सिस्टमका कारण हुने हो । बाँकी २० प्रतिशत मात्र अन्य बाहिरी जीवनशैली, खानपान अन्य रोगका कारण हुने गर्छ । तर सानो उमेरमा मिर्गौलामा पत्थरी भने थोरैमा मात्र देखिन्छ ।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने